१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रिहा हुँदाहुँदै दुई युवा पक्राउ

इलाम – जिल्लाका दुई युवालाई अदालतले धरौटीमा रिहा गरेकै दिन प्रहरीले ‘कारणबिना’ पुनः पक्राउ गरेको भन्दै परिवारजनले गुनासो गरेका छन्। इलाम, नगरपालिका–१, साखेजुङका २४ वर्षे विशाल राई र २५ वर्षे विमल राईलाई प्रहरीले सोमबार साँझ पक्रेर बेपत्ता बनाएको परिवारजनको आरोप छ।

मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै विशालकी पत्नी मनिता खत्रीले प्रहरीले बिनासूचना आफ्ना पति र त्यही गाउँका विमललाई पक्रेर बेपत्ता बनाएको बताइन्। ‘अघिल्लो मुद्दामा अदालतले धरौटीमा छुटाएकै दिन प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर राखेको छ,’ उनले भनिन्, ‘उनीहरूलाई किन पक्रिएको र कहाँ राखिएको छ भन्ने हामीलाई थाहा छैन।’ उनले मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय गएर सोध्दा ‘राति नै दुवैजनालाई यहाँबाट अन्यत्रै लगिएको’ जवाफ मात्र पाएको बताइन्।

चैत १४ गते राति साखेजुङमा रहेको एनसेलको टावरमा आगजनी गरेको आरोपमा विशाल र विमललाई प्रहरीले चैत १५ मा पक्राउ गरेको थियो। उनीहरू दुवैलाई जिल्ला अदालतले ७५–७५ हजार रुपैयाँ धरौटीमा सोमबार रिहा गरेको थियो। तर, अदालतबाट जिल्ला प्रहरी कार्यालयमा लगिएका उनीहरूलाई ‘एसपी साबसँग भेटेर मात्र जानुहोस्’ भन्दै डेढ घण्टासम्म पर्खाएर पुनः प्रहरी नियन्त्रणमै राखिएको मनिताले बताइन्। ‘रातिदेखि नै मेरो पति विशाल र विमललाई हामीसँग भेटघाट गर्न दिइएन, बिहान कार्यालय जाँदा दुवैजना त्यहाँ थिएनन्,’ मनिताले भनिन्, ‘उहाँहरूलाई पक्रिनुको कुनै कारण भए परिवारलाई सूचना दिइयोस् र कारण नभए रिहा गरियोस्।’

जिल्ला प्रहरी प्रमुख एसपी विपिन कर्माचार्यले पाँचथरमा भएका अन्य घटनामा पनि विशाल र विमलको संलग्नता आशंकाले अनुसन्धानका लागि उनीहरूलाई राखिएको बताए। ‘उनीहरूलाई बेपत्ता पारिएको छैन, पाँचथर प्रहरीमा पठाएर घटनाको अनुसन्धान गर्दैछौं,’ एसपी कर्माचार्यले भने, ‘साखेजुङको घटनामा संलग्न भएको आशंकामा पाँचथरबाट पनि ५ जनालाई इलाम ल्याइएको छ।’ विशाल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रहेको भनिएपनि पार्टीमा सक्रिय भने नभएको परिवारजनले जनाएका छन्।

प्रकाशित: ११ वैशाख २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App