९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सिंगाडा खेतीबाट राम्रो आम्दानी गर्दै कमलेश

कपिलवस्तु नगरपालिका– ५ स्थित दलदालहामा पोखरीमा फलेको सिंगाडा टिप्दै कमलेश कहार र कामदार। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

कपिलवस्तु नगरपालिका– १ कहार टोलका कमलेश कहार सिंगाडाका लागि टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा हिँडेका सिंगाडा टिपेर दिउसो फर्कन्छन्।अहिले उनी र उनको परिवारलाई सिंगाडा बेच्ने चटारो छ।

मौसमी फलका रुपमा रहेको सिंगाडा खेतीबाट उनले मनग्य आम्दानी गर्ने गरेका छन्। माछा पालनका लागि ठेक्का लिएको तालमा सिंगाडा उत्पादन गरी उनले  राम्रो कमाई गरिरहेका छन् । अहिले बजारमा सिंगाडाको माग अधिक भएकाले पोखरीमा फलेको मौसमी फल सिंगाडा टिपेर बिक्री गर्न भ्याइ नभ्याई छ। ४७ बर्से कमलेशले सिंगाडा बिक्रीबाट आफूले राम्रो आम्दानी लिने गरेको बताए।

बजारमा अहिले सिंगाडाको माग धेरै भएकाले पोखरीमा फलेको सिंगाडा सङ्कलन गरी बजारमा लगेर बिक्री गर्न आफ्नो पुरै परिवार व्यस्त रहेको उनले बताए। उनले आफू सहित अन्य ६ जनालाई पनि ज्याला दिई सिंगाडा टिप्न लग्ने गरेका छन्।

उनले दैनिक ६ सयका दरले ४ जना कामदार राखेका छन्। पोखरीमा रहेको सिंगाडा र माछाको रेखदेखका लागि पोखरी छेउमै कच्ची घर बनाएर कमलेश श्रीमतीसँगै बस्ने गरेका छन्।

कपिलवस्तु नगरपालिका भित्र रहेका ३ बटा पोखरी तलैया ठेक्कामा लिई रोपिएको सिंगाडा टिपेर राम्रो आय आर्जन गरिरहेका छन्। कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलाहामा ८ कठ्ठा, वडा नम्बर १२ पिपरीमा ४ कठ्ठा पोखरीमा सिंगाडा खेती सहित माछा पालन समेत गर्दै आएका छन्। सिंगाडाकै कमाइले ३ कोठाको पक्की घर पनि बनाई छाडे।

‘अनेक दुःख कष्ट सहेर सबै जना कमाउन भनेर बिदेसिन्छन् तर म सानो लगानीले घर मै बसेर खान लाउन र थोरै धेरै बचत गरिरहेको छु’ उनले भने ‘गत वर्ष ७० हजार बचाए अहिले एक लाखको कारोबार गर्ने योजनमा छु। ठुलो आम्दानी गर्न नसके पनि ७ जनाको परिबार पाल्न अरु काम गर्नु पर्दैन, कसैसँग ऋण कर्जा पनि लिनु नपरेको छैन।’

खाई पिई थोर धेर बचत पनि हुने गरेको उनले सुनाए। पुस्तौँ देखि भाडा माझ्ने, माछा मार्ने पेसामा लागेका आफ्नो पुर्खाहरू अहिले भने केही परिवर्तनको सङ्घारमा रहेको कमलेशले बताए। सिंगाडा खेतीका लागि कृषि कार्यालयले अझै सम्म कुनै सहयोग नगरेको उनको गुनासो छ।

‘बीउ विषादी सबै भारतबाट किनेर ल्याउनु पर्छ, सरकारबाट कुनै सहयोग पाएका छैनौं’ उनले भने। सिंगाडा खेतीका लागि वार्षिक एक लाख बढी खर्च हुने गरेको उनले बताए। घर बनाउन बैकबाट लिएको ऋण अझै सम्म तिर्न नसकेको गुनासो गरे।

कमलेशले पोखरीमा माछा पालन समेत गरेका छन्। त्यसबाट पनि राम्रो आम्दानी गर्ने गरेको उनी बताउँछन्। उत्पादन भएका सिंगाडा तौलिहवा हाट बजारमा बेच्न लाने गरेको उनी सुनाउँछन्। त्यहीबाट व्यापारीहरूले किनेर जिल्लाका विभिन्न बजारहरूमा  बिक्रीका लागि लाने गरेका छन्।

तालमा सजिलै बीउ छरेर खेती गर्न सकिने भएका कारण पनि कहारहरुले आफ्नो पुर्ख्यौली पेसा जोगाई राखेका छन् ’ कपिलवस्तु नगरपालिका–१ कहार टोलका राजेश कहारले भने।

सेमराहावमा पोखरी ठेक्कामा लिएका उनको बाउ बाजे देखीको पेसा हो यो। ‘के गर्ने जानेको यही छ त्यसैले वर्षको तीन चार महिना मेहनत गरे अरु बेला बसी बसी खान पुग्ने हुँदा अहिले लागि परेको छु।’ उनले भने। अहिले यहाँ कलेश राजेश, जस्तै कपिलवस्तु नगर पालिका– १ कहार टोलका करिब ४० घर परिवारले सिंगाडा खेती गरेरै जीविकोपार्जन गरिरहेका छन्।

जेठ असारमा लगाएको सिंगाडा असोजमा तयार भई कार्तिक मंसिर सम्म बिक्री गर्न सकिन्छ।असोज देखि मंसिर भित्र पर्ने दसैं तिहार, बडकी आइतबार र हरिबोधिनी एकादशीमा सिंगाडा बढी बिक्री हुने हुँदा सिंगाडा खेती गर्नेहरू बढी उत्साहित हुन्छन्। कार्तिक २७ गते मंगलबार परेका हरिबोधिनी एकादशीमा तौलिहवा बजार भरी सिंगाडा बेच्ने र किन्नेको भीड लाग्ने गर्दछ।

सिंगाडा प्राय सबैले खान्छन् तर यो विशेष गरी व्रतालुले खाने फल हो । रोगी बिरामीका लागि पनि उत्तिकै फाइदा पुर्‍याउँछ यसले। सिंगाडाको भित्रको गेडालाई उमालेर, सुकाएर पिँधेर पिठो बनाई रोटी पनि खाने चलन छ।

यो फल ५० देखि ६० रुपियाँ किलो सम्म बिक्री हुने गर्दछ। मौसमी फल सिंगाडा खेतीका विषयमा भने कृषि ज्ञान केन्द्रसँग आधिकारिक कुनै तथ्याङ्क छैन। जिल्लाका काहार समुदायका मानिसहरूले पोखरीमा सिंगाडा उत्पादन गरी राम्रो आम्दानी भने पाउने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०८१ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App