१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चिनीमा यूरिया मिसावट भएपछि पसल शिलबन्दी

चिनीमा यूरिया मिसिएको गुनासोका आधारमा पाण्डे भेराइटिजको गोदाम शिलबन्दी गर्दै प्रशासनको टोली । तस्बिर : दमन राई/नागरिक

खोटाङ– खोटाङमा चिनीमा रासायनिक पदार्थ यूरिया मिसावट भएको पाइएको सूचनाका आधारमा प्रशासनले एक पसलमा शिलबन्दी गरेको छ।

यूरिया मिसावट भएको पाईएको भन्दै ग्राहकले प्रशासनलाई खबर गरेपछि दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सको पसल तथा गोदामलाई शिलबन्दी गरेको हो। जिल्ला प्रशासन कार्यालयका नाशु लिलाबहादुर विश्वकर्मा नेतृत्वको टोलीले उद्योग वाणिज्य संघका पदाधिकारीको रोहबरमा शुक्रबार राती ९ बजे पसल तथा गोदाममा चार थान तालाचाँवीका साथमा लाहाछाप गरी शिलबन्दी गरेको हो।

उपभोक्ताबाट चिनीमा यूरिया मिसिएको गोप्य सूचना प्राप्त भएपछि अनुसन्धानका लागि पसल तथा गोदाम शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका नाशु विश्वकर्माले बताए । प्रशासन र प्रहरीको टोलीले पाण्डे भेराइटिजको गोदाम र पसलमा शिलबन्दी गरिरहकै समयमा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी पनि आइपुगेका थिए।

ग्राहकले चिनीमा मिसावट भेटिएको प्रशासनलाई जानकारी गराएपछि परिचालन गरिएको प्रहरीले पाण्डे भेराइटिजबाट ना ५ ख ७१३० नम्बरको ट्रकमा हालेर मिल्काउन पठाउन लागेको अवस्थामा साँढे तीन बोरा चिनी बरामद गरेको छ। प्रहरी पुग्नु अगाडि मिल्काउन पठाउन लागिएको चिनी र ट्रक सामुदायीक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ ।गोदाम तथा पसल शिलबन्दी गरेको प्रशासनको टोलीले ट्रकमा फेला परेको चिनीको बोरामा समेत शिलबन्दी गरेको छ । चिनीमा रासायनिक पदार्थ मिसावट भए- नभएको अनुसन्धानपछि मात्र पुष्टी हुने प्रशासनले जनाएको छ।

एक ग्राहकले शुक्रबार दिउँसो खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको पाइएपछि प्रशासनसम्म गुनासो पुगेको थियो । मिसावट भेटिएको चिनी दुई हप्ताअघि मात्र उदयपुर कटारीका सुरेशलाल दासको पसलबाट ल्याइएको पाण्डे भेराईटिजका सञ्चालक मकेश्वर पाण्डेले बताए ।

 

प्रकाशित: १ वैशाख २०७५ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App