१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दर्जनौं विद्यालय बगाएपछि सर्लाहीका दुई पालिकामा पठनपाठन अनिश्चित

सर्लाहीको बलरा नगरपालिका र रामनगर गाउँपालिकाका दर्जनौँ विद्यालय बगाएपछि बालबालिकाको पठनपाठन अनिश्चित भएको छ । घटस्थापना हुनुभन्दा पहिलेदेखि नै बाढीको कारण ठप्प रहेका दुई दर्जनभन्दा बढी विद्यालय कोजाग्रत पूर्णिमापछि पनि चल्ने-नचल्ने निश्चित छैन ।  

बलरा नगरपालिकाको वडा नम्बर १,२, ३ र ४ का विभिन्न विद्यालयमा चारदेखि पाँच फिटसम्म पानी जमेको नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको भनाइ छ । कक्षाकोठामा नै पानी जमेकोले बालबालिकाको लागि ओछ्याएको कार्पेट, म्याटलगायत विभिन्न शैक्षिक सामग्री पूर्णरुपमा नष्ट भएको नगर प्रमुख कुशवाहाको भनाइ छ ।

बलरा १ सेढवामा रहेको प्राथमिक विद्यालयका प्रधानाध्यापक जंगबहादुर सहनीले विद्यालयमा महिनौँसम्म पढाइ हुने अवस्था नरहेको बताएका छन् । विद्यालयसम्म पुग्ने बाटो नै बाढीले बगाएको र विद्यालयभित्रको फर्निचर तथा दराज र पुस्तक तथा स्टेशनरीहरु कैयाँैँ दिनसम्म पानीमा डुबेकाले सबै सखाप भएको स्थानीय विनय यादवको भनाइ छ ।

नगर प्रमुख कुशवाहाले नगरका १८ विद्यालय पूर्णडुबानमा परेको र सबै विद्यालयमा बालबालिकाका लागि बसाईँ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । नगरपालिकाले विद्यालयमा भएको क्षतिको विवरण संकलन गरिरहेको कुशवाहाको भनाइ छ ।

यसैगरी रामनगर गाउँपालिकाको सबै वडामा बाढीले क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष राजाबाबु यादवले बाढीले विद्यालयमा व्यापक क्षति पु¥याउँदा बालबालिका फेरि विद्यालय बाहिर पुग्ने हो कि भन्ने चिन्ता लागेको बताउँछन् । गाउँपालिकाको नौ ओटा विद्यालयसम्म पुग्ने वातावरण नरहेको र दशैँ विदामा कम्तीमा विद्यालयसम्म पुग्ने बाटो बनाउने प्रयासमा पालिका लागेको बताउँछन् ।

बलरा र रामनगर गरी दुवै पालिकाका अधिकांश प्राथमिक विद्यालयमा सबैभन्दा बढी क्षति भएको देखिएको छ । विपन्न, दलित समुदाय पढ्ने विद्यालयहरुमा सबैभन्दा बढी क्षति भएको र विद्यालयलाई पूर्ववत अवस्थामा ल्याउन धेरै समय र धेरै पैसा खर्च हुने देखिएको छ । 

प्रकाशित: १८ आश्विन २०८१ १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App