१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महानगरसँगैको सडकमा अस्तव्यस्त पार्किङ

काठमाडौं – काठमाडौं महानगरपालिकाको कार्यालयसँगै जोडिएको सडक पार्किङले भरिने गरेको छ । सडकमै दैनिक चारदेखि १० वटासम्म बस पार्किङ गरेर राखिने गरेको हो।

सबैभन्दा बढी पार्किङ अपराह्नको समयमा हुने गरेको छ । सडक नै ढाकेर वर्षौंदेखि यसैगरी पार्किङ हुँदै आएको हो । चाइना टाउनमा किनमेल गर्न आउने भारतीय पर्यटक बोक्ने बस यसरी पार्किङ गरिने गरिएको हो । महानगरकै आँगनको सडकमा पार्किङ गरेर सर्वसाधरणलाई सास्ती खेप्दासमेत महानगर मौन छ । मेयर विद्यासुन्दर शाक्यदेखि नगर प्रहरीले अव्यवस्थित पार्किङको दृश्यलाई चासो दिँदैन । सडकको कतै कुनामा मोटरसाइक पार्किङ गर्दा गाडीमा उठाएरै लैजाने नगर प्रहरी कार्यालय अगाडिकै सडक गाडी पार्किङले भरिँदा बेखबर छन् ।

नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशी चाइना टाउनका व्यापारीको दवाबले सडक पार्किङ छोडिएको बताउँछन् । ‘सडकमै अस्तव्यस्त पार्किङ गर्न थालेपछि अघिल्लो वर्ष हामीले प्रवेशद्वारबाटै प्रवेश रोकेका थियौं,’ नगरप्रमुख जोशीले भने, ‘चाइना टाउनका सबै व्यापारी आएर हाम्रो व्यवसाय नै खत्तम हुने भयो भनेपछि सडकमा बस नराख्ने सर्तमा छेउ च्यापेर पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।

’ उनका अनुसार सुरुमा छेउ च्यापेर एउटा दुईटा मात्रै बस पार्किङ गराइने गरेको भए पनि अहिले दर्जन हारहारी बस पार्किङ हुने गरेका छन् । कतैबाट खासै गुनासो नआएकाले नगर प्रहरीले नहटाएको उनले बताए । ‘त्यहाँ पार्किङ हुँदा कतैबाट समस्या भएको गुनासो आएको थिएन,’ उनले भने, ‘गुनासो आएमा पार्किङ हटाउँछौं ।’ आउँदो दिनमा यसरी सडकै ढाकेर पार्किङ गर्न नदिइने प्रतिवद्धता पनि जोशीले गरे ।
 

प्रकाशित: १७ जेष्ठ २०७५ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App