२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

‘जाजरकोट भूकम्पमा घर चर्किए, मानवीय क्षति भएन’

तस्बिर : सामाजिक सञ्जाल

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको केन्द्रबिन्दु कुशे गाउँपालिका–९ पैक रहेको थियो। राति ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको पहिलो धक्का र ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको दोस्रो धक्का महसुस गरिएको थियो। 

भूकम्पको प्रभाव पैक क्षेत्रमा बढी अनुभव भयो। कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार भूकम्पका कारण पैक गाउँमा घरहरू चर्किए पनि मानवीय क्षति भएको कुनै जानकारी प्राप्त भएको छैन। 

‘दुई पटक भूकम्पले नराम्ररी हल्लायो,’ उनले भने, ‘इपिसेन्टर मानिएको पैकमा घरहरूमा क्षति पुगे पनि मानवीय क्षति भएको छैन। फेरि भूकम्प आउने डरले स्थानीयहरू घरबाहिर निस्किएका छन्।’

पैक गाउँमा ६६८ घरधुरी रहेका छन्। पछिल्लो जानकारीअनुसार घरहरूमा क्षति पुगे पनि मानिसको ज्यान गएको वा घाइते भएको विवरण नआएको बस्नेतले पुष्टि गरे। स्थानीयहरू अझै पनि थप भूकम्पको जोखिमका कारण घरभित्र फर्कन डराइरहेका छन्।

अध्यक्ष बस्नेतले ०८० कार्तिक १७ को भूकम्पले क्षति पुगेका घरमा नबस्न अनुरोध पनि गरेका छन्।

प्रकाशित: २२ चैत्र २०८१ २१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App