६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा निल गाईको हत्या, गोली हान्ने व्यक्तिको खोजी जारी

 त्रियुगा नगरपालिका- ५ श्रीपुरस्थित जङ्गलमा घाईते अवस्थामा फेला परेको लोपोन्मुख वन्यजन्तु निल गाईको बाछी उपचारको क्रममा मरेको छ । सोमबार मध्यान्ह श्रीपुरको आँपगाछीस्थित विष्णु रायाको करेसा बारीमा घाईते अवस्थामा निल गाई भेटिएको थियो ।  

छटपटिरहेको अवस्थामा भेटिएको निल गाई उपचारका लागि उद्धार गर्न खोज्दाखोज्दै मरेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक बान्तवाले बताए । बान्तवाका अनुसार गोली लागेर घाईते निल गाईको बाछी छटपटिरहेको अवस्थामा स्थानीयले देखेर सवडिभिजन वन कार्यालय देउरीलाई जानकारी गराएका थिए ।

सवडिभिजनको कर्मचारी टोली घट्नास्थल आईपुग्ने बित्तिकै निल गाई मरेको बान्तवाले बताए । उपचार गर्न नभ्याई मरेको निल गाईको त्रियुगा नगरपालिका ५ का वडाध्यक्ष उद्धव थापाको रोहवरमा डिभिजनन कर्मचारीले सर्जमिन मुचुल्का गरी स्थानीय जङ्गलमा गाडेको बान्तवाले बताए ।  

सवडिभिजन कार्यालयले निल गाईलाई गोली हान्ने व्यक्तिको खोजी गरिरहेको छ । सरस्वती सामुदायिक वन समूहमा निल गाई केहीवर्षयता देखा पर्न थालेका हुन् । चुरे जङ्गलसँग जोडिएको उक्त वन क्षेत्रमा लोपोन्मुख निल गाई देखिन थालेपछि सुरक्षाका लागि केही वर्षयता चरिचरण र घाँस दाउरा गर्न बन्द गरिएको छ ।  

समूहका अध्यक्ष बान्तवाले निल गाई र मयुर आउन थालेपछि उनीहरुको सुरक्षाकै लागि भनेर चरिचरण बन्द गरिएको बताए । श्रीपुर बस्तीसँग जोडिएको वनक्षेत्रलाई ‘मयुर वन क्षेत्र’ घोषणा गर्दै चरिचरन र घाँस दाउरा गर्न रोक्नुका साथै पर्यटकीयस्थलको रुपमा विकसित गर्दै लगिएको उनले बताए ।

प्रकाशित: २० कार्तिक २०८१ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App