८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पाथीभरा मन्दिरमा अब क्यूआरमार्फत भेटी !

ताप्लेजुङको पाथीभरा मन्दिरका भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने छन्।  लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भेटी दान खाताको क्यूआर कोड तयार गरी मन्दिर क्षेत्रमा राख्ने भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार भक्तजनको सुविधाका लागि मन्दिर क्षेत्रमै यो व्यवस्था गरिने छ। हाङवाङका अनुसार लक्ष्मी सनराईज बैंकमा पाथीभरा क्षेत्र विकास समितिले भेटिपात्ती खाता सञ्चालन गरेको छ। उक्त क्यूआर कोडमार्फत दाताहरूले पठाएको रकम सोझै भेटिपात्ती खातामा जम्मा हुने छ।

विद्युतीय माध्यमद्वारा भक्तजन तथा भेटी चढाउन चाहनेले इन्टरनेट उपलब्ध भएको खण्डमा उक्त क्यूआरमार्फत रकम जम्मा गर्न सक्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। मन्दिर क्षेत्रमा मोबाइलको नेटवर्क लाग्छ। डाटा बाहेक अरु इन्टरनेटको माध्यम भने त्यहाँ छैन। हाङवाङका अनुसार नेपाल टेलिकममार्फत त्यहाँ फोरजी सेवामार्फत इन्टरनेट चल्ने प्रबन्धका लागि टेलिकमको इलाम कार्यालयसँग सम्झौता भइसकेको छ।

लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई क्यूआर कोड तयार गरी हस्तान्तरण गरेका छन्। उक्त क्यूआर कोड तत्कालै मन्दिर क्षेत्रमा राखिने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

प्रकाशित: २७ कार्तिक २०८१ १४:०८ मंगलबार