९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चेपाङको व्यथा : परिवारै कुपोषणको सिकार

धादिङको बेनिघाट रोराङ २, सिमथलीकी रीता चेपाङ छोरीहरुका साथ। उनको परिवारै कुपोषणले प्रभावित भएको छ। तस्बिर : सरिता/नागरिक

धादिङ – दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ सिमथलीकी २४ वर्षीया रीता चेपाङ कुपोषणको सिकार भएकी छन् । उनी जन्मजात कुपोषणको समस्याले पीडित हुन्। उनीमात्र होइन, उनले जन्माएका तीन छोरी पनि कुषोषणले थलिएका छन्। ‘आफूलाई त जन्मजातै कुपोषणले थलायो’, उनले भनिन्, ‘जन्माएका छोरीलाई पनि बाँकी राखेन।’

रीताले १८ वर्षमा बिहे गरेकी हुन्। १९ वर्षकी हुँदा पहिलो सन्तान जन्मियो।  डेढडेढ वर्षको फरकमा अरु दुई छोरी जन्मे । जेठी छोरी प्रमिका ५ वर्ष, माइली रेनुका ३ वर्ष र कान्छी रजिता ११ महिनाका भए । डेढ वर्षअघि जेठी र माइली छोरीलाई बिरामीले गलाएपछि रीताले दुई घण्टा हिँडेर ताल्तीमा रहेको स्वास्थ्य चौकीमा पु-याई जँचाइन्। त्यहाँका स्वास्थ्यकर्मीले बच्चामा कुपोषण छ, काठमाडौं लैजानुपर्छ भनेपछि रीताले खर्चको जोहो गर्न थालिन् । खान, बस्न समेत मुस्किलले पु-याउनुपर्ने परिवारमा खर्चको जोहो कहाँबाट गर्नु ? उनी खर्च अभावमा उपचारका लागि काठमाडौं जान सकिनन्। कुपोषण भएको थाहा पाएपछि उनले गाउँमा रहेका झाँक्रीकहाँ फुक्न गइन् तर निको हुन सकेन । छोरीहरु झनै पातला, ख्याउटे देखिन थाले । खर्चको जोहो गरेपछि उनले छोरीहरुलाई पोषण केन्द्र काठमाडौं लगिन्। पोषण केन्द्रमा गएर जँचाएपछि कुपोषणको मात्रा थोरै घटेको उनले बताइन्। तेस्रो छोरी जन्मिँदै कुपोषणको सिकार भइन्।

गाईबस्तु बाध्ने गोठनजिकै बस्नका लागि सानो झुप्रो छ। खाना पकाउने, बेलुका सुत्ने त्यही झुप्रोमा गर्छन्। जग्गाजमिनको नाममा थोरै पाखोबारी छ। बारीको उब्जनीले खान नपुग्ने रीताले सुनाइन्। ‘लगाएको अन्नबालीले तीन महिना खान पुग्छ’, रीताले भनिन्, ‘बाँकी महिना सागसिस्नु र गिठ्ठा भ्याकुरले टर्ने गर्छ।’ उनलाई बालबच्चाको उचित स्याहारमा भन्दा पनि खानेकुराको जोहो कसरी गर्ने भन्ने चिन्ता हुने गर्छ। उनी गाईबस्तु बाँध्ने गोठ नजिकै पछ्यौराको झोलुङ्गोमा काखे बच्चालाई सुताएर दैनिक काममा निस्किन्छिन्। झिँगा भन्केको गोठमा भुसुना र लामखुट्टेले टोकेर हैरान पार्ने गरेको उनले सुनाइन्।

कलिलै उमेरमा बिहे हुनु, आफ्नो शरीरको विकास नहुँदै सन्तान जन्माउन बाध्य हुनु, उपचार र पोषिलो खानेकुरा खान नपाउनु, गर्भवती अवस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्नुको साटो गरुंगो भारी बोकेर हिँड्नुपर्ने बाध्यता अधिकांश चेपाङ महिलामा छ।

रीताले सुत्केरी हुँदा पोसिलो खान पाइनन्, गिठ्ठा भ्याकुर र सागसिस्नुले नै ट-यो। सुत्केरी हुँदा खोले पीठोमै चित्त बुझाउनुपरेको उनले सुनाइन्। उनले न त स्वास्थ्य परीक्षण नै गराइन् न त कुनै खोप र औषधिको प्रयोग गरिन्। उनका श्रीमान् शेरबहादुर घरकै काममा अलमलिन्छन्। रोजगारीको अवसर नपाएपछि उनले वर्षको एक समय यार्सा टिप्न जान्छन्, बाँकी समय घरमै बिताउँछन्।

