९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा भवितव्य बढी

<br>

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरमा विभिन्न कारणले दैनिक अकालमा मानिसको मृत्यु हुने गरेको पाइएको छ। भवितव्यबाट दैनिक मानिसको मृत्यु हुने गरेको जिल्ला प्रहरी परिसर भक्तपुरको तथ्यांकले देखाएको छ। परिसरले राखेको तथ्यांकअनुसार दसैं, तिहार र छठ पर्वबीचमा मात्रै जिल्लामा २३ जनाको मृत्यु भएको छ। तीमध्ये तीन जनाको मृत्यु दुर्घटनाबाट भएको छ। यो वर्ष दसैं असोज १७ गतेदेखि सुरु भएको थियो भने छठ कात्तिक २२ गते सम्पन्न भएको थियो।

जिल्ला प्रहरीपरिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीले तुलनात्मक रूपमा अन्य जिल्लामा भन्दा अत्यधिक कम मात्रामा अपराधका घटना रहे पनि जिल्लामा सालाखाला एकजना मानिसको अकालमा ज्यान जाने गरेको जनाए।

‘दसैं, तिहार र छठ पर्वबीच मात्रै जिल्लामा १८ जनाको मृत्यु भवितव्यका कारण भएको देखियो,’ उनले भने, ‘त्यसबाहेक तीनजनाको मृत्यृ दुर्घटनाका कारण भएको छ।’ कार्यालयको तथ्यांकअनुसार यसबाहेक जिल्लामा दसैं, तिहार र छठ पर्वबीच कर्तव्य ज्यानमा दुईजनाको मृत्यु भएको थियो।

लागुऔषध, बालयौन दुरुपयोग, जुवा, हुन्डी, चोरी, सवारी अंगभग, ठगी, आपराधिक उपद्रोमा कसैको पनि ज्यान जान पाएन। ती आपराधिक गतिविधिमा पक्राउ, फरार र घाइते मात्रै भएका छन्। दसैं, तिहार र छठ पर्वबिच जिल्लामा ५१ वटाको आपराधिक घटना भएको, ७२ जना पक्राउ परेका र चारजना फरार रहेको तथ्यांक छ।

भक्तपुर जिल्ला प्रहरी परिसरको प्रमुखका रूपमा सरुवा भई आएका एसपी माधवप्रसाद बुढाथोकीले आफूले कार्यभार सम्हाल्न थालेपछि पत्रकारहरूसमक्ष अन्तक्र्रिया तथा सुझाव संकलन गरेका थिए। त्यस अवसरमा उनले आफूले कार्यभार सम्हाल्न थालेको चाडपर्वलक्षित गरी करोडौं हारजित हुने गरी जुवातास खेल्ने गरेका खबरहरूसमेत आए पनि यस वर्षको चाडपर्व सामान्य रहेको जनाए।

लागुऔषध कारोबार देखिएको भन्दा बढी भएको हुन सक्ने अनुमान गर्दै बुढाथोकीले अवैध हातहतियार, पटका नियन्त्रण, बजार अनुगमन, चाडपर्वलक्षित सुरक्षा कार्यान्वयन गर्दै चार पटकसम्म गरेको अनुगमनले १५ हजार जरिबाना र १० हजारबराबरको सामान नष्ट गरेको जनाए।

साथै, दसैंतिहार र छठ पर्व अवधिभर भक्तपुर जिल्लामा अन्दाजी ४८ हजार रूपैयाँबराबरको पटाका बरामद गरे पनि ठाउँठाउँमा पटाका पड्केको टिप्पणी उनले गरे। ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १५७ सवारीसाधन कारबाहीबाट १४ लाख ५५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको र ८७ वटा सवारी दुर्घटनामा तिन जनाको मृत्यु, पाँच जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएको जनाए।

परिसरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार यस वर्षको दसैंतिहार र छठ पर्वमा लागुऔषध अपराधका पाँचवटा घटनाबाट १० जना, बाल यौन दुरूपयोगका दुई, दुघर्टनाबाट दुईजना, जुवाका ९ अपराधबाट ३२ जना, हुन्डीबाट एकजना, चोरीका आठ घटनाहरूबाट १५ जना, सवारी अंगभंगका ६ घटनाबाट पाँचजना पक्राउ र एकजना फरार तथा ६ जना घाइते भएको उल्लेख गरे।

ठगीको एउटा घटना भएको प्रहरीको जानकारीमा आए पनि एक जना फरार रहेको उनले जानकारी गराए। आपराधिक उपद्रव गर्न नहुने एउटा घटनामा दुई जना र कर्तव्य ज्यानका दुई घटनामा दुईजना पक्राउ र दुई जनाको मृत्युसमेत भएको उल्लेख गर्दै सूचना अधिकारी नेउपानेले भवितव्य ज्यानका १८ घटनाबाट १८ जनाको ज्यान गएको बताए।

फैसला कार्यान्वयनसम्बन्धी कारबाहीमा ४३ जना पक्राउ गरी ८१ हजार ७६० जरिवाना तथा १ वर्ष ६ महिना १६ दिने कैद सजाय भएको भन्दै चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनका लागि ६१७ जना प्रहरी कर्मचारी परिचालन भएको उनले जनाए।

महानगरीय प्रहरीपरिसर भक्तपुरको भावी रणनीतिक योजनाको रूपमा फैसला कार्यान्वयनमा जोड दिने, सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने, लागु औषध नियन्त्रण गर्ने, आत्महत्या न्यूनीकरण गर्नका लागि प्रभावकारी रूपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने र शान्ति सुरक्षा कायम गरी अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यक्रम पनि अघि सारेको त्यस अवसरमा परिसरले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रवीण खत्रीले जिल्लामा दुर्घटनाका कारण पनि धेरैजनाको मृत्यु हुने गरेको बताए। विशेष गरेर अरनिको राजमार्गअन्तर्गत भक्तपुर खण्डको जडिबुटीदेखि साँगासम्मको राजमार्ग खण्डमा तीव्र गतिका कारण दुर्घटना हुने गरेको उनले जनाए। साथै रातको समयमा राजमार्ग खण्डमा सडक बत्ती नभएकाले पनि बढी दुर्घटना हुने गरेको उनले जनाए। त्यही भएर जिल्लाका मुख्य सडकहरूको ट्राफिक लाइटहरूको व्यवस्थापनका लागि स्थानीय तहहरूसँग समन्वय भइरहेको उनले बताए।

प्रकाशित: २७ कार्तिक २०८१ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App