९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बाढीले वर्षौं लगाएर बनाएको घर बगर

जीवनभर पसिनाको धारा बगाएर बनाएका धेरैका घर यतिबेला बाढीपहिरोले लगेको छ। दसैंको मुखमा धेरैजना घरवारविहीन भएका छन्। कतिपयको बस्ने बास र खानका लागि छाक पनि नभएको अवस्थामा पनि धेरै परिवार घरवारविहीन भएका छन्।

वर्षौंको मेहनत मानिसहरूको भएको सम्पत्ति बाढीपहिरोले क्षणभरमै सखाप गरिदिएको छ। बाढीपहिरोका कारण गोदावरी नगरपालिका– ६ टीकाभैरवस्थित सन्तोष खड्का अझै विक्षिप्त छन्। गत साता तीन दिन परेको अविरल पानीले वर्षौं लगाएर बनाएको सन्तोषको घर बाढीपहिरोले खोलामा पुर्‍याएको छ।

वैदेशिक रोजगारीका लागि दुबईस्थित अलइनमा कार्यरत उनी घर ढल्दा आफू मूर्छित भएको बताउँछन्। विदेशमा परिश्रम गरेर कमाएको आम्दानी बाढीपहिरोले सखाप पारिदिएको छ। सन्तोष मात्र नभएर उनका आफ्नै भाइ पनि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमै कार्यरत छन्।

गत साता शुक्रबार आफ्नो कार्यस्थलबाट दुई घन्टा टाढा रहेका भाइलाई नौ महिनापछि सन्तोष भेट्न जाँदै थिए। उनका अनुसार नेपालमा रहेका परिवारसँग भाइलाई शुक्रबार भेट्न जाने जानकारसँगै राम्रै कुराकानी गत बिहीबार राती भयो।

शुक्रबार आफ्नो ड्युटी सकेर भारतीय एकजना साथीलाई लिई भाइ भेट्न गए। भाइ बस्ने आसपासमै होटलको एक कोठा बुक गरेर मध्यरातमा भाइसँग भेट भएको सन्तोषले बताए।  

‘शुक्रबार दिउँसोदेखि परिवारलाई फोन गरेको गर्‍यै थिएँ, तर फोन लागेको थिएन’, सन्तोषले नागरिकसँग भने, ‘नेपालमा बत्ती गयो होला। त्यसैले कसैको फोन नलागेको भन्ठानें। मध्यरातमा हामी बसेकै होटलमा भाइ आयो। झन्डै आधा घन्टा बस्यो भाइ। भोलिपल्ट शनिबार उठेर पुनः परिवारलाई सम्पर्क गर्न खोजें, फोन लागेन। फेसबुक खोलेर हेर्दा त मेरो सात्तो गयो ।’

डाँको छाडेर रुँदै उनले भने, ‘फेसबुकभर टीकाभैरव मन्दिर बाढीले बगाएको भिडियो धेरै आइरह्यो। मनले मान्दै मानेन। बुबालाई सीधैं फोन गरें। बुबाको भनाइ उधृत गर्दै उनले भने, ‘छोरा, हाम्रो घर रहेन।’

पितासँग यति भन्दै गर्दा नेटवर्कले डाँडा काटिसकेको थियो। नेटर्वककै कारण बाबु–छोराको सम्पर्क विच्छेद भयो। उनी दुबईको होटलमै मुर्छित भए। उनी घरवरपरका साथीभाइ, छिमेकी र सबैलाई हस्याङफस्याङ गर्दै फोन लगाउँछन्, तर फोन भने कसैको लाग्दैन।

‘धेरैजनालाई फोन गरें, तर कसैको फाने लागेन। धड्कन बढिरहेको थियो। विवाह गरेर गएकी रूपा बहिनीलाई फोन गरें’, बहिनीको रुवाइसँगैको आवाज उनले नागरिकसँग भने, ‘दाइ, हाम्रो घर बाढीले लग्यो। एकएक रूपैयाँ जोहो गरी बनाएको घर अब बगर भयो। परिवार सबै सुरक्षित छन्, तर घर छैन ।’ दाजुबहिनीको संवादमा रुवाबासी चल्यो। रूपा मात्रै रोएकी थिइनन्, बहिनी रूपासँगै सन्तोषको पनि आँखाबाट भेल बगिरहेको थियो।

उनका अनुसार घर बगरमा पुगेको छ। त्यो घर बनाउन करिब ७० लाख रूपैयाँ आसपास खर्च भएको थियो। त्यसमा मातापिता लगायत परिवारको पसिनाको धारा बगेको छ। ‘यति धेरै दुःख गरेर बनाएको घर पनि रहेन। भगवान् पनि कति निर्दयी ?’, सन्तोषले दुखेसो पोखे ।

साउदी अरेबिया र दुबईमा गरी सात वर्ष काम गरेर झन्डै ३० लाख भन्दा माथि घरमा खर्च गरेको उनले सुनाए। सन्तोषले कहिल्यै कल्पना गरेका थिएनन् घरभन्दा पर बगेको नल्नु खोलाले उग्र रूप लेला भन्ने ।

बाढीपहिरोले लगेको उनको घरको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो। त्यही भिडियो देखेर पनि झन् मन आत्तिने गरेको पीडित सन्तोषले बताए। वैदेशिक रोजगारीमा दुबईमा कार्यरत अवस्थामा पनि ध्यान भने घरकै मात्रै आउने उनी भन्छन्, ‘आफू बस्ने घर नै बाढीले लगेपछि संसार अन्धकार भएको देख्न थालें। विदेशमा खाना खाँदा नयाँ घरमा मीठोमीठो खाना बनाएर खाएको सम्झनाले झन् धेरै रुवायो ।’

