२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१ लाख घुससहित दुई प्राविधिक पक्राउ

पाेखरा– सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयले शुक्रबार दुईजना प्राविधिकलाई नगद सहित पक्राउ गरेको छ।

जिल्ला शिक्षा कार्यालय कास्कीमा कार्यरत इन्जिनियर छविन्द्रबिक्रम खाँण र सब इन्जिनियर प्रदीपकुमार बानियाँलाई अख्तियार टोलीले घुस रकम सहित पक्राउ गरेको हो।

अख्तियारका पोखरास्थित कार्यालयका प्रवक्ता रमेश ढकालका अनुसार मादी गाउँपालिका–८ रबैडाँडाको नारायण आधारभूत विद्यालयको भवन निर्माणको सम्पन्नता दिनका लागि प्राविधिकद्वयले निर्माण समूहसँग एकलाख रुपैयाँ घुस मागेका थिए। त्यसपछि विद्यालय भवन निर्माण गरेको समूहले अख्तियारमा उजुर गरेको थियो।

‘हामीले उजुरीको आधारमा प्राविधिकद्वयलाई घुस रकम सहित पक्राउ गरेका हौं,’ ढकालले भने, ‘उनीहरूको साथबाट एकलाख रुपैयाँ नगद फेला परेको छ।’ ढकालका अनुसार बगरमा रहेको शिक्षा कार्यालयका ती प्राविधिक घुसबापतको रकम लिन करिव ३ किलोमिटर टाढा चिप्लेढुंगास्थित डेलिसियस फास्टफुड रेस्टुरेन्टमा आएका थिए। अख्तियारले उनीहरूलाई त्यही रेस्टुरेन्टबाट पक्राउ गरेको उनले बताए।

दुई महिना अघि नै निर्माण सम्पन्न भएको विद्यालयको भवन होचो बनाएको भन्दै सम्पन्ताको स्वीकृतिपत्र दिन प्राविधिकद्वयले मानेका थिएनन्। प्रक्राउ परेका प्राविधिकबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

प्रकाशित: २३ चैत्र २०७४ १०:०७ शुक्रबार

घुससहित दुई प्राविधिक पक्राउ