१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय नागरिक चढे सगरमाथा

सोलुखुम्बु – कृत्रिम खुट्टाको सहायतामा ७० वर्षीय एक विदेशी नागरिकले सगरमाथा आरोहण गरेका छन्। दुईवटै कृत्रिम खुट्टाको सहायताले चीनका जिया बोयूले सोमबार बिहान सगरमाथा आरोहण गरेका हुन्।

उनी दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्न सफल भएको सगरमाथा आधार शिविरमा रहेका सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, ‘नेपालबाटै कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढ्ने उनी पहिलो ब्यक्ति हुन्।’ 

उनको सगरमाथा आरोहणकै क्रममा सन् १९७५ मा दुईवटै खुट्टा हिउँले खाएको हो। त्यसपछि जियाले कृत्रिम खुट्टा राखे। यस अघि पनि चिनिया नागरिक जियाले सगरमाथा आरोहणको लागी पटक–पटक प्रयास गर्दै आएका थिए। कृत्रिम खुट्टा राखे पनि उनले सगरमाथा आरोहणको चारपटक प्रयास गरे।

सन् २०१५ मा गएको विनासकारी भूकम्पका कारण उनको सपना अधुरो रह्यो। त्यतिबेला पनि उनी सगरमाथा आरोहणका लागि बेसक्याम्पमा पुगिसकेका थिए। तर भूकम्पका कारण फर्किएका थिए। अघिल्लो वर्ष पनि उनको प्रयास जारी रह्यो। 

गत वर्ष उनी ८ हजार मिटर उचाइमा पुगेर फर्किए। तर खुट्टा गुमाएपछि लगातार ४ वर्षको प्रयास पछि यो वर्ष जिया सगरमाथा आरोहण गर्न सफल भएका छन्।

खुट्टा गुमाएकाहरूलाई नेपाल सरकारले यसवर्षदेखि सगरमाथा चढ्न प्रतिबन्ध समेत लगाएको थियो। तर त्यस्ता व्यक्तिलाई सगरमाथा आरोहण गर्नबाट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि खुट्टा गुमाएकाहरूले पनि हिमाल आरोहण गर्न पाउने भएका छन्। 

प्रकाशित: १ जेष्ठ २०७५ ०५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App