४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बाह्र वर्षपछि फर्कियो शहिद परिवारमा खुसी

सालिक अनावरणका क्रममा शहिद हरिराज अधिकारीप्रति श्रद्धाञ्जली दिँदै पत्नी अञ्जु । तस्बिर : अर्जुन ओली

नेपालगन्ज – जनआन्दोलन २०६२/०६३ का सहिद हरिराज अधिकारीको सालिक १२ वर्षपछि अनावरण गरिएको छ। प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका तत्कालिन सभापति अधिकारीको २०६२ चैत २६ गते आन्दोलनका क्रममा स्थानीय धम्बोझी चोक नजिक निधन भएको थियो। सरकार र राजनीतिक दलको चरम बेवास्ताका कारण शहिद पत्नी अञ्जु शर्मा(अधिकारी)आफैँले खरिद गरेर ल्याएको उक्त सालिक सोमबार अनावरण गरिएको हो। महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको हरि स्मृति भवनको सामुन्ने क्याम्पस प्रमुख गणेशकुमार रेग्मी र सहिद पत्नी अञ्जुले संयुक्त रुपमा सालिक अनावरण गरेका हुन्। 

शहिद हरिराजको सालिकलाई सुरुमा स्थानीय ट्राफिक चोकमा राख्ने विषयमा राख्ने करिव निश्चित भइसकेको थियो। उक्त ठाउँलाई ‘शहिद हरिराज अधिकारी’ चोक नामाकरण समेत गरेर सालिक राख्न सर्वदलीय र सर्वपक्षीय निर्णय भएपछि शहिद पत्नी अञ्जुले जगको पुजा गराएर पिलर समेत स्थापना गरेकी थिइन् । ‘पिलर बनाएपछि मैले आफ्नै खर्चमा काठमाडौंमा पुगेर ललित कलामा ढुंगाको सालिक बनाउन अर्डर दिए, तयार भएरपनि आयो, तर राख्ने ठाउँको अन्यौलता भयो,’ उनले स्मरण गर्दै भनिन्।

तत्कालिन नेपालगन्ज नगरपालिकाले पनि सालिक स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा चारलेन सडक बिस्तार गर्ने निहुँमा सडक डिभिजन कार्यालयले अनुमति नदिएको अञ्जुले बताइन्। ‘राजनीतिक दलले चाहेको भए चोकमै सालिक राख्न सकिन्थ्यो, तर शहिदको पक्षमा बोलिदिने कोही भएन,’ उनले भनिन् ‘त्यहाँ राख्न नपाएपछि वर्षौसम्म क्याम्पस प्रमुखको कार्यकक्षमा सालिक ल्याएर राखियो।’ 

चारलेन सडकको हरिराज अधिकारी चोकमा सालिक अनावरण गर्न नपाएपछि अञ्जुले क्याम्पस परिसरमै भएपनि स्थापना गर्न पटक–पटक अनुरोध नगरेकी होइनन्, तर क्याम्पस प्रशासनले पनि सुनुवाई गरेन । ‘सालिक बनेर आएपछि तीन जना क्याम्पस प्रमुख फेरिसक्नु भयो, यसपटक पनि म आफैँले ताकेता गरेपछि बल्लतल्ल अनावरण भएको हो,’ उनले भनिन् ‘बाह्र वर्षपछि श्रीमानको सालिक अनावरण हुँदा मेरो मन थोरै भएपनि खुसी भएको छ ।’ अनावरणका क्रममा अञ्जुको आँखाबाट खुसीका आँसु बगे । 

प्रकाशित: २६ चैत्र २०७४ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App