पाँचथर – उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालन गर्ने चलन निक्कै पुरानो मानिन्छ। फराकिलो चरन क्षेत्रमा चौरी, डि, गाईगोठ, भेडिगोठ पाल्ने संस्कृति वर्षेनी घट्दै गएको पाइएकाे छ। बाक्लो गरी लेकाली क्षेत्रमा खर्क बनाएर गोठ पाल्ने चलन विस्तारै घट्दै गएको छ।
लेकाली क्षेत्रमा पशुपालन गर्ने चलन पूर्वी पहाडमा परम्परागत रुपमा भएपनि वर्षेनी घट्दै छ। पाँचथर, ताप्लेजुङ र इलामका विभिन्न गाविसमा रहेको गोठ पाल्ने चलन विभिन्न कारणले पछिल्ला वर्षहरुमा घट्दै गएको हो। वर्षेनी रुपमा गोठ पाल्नेक्रम घट्दै गएको गोठ सञ्चालकहरू बताउँछन्। राम्रोसँग आम्दानी हुने भएपनि नयाँ पुस्ताको आर्कषण हुन नसकेको चाररातेका छविलाल राईले बताए। ‘गोठ पाल्ने हाम्रो पालोमा मात्र होला। युवाहरू विदेशीएका छन्। लेकाली दुखमा बसेर काम गर्ने रुचिनै छैन्। हेर्दा हेर्दै गोठहरू पातलिदै छन्’ राईले नागरिकसँग भने ‘आम्दानी त राम्रो छ। तर युवाहरूलाई दुख गर्न रहर छैन।’
औलमा घर भएकाहरू लेक चढेर पशुपालन गर्ने गरेका छन्। विभिन्न किसिमका सुख सुविधा, आधुनिक प्रविधिको विकास तथा युवाहरूको कम आर्कषण हुँदा यो चलन घट्दै गएको हो। चिनको तिब्बतको सिको गर्दै लेकमा चौँरी गोठ, भेडि गोठ, गाई गोठ पाल्ने चलनको विकास भएको थियो। पशुपालनबाट राम्रो आम्दानी हासिल भएपनि नयाँ पुस्ताले कम रुचि देखाएका छन्।
पुख्र्यौली विरासतको संरक्षणका लागि थोरैले मात्र गोठ पाल्ने गरेको फालेलुङको सिक्रेका राजकुमार राई बताउँछन्। आधुनिक जीवन पद्धतिसँगै गोठमा पछिल्लो पुस्ताले काम गर्न नरुचाउने गर्दा गोठ सञ्चालनमा समस्या भएको उनको बुझाइ छ। ‘उच्च पहाडी क्षेत्रमा गोठ सञ्चालन गर्नुपरेकाले स्वास्थ्य, शिक्षा, सञ्चार लगायतको पहुँच कम हुने हुँदा गोठमा बस्ने मान्छेहरुको रुची हराउदै गएको छ’ राजकुमारले भन्छन् ‘आम्दानी राम्रो भएपनि यहाँको दुख, हिलोझरी, असुविधाका कारण लेकमा गोठ पाल्ने चलन घट्दै छ।’ पहिला पहिला धेरै गोठ भएपनि अहिले औलामा गन्न सकिने अवस्था आउन थालेको उनको भनाई रहेको छ।
विगत केहि वर्ष यता गोठ बेच्नेको संख्या बढ्दै गएको सञ्चालकरू बताउँछन्। उच्च लेकाली क्षेत्रमा गोठ पालिने हुदाँ सन्तानहरूले यता तिर ध्यान नदिने,कामदारको अभाव हुने जस्ता कारणवाट गोठको संख्या घट्न थालेको प्राङ्बुङमा गोठ चलाएर बसेका जंग राई बताउँछन्। ‘हामीले दुख गरीरहेका छौँ। कमाई पनि राम्रो छ। यहि कमाईले छोराछोरीलाई पढाएका छौँ। जग्गा जोडेका छौ ’ उनले भने ‘अब यसै भन्न सकिन्न।’ लेकाली क्षेत्रमा सुविधा विस्तार हुन सकेको छैन। सन्तानको भविष्य र दुख अति गर्नुपर्ने भएकाले गोठबाट पलायन हुने संख्या बढेको छ।
छिमेकी भारतको सिंहलिला नेशनल पार्कमा पशुप्रवेशका लागि पूर्ण प्रतिबन्ध भएकाले पनि समस्या भएको बताइन्छ। गोठमा कामदारको अभाव छ। कामदार खोजीगर्दा मरिकाट्टे नभिटीने उनीहरूकको भनाई छ। वर्षमा खर्च कटाएर चार–पाँच आम्दानी हुने गरेको गोठ सञ्चालकहरु बताउछन्। लेकमा गोठ पाल्नेहरूको सहरमा घडेरी हुने गरेको छ।
लेकाली गोठसम्म खाद्यान्न लगायका दैनिक उपभोग्य समाग्री पुर्याउन कठिन छ। गाउँबाट गोठसम्म भारी बोएर पुर्याएको समाग्री महंगो हुन पुग्छ। स्वास्थ्य, शिक्षा जस्ता सुविधा कम छन्। गोठमा परिवारै बस्नेका नानीहरूले विद्यालय जान पाउँदैनन्। बिरामी हुँदा कयौँ दिन यहिको जरीबुटीमा निर्भर हुनुपर्छ। लेकमा असुविधाका कारणले पनि चौँरी पाल्ने क्रम घट्दै गएको ताप्लेजुङको कालीखोलाका भीम भण्डारी बताउँछन्।
उच्च पहाडी भेकमा रहेका ठूलठूला चरन भु–भागमा परम्परागत ब्यवसायको रुपमा गोठ सञ्चालन भएका छन्। घर देखि माथि अर्थात लेकतीर पशुपालन गर्ने प्रचलनलाई गोठ पाल्ने भन्ने प्रचलन रहेछ। कतिले आफै बसेर र कतिले मान्छे राखेर गोठ पाल्ने गर्छन्। आजभोली परिवार नै साथमा राखेर गोठमा बस्ने गरेको देखिन्छ। गोठहरू पनि औल र लेकाली गोठ भनेर विभाजित गरिएका छन्। औल गोठहरू गाई ,बाख्रा लगायतका कृषि व्यवसाय समेत गरिन्छ भने लेकाली गोठहरूमा पशु पालन मात्र हुन्छ। घर छोडेर गोठमा बस्ने यहाँको परम्परगत पेशा समेत हो। चिसोबढेपछि लेकाली गोठलाई केहि तल सारिन्छ। लेकाली चौँरी लगायतका पशुहरू यतिखेर बसाई सरेर औलतीर झरेका छन् ।
चौरी, डि, भेडी तथा गाई गोठहरू यस क्षेत्रमा सञ्चालन भएका छन्। पाँचथरका उच्च पहाडी क्षेत्रहरू फलैचा, मेमेङ, प्राङ्बुङ, सिदिन गाविसका विभिन्न खर्कहरूमा विभिन्न पशुहरूको गोठ पाल्ने प्रचलन परम्परा देखि चल्दै आएको छ। त्यसैगरी इलामको माईमझुवा, मावो तथा ताप्लेजुङका कालिखोल, सुरुखिम, मेहेले, सादेवा, आङ्खोप लगायतमा गोठ राख्ने प्रचलन रहेको छ। यी मध्ये लेकाली गोठमा चाँैरीको गोठको संख्या बढि रहेको छ। विगतको तुलनमा भने यो कम हो
दुध जन्य वस्तुको उत्पादन, मासुको उत्पादन तथा बिक्री वितरण यहाँको प्रमुख क्रियाकलाप हुन्। मासु, ध्यू ,छुर्पी, चमर लगायतका उत्पादन बिक्री गर्छन्। यहाँका उत्पादन खरिद गर्न व्यापारीहरू आउछन्।
प्रकाशित: ४ वैशाख २०७५ ०६:४६ मंगलबार