२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

छैटौं एसियाली जनसंख्या सम्मेलन मंसिरमा

जनसांख्यिकीय प्रभाव र अवसरमा केन्द्रित हुने

नेपालको जनसंख्या र विकासको भविष्यका लागि छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने तय भएको छ। आउँदो मंसिर १२ देखि १५ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपाल तथा एसिया क्षेत्रमा देखिएका वर्तमान जनसांख्किीय संक्रमण, जनसंख्या र यसको विकासमा देखिने भावी प्रभावबारे विज्ञहरूले मन्थन गर्नेछन्।

नेपालको सन्दर्भमा जनगणना ०७८ को नतिजा र विभिन्न सर्वेक्षणअनुसार नेपालमा ठूलो जनसांख्किीय परिवर्तन भएको देखिन्छ। नेपालको प्रजनन दर प्रतिस्थापन स्तर २.१ मा पुगको छ। जनसंख