४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

मधेसी समुदायमा बढ्दै शौचालय प्रयोग

नेपालगन्ज–१९ फुटाह गाउँ । तस्विरः गणेश/नागरिक

नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यसभन्दा पहिला उनी खुला ठाउँमा शौच गर्न जान्थे । खुला शौच गर्दा लाज हुने र सर्पको बिगबिगी हुने भएपछि उनले शौचालय बनाए । करिब ७०/८० घर भएको यस गाउँमा अहिले ९० प्रतिशतभन्दा बढी घरमा शौचालय छन् । 

यति मात्र होइन, पछिल्लो समय मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै गएको छ । सरसफाइसम्बन्धी चेतना बढ्दै जाँदा मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै जान थालेको हो । एकतर्फ चेतना हो भने, अर्कोतर्फ वर्षाको समयमा सर्पको बिगबिगी र अन्य समयमा खुला शौच गर्दा लाज हो । ‘रातको समयमा पनि बाहिरै जानुपर्थ्यो, तराईको ठाउँमा सर्पको बिगबिगी हुन्थ्यो । अर्काको खेतमा जाँदा मानिसहरूले गाली गर्नुहुन्थ्यो । बाल बच्चा र गर्भवती महिलाहरू पनि सकी नसकी खुला ठाउँ खोज्दै जानुपथ्यो,’ सितारामले भने, ‘घरमा शौचालय बनाएपछि धेरै सजिलो भएको छ ।’ 

उनी आफ्ना हजुरबा, हजुर आमा र बुबा आमाको पालामा खुला ठाउँमै दिसा पिसाब गरेको बताउँछन् । उनी भन्छन्, ‘खुला ठाउँमा दिसा पिसाब गर्दा कति सामाजिक बेइज्जत हुन्थ्यो ।’ अहिले गाउँमा सम्मानसँगै इज्जत दुवै बढाएको उनले सुनाए ।

२०७१ सालमा नेपालगन्जलाई उपमहानगरपालिका बनाउँदा घरघरमा शौचालय बनाउने अभियान चलेको र सोही बेला घरमा अमृतलाल बर्माले बताए । ‘उपमहानगरको मापदण्डमा पर्नलाई गाउँमा शौचालय बनाउने अभियान चल्दा धेरै शौचालय बनाएका थिए,’ उनले भने, ‘त्यति बेला सरकारले विपन्न तथा गरिब परिवारलाई केही सामग्रीसमेत सहयोग गरेको थियो ।’ सहरसँग जोडिएका मधेसी समुदायका बस्तीहरूमा शौचालयको प्रयोग बढ्दै गएपछि गाउँहरू सफा देखिन थालेका छन् ।

‘पहिला त बाटोघाटो, यत्रतत्र दिसाले हिँड्नसमेत गाह्रो हुन्थ्यो,’ स्थानीय सुन्दर बर्माले भने, ‘अहिले त्यस्तो अवस्था छैन ।’ सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सीमान्तकृत समुदायका घर भने शौचालयविहीन भएको भन्दै उनले भने, ‘त्यस्ता परिवारका बालबच्चाले गर्दा भने केही सरसफाइमा समस्या छ ।’ अहिले पक्की घरहरू बन्ने गरेको र घरसँगै शौचालय पनि बन्न थालेको उनी सुनाउँछन् । ‘कच्ची घर बनाउनेले पनि नजिकै शौचालय बनाएका हुन्छन्’, बर्माले थपे ।

‘खुला ठाउँमा जाँदा कोही आउँछन् कि, देख्छन् भन्ने त्रास मात्रै हुन्थ्यो,’ उनले भने, ‘डरै डर दिसा गरेर घर फर्किन्थ्यौ ।’ कहिले कसो तः मानिसहरूको चहलपहल हुने दिन राम्रोसँग दिसा गर्नै नपाइने भन्दै उनले भने, ‘घरमा शौचालय नहुँदा धेरै दुःख पाइएको थियो । अहिले त । ती सबै समस्या हटेका छन् ।’ शौचालय प्रयोगले सरसफाइमा समेत सहयोग पुगेको उनी बताउँछन् ।

मधेसी समुदायमा शौचालयको प्रयोग बढ्दै गए पनि अमृतलाले भने जस्तै शैक्षिक र आर्थिक अवस्था कमजोर भएका परिवारहरू भने शौचालयविहीन छन् । शौचालय अभावमा कतिपयले शौच जाँदा सर्पको टोकाइबाट मृत्युवरण समेत गर्नु परेको छ ।

प्रकाशित: २० पुस २०८१ १८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App