यस्तो समस्या रीताको मात्रै होइन। कलिलै उमेरमा बिहे हुनु, आफ्नो शरीरको विकास नहुँदै सन्तान जन्माउन बाध्य हुनु, उपचार र पोषिलो खानेकुरा खान नपाउनु, गर्भवती अवस्थामा र सुत्केरी भएलगत्तै पनि आराम गर्नुको साटो गरुंगो भारी बोकेर हिँड्नुपर्ने बाध्यता अधिकांश चेपाङ महिलाको छ। चेपाङ महिला वर्षैपिच्छे बच्चा जन्माउन बाध्य छन्। जन्माएका बच्चालाई उचित लालनपालन, रेखदेख गर्न सक्दैनन्। आमामा पोषणको अभाव हुँदा गर्भ तुहिने गरेका उदाहरण पनि प्रशस्तै भेटिएका छन्। गरिबी, अशिक्षा, अन्धविश्वास र प्रजनन स्वास्थ्यस्थितिको सामान्य जानकारीसमेत नहुँदा कयौं गर्भवती महिलाले अकालमै मृत्युको सामना गर्नुपरेको छ।

रीताले तीनवटै बच्चा घरमै जन्माइन्। उनलाई स्वास्थ्यचौकी लगेर उपचार गराउनुपर्छ भन्ने ज्ञान नै थिएन । बच्चा जन्मेपछि लगाउने सुईको बारेमा पनि खासै जानकारी छैन। परिवार नियोजनका साधनबारे पनि खासै जानकारी छैन । उनी फेरि अर्को बच्चा जन्माउने तयारीमा छन् । तीनवटी छोरी छन्, अब उनलाई छोराको चाह छ। शरीर हेर्दा थिलथिलो देखिन्छ। जन्मिएका सन्तान पनि बाँच्छन् कि बाँच्दैनन् भन्ने चिन्ताले पनि धेरै बच्चा जन्माउने गरेको चेपाङहरु बताउँछन्।

चेतनाको अभाव र विकटको बस्ती भएका कारण यहाँका अधिकांश चेपाङ किशोरीको बिहे १५ वर्ष नपुग्दै हुने गरेको छ। सानै उमेरमा बिहे हुनुलाई आफ्नो परम्परा ठान्ने चेपाङले गर्भनिरोधक अस्थायी वा स्थायी कुनै साधन प्रयोग गर्न आवश्यक ठान्दैनन्। गाउँमा तीनदेखि आठ जनासम्म सन्तान घरघरमा भेटिने भए पनि गर्भ निरोधका लागि अस्थायी साधन प्रयोग गर्नेहरूको संख्या भने गाउँभरिमै भेटिँदैन।

चेपाङ बस्ती रहेको जिल्लाको ब्रुसबाङ, श्यामैडाँडा, चोथर, हेराङ, च्याङली, बरभन्ज्याङलगायतका बस्तीमा कुपोषण लागेका बालबालिका प्रशस्त भेटिन्छन्। कुपोषणका कारण धेरै बालबालिका तथा आमाले समेत अकालमै ज्यान गुमाउनुपरेको छ। कुपोषित बालबालिकाले उपचार नपाउँदा अधिकांशको ज्यान खतरामा छ।

विभिन्न संघसंस्थाले गरेको सर्वेक्षणका आधारमा धादिङ जिल्लाका कुल जनसंख्यामा २५.४ प्रतिशत चेपाङ छन्। तिनका नौ प्रतिशत बालबालिका कुपोषणको सिकार हुनुपरेको छ। चेपाङको अवस्था सुधारका लागि सरकार तथा विभिन्न संघसंस्थाले जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन्। उमेरै नपुगी बिहे गर्ने र सानै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चालाई हुने खतराबारे पटकपटक सचेतनात्मक कार्यक्रम भइरहेको छ तर त्यसको कुनै प्रभाव देखिँदैन।

अस्पतालमा उपचार गराउनुको साटो कुपोषित बालबालिकालाई स्थानीय बैद्य र धामीझाँक्रीलाई देखाउने चलन छ। अशिक्षा, अज्ञानता, अन्धविश्वास र असुरक्षित खानपानलगायतका कारण यहाँका धेरैजसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको छ।

बिरामी हुँदा धामीझाँक्रीको भर
चेपाङ समुदायका मानिस बिरामी पर्दा सबैभन्दा पहिले धामीझाँक्रीकहाँ पुग्ने गर्छन्। रीता पनि परिवारमा कसैलाई बिरामी पर्दा सबैभन्दा पहिले धामीझाँक्रीकहाँ पुग्ने गर्छिन् । केही रोग त धामीझाँक्रीले सन्चो बनाएको रीताले सुनाइन्। औषधि उपचार गर्न टाढा जानुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर उपचार गर्ने खर्चको जोहो गर्न नसक्दा झाँक्रीकै फुकफाकमा विश्वास गर्नुपर्ने बाध्यता चेपाङहरुको छ। चेपाङहरुमा बिरामी भएका बेला स्वास्थ्यसंस्था गएर उपचार गराउनुपर्छ भन्ने चेतनासमेत छैन। ‘गाउँका सबैले धाँमीझाँक्रीको विश्वास गर्छन्। मेरो पनि माइली छोरी बिरामी हुदाँ झाँक्रीले फुकेर बिसेक बनाएका थिए’, रीताले सुनाइन्। झाँत्रीबाट सन्चो नभएपछि मात्रै उनीहरु डाक्टर र औषधि सम्झने गर्छन्।

प्रकाशित: २१ वैशाख २०७५ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App