बुटवल- विश्व सम्पदा सूचीमा सुचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षामा लापरबाही देखिएको छ। मायाँदेवि मन्दिर परिसरमै मानिसको कपालको चुल्ठो, दाँत, नङ्ग, हातको बाला, कपडामा पोका पारीएको अस्तु जमिन मुनी गाडीएको अवस्थामा फेला परेपछि कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा यस्ता गैरकानुनी क्रियाकलाप भएको बाहिरिएको हो।
गत चैत्र १२ गते ताइवानी पर्यटकले ल्याएको भनिएको मानव अस्तुकोषका कर्मचारी र सुरक्षाकर्मीहरुको मिलेमतोमा मायादेवि मन्दिर परिसरमै गाडीएको हो। घटनामा कोषका बनस्पती अधिकृत सब्बिर अहमद खान, गार्ड कमाण्डर धन्नाराम श्रेष्ठ, सोयब मुसलमान,सहित दङ्गा, सशस्त्र, पर्यटन र ग्रुप फोरका सुरक्षाकर्मी सहित १८ जना संलग्नता रहेको कोषले जनाएको छ।
यसले बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थामा गम्भिर प्रश्न खडा भएको छ। यहाँ शसस्त्र,दङ्गा, ग्रुप फोर,पर्यटन प्रहरी र विकास कोषका सुरक्षा गार्ड २४ सै घण्टा सुरक्षामा खटिन्छन। कोषका कर्मचारी र तीनै सुरक्षाकर्मीको मिलेमतोमा कोर जोनमै गैरकानुनी रुपमा खनेर अस्तु गाडीएको हो। कोषका निमित्त सदस्य सचिव समेत रहेका योजना प्रमुख सरोज भट्टराइले डिउटीमा रहेकाहरुले प्रतिव्यक्ति एक हजार दरले रकम लिएर मायादेवि परिसरमै ती सामान गाडन दिइएको छानबिन प्रतिवेदन आएको बताए। तर स्थानीयले भने कोषका अधिकारीहरुको मिलेमतो र ठूलै अर्थिक चलखेलमा लुम्बिनी भित्र यस्ता गैरकानुनी क्रियाकलाप हुने गरेको आरोप लगाएका छन्।
लुम्बिनीमा मायाँदेवी मन्दिर प्रवेशकालागि आम सर्वसाधारणलाइ झोला खानतलासी गरिन्छ। जुत्ता चप्पल निषेध छ। परिसरका बोट बिरुवा फूल कुनै पनि चिज जथाभावी छुन, च्यात्न, भुइ खन्न मनाही छ। महत्पूर्ण उत्खनन वा निमार्ण गर्नु परे युनेस्को र लुम्बिनी विकास कोषको अनुमती अनिबार्य लिनु पर्छ। तर यी सबै कुरालाई लत्याउँदै कोषका कर्मचारी र सुरक्षाकर्मीहरुले ताइवानी पर्यटकको समूहलाई मायाँदेवी मन्दिर परिसर भित्रै सामान गाडन अनुमती दिएका थिए।
चैत १२ गते ताइवानी पर्यटकको समूह साँझपख मायादेवी मन्दिर प्रवेश गरेको थियो। मन्दिरमा पूजापाठ पश्चात ती बस्तुहरु खाल्डो खनेर गाडेको स्थानीयले बताएका छन्। कोषका अधिकृत चुणामणी भट्टराईका अनुसार मनिसको कपालको चुल्ठोका १४ वटा मुठ्ठा, दाँत, नङ्ग, हातको बाला, ससाना कपडामा पोका पारीएको अस्तु जस्तो देखिने खरानी, चामल र मास राखीएका १३२ वटा पोका मायादेवी मन्दिरको पिश्चम तर्फ फुट ट्रयाकको छेउमै गाडीएको हो। ती सामानको तौल करिब ६ किलो रहेको कोषले जनाएको छ। कोषले यसबारेमा अर्को दिनै थाहा पाएपनि ती सामान गाडीएको दश दिन पछि गत २२ गते बल्ल स्थानीयको दवावमा उत्खनन गरी छानबिन गरयो।
कोषका प्रसाशकीय अधिकृत चुडामणी भट्टराई र पुरातत्व अधिकृत हिमाल उप्रेती रहेको दुई सदस्यीय छानबिन समितिले घटनामा कोषका कर्मचारी सहित १८ जनाको संलग्नता रहेको प्रतिवेदन बुझाएको छ। घटनामा संलग्न १८ जना भनिएपनि विकास कोषको मंगलबार अवेर बसेको बैठकले सुरक्षा कर्मचारीलाई कारबाहीकालागि सिफारिस गर्ने र कोषका कर्मचारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। तर ती सामान गाडन अनुमती दिने कोषका अधिकृत सब्बिर अहमदलाई भने कोषले उन्मुती दिने भएको छ । कोषका उपाध्यक्ष अवधेश त्रिपाठी –भिक्षु मेहताले सुरक्षा गार्डले सब्बिरसंग फोनबाटै अनुमती लिएको र उनले मन्दिरको घेराभन्दा बाहिर भन्ने निर्देशन दिएकाले ठूलो गल्ती नदेखिएको बताए। उपाध्यक्ष भिुक्षु मेहताले घटनालाई कोषले गम्भिर रुपमा लिएको बताएपनि कोर जोनमै अस्तु लगायतका सामान गाडन अनुमती दिने कर्मचारीको गल्ती अन्जानको भन्दै ढाकछोप गर्ने प्रयास गरे।
प्रकाशित: २८ चैत्र २०७४ ०९:२६ बुधबार