उदयपुरमा केही महिनायता प्रवेश गरेको २४ हात्तीको बथानले सदरमुकामलगायत विभिन्न क्षेत्र घुम्दै क्षति पुर्याइरहेको छ।
मंगलबार राति हात्तीले त्रियुगा नगरपालिका–५, पल्लो श्रीपुरका भीमबहादुर बस्नेतको पक्की घरसँगै जोडेर बनाइएको भान्सा घर भत्काउनुका साथै ६ मुरी धान खाएर नष्ट पारिदिएको छ।
हात्तीले आतंकले गाउँलेहरू त्रसित भएका छन्। स्थानीय सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक बान्तवा राईका अनुसार हात्तीको समूह पश्चिम कटारीबाट पूर्वतर्फ जाँदै गर्दा यो क्षति भएको हो।
गाउँलेहरूले माइकिङ गर्दै हात्ती भगाए
क्षतिको जानकारी पाएपछि गाउँलेहरूले माइकिङ गरी हात्तीलाई शान्तिपूर्ण रूपमा गाउँबाट बाहिर निकालेका थिए। “हात्ती मेरो साथी” कार्यक्रम अन्तर्गत तालिम लिएका अध्यक्ष राईका अनुसार हात्तीलाई डराउने वा तर्साउनेभन्दा फकाउने तरिकाले नियन्त्रण गर्न सकिन्छ।
राईले भने, "माइकिङ गर्दा हात्तीले क्षति पुर्याउन बन्द गरेर आफैँ अन्यत्र लाग्छ। यसरी नै हामीले हात्तीलाई ५ नं. वडाको श्रीपुरबाट ४ नं. वडाको बगाहा हुँदै पूर्वतर्फ पठायौं।"
हात्तीले गरेको क्षतिको विवरण इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको टोलीले संकलन गरी डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक घनश्याम पोखरेलका अनुसार बस्नेतको घर र ६ मुरी धानको क्षतिको कुल अनुमानित मूल्य डेढ लाख रुपैयाँ रहेको छ।
कोसी टप्पु आरक्षण केन्द्र सुनसरीबाट छ महिना अघि उदयपुर हुँदै सिन्धुलीतर्फ गएका हात्तीहरू स्थानीय कटारी, नेपालटार, अँधेरी, र त्रियुगा नगरपालिका हुँदै पूर्वतर्फ बेलका नगरपालिकातर्फ गएको बताइएको छ।
प्रकाशित: २० मंसिर २०८१ १९:२६ बिहीबार