भावुकताले भरिएको आवाजमा उनले अगाडि भने, ‘जतिबेला पनि आँसु आइरहन्छ। आँखाले वरिपरिका मान्छे पनि चिन्दैनन्। कसैले बोलाउँदा ध्यान नदिने भएछु। साथीभाइले धेरै सम्झाए। जति आफूलाई शान्त गर्न खोज्यो, झन् धेरै मन पोल्ने रहेछ।’

नागरिकसँग यति भन्दै गर्दा पनि उनका आँखा भिजिरहेका थिए। उनी बोल्दाबोल्दै रोकिन्छन् अनि आँसु र लामो सास फेर्दै पुनः भन्छन्, ‘भगवान्लाई धेरै पुकारें यो सबै सपना भइदिए पनि हुने भनेर। के गर्नु जे नहुनु त्यही भयो। ममीबुबाले फाटेको कपडा लगाएर हाम्रो खुसीका लागि घर बनाउनुभयो। त्यसैमा हामीले होस्टेमा हैंसे गरिदिएका हौं।’

विदेशमा २०/२२ घन्टा काम गरेर सबै तलब उनी घर पठाउँथे। ‘आफ्नो ज्यानको बाजी लगाएर कति धेरै काम गरें। शरीरलाई आराम पनि चाहिन्छ’, साथीभाइले आफूलाई भनेको कुरा उनले नागरिकलाई सुनाए। उनको मेहनत विदेशमा मात्रै थिएन। उनी सानैदेखि नेपालमा पनि मेहनत गर्थे। करिब ३० वर्षका सन्तोष सोसरहका आफ्ना साथीभाइ अल्लारे उमेर भन्दै रमाइरहेका छन्, तर आफू भने परिवारका लागि सानैदेखि चिन्तित रहने गरेको बताउँछन्।  

बाढीले बगाएको घर बनाउने समयमा सन्तोष आफैं ढुंगा बोक्ने, फुटाउनेदेखि अन्य काम गरेको देखेर समाजमा अरू पनि चकित पर्थे। ‘एक रूपैयाँ खर्च गर्न दशपटक सोच्नुपर्छ। एकएक रूपैयाँ जम्मा गरेर बनाएको घर बगर भयो। मैले जिन्दगीमा धेरै कुराको सामना गरें एकपछि अर्को चटारोले मलाई थिचिरहे। यही हो कि जिन्दगी।’

गत साता आएको बाढीले जगैदेखि उखेलिएको सन्तोषको घर बगरको छेउमा पल्टिएको छ, तर घरको दुई कोठा बाढीले फुटाएको छ। घरभित्रका सामान सबै बाढीले बगाएकाले यतिबेला खड्का परिवारको मन दुःखी भएको छ।

भएको घरजग्गा र सम्पत्ति बगर बनेपछि सन्तोषका परिवार टीकाभैरवनजिकैको पुरानो घरतिर फर्किएका छन्। उनका पिता विश्वराज ढलेको घरवरिपरि पुग्छन्, एकछिन नियाल्छन् र भारी मन लिएर घर फर्कने गर्छन्। आफूले दुःख गरेर बनाएको घर आँखैअगाडि बाढीले लैजाँदा उनको मन पनि बगेको छ। दसैंका बेलामा आफूलाई दशाले घेरेको उनी बताउँछन्।

घर बनाएको लगानी र घरभित्र भएको सामान गरी भन्डै ८०/९० लाख रूपैयाँ नोक्सान भएको सन्तोषका पिता बताउँछन्। ‘खोलाभन्दा धेरै माथि थियो हाम्रो घर, तर अब खोला त्यतिमाथि आउँछ भन्ने कल्पना पनि गरेका थिएनौं। घरको जगमुनिकै माटो बाढीले लगेपछि घर ढलायो। जमिन सबै बगर भयो। क्षतिको कुरै नगरौं। जिन्दगी भरको कमाइ बग्यो’, सन्तोषका पिताले नागरिकसँग भने। घरभन्दा परबाट बग्ने भएकाले खोला घरसम्म आइपुग्ला भन्ने कल्पनासम्म नगरेको सन्तोषका बुबाले बताए।

उनका अनुसार नल्नु खोलामा २०३८ सालमा पनि बाढी आएको थियो। धानबालीमा क्षति गरे पनि जग्गाजमिन धेरै बिगारेको थिएन। अहिलेजस्तो मानवीय क्षति पनि त्यति धेरै भएको थिएन। तैपनि उनले हार मानेका छैनन्। बालबच्चा सक्षम भइसकेकाले उभिने ठाउँ बनाउन सक्ने आँट सन्तोषका पितासँग छ।

‘सपरिवार सकुशल छन्। सानैदेखि संघर्ष गरिरहेको भएर होला, संघर्ष गर्न कुनै गाह्रो लाग्दैन। संघर्ष गर्न छाड्नु हुन्न। विस्तारै गर्दै जान्छु। अहिलेका लागि बाजेबराजुले जस्तै माटोका घरमा बसेर दाउरा बालेर पकाउँला खाउँला’, सन्तोषले दुबईबाट सामाजिक सञ्जालमार्फत नागरिकसँग भने ।

प्रकाशित: २१ आश्विन २०८१ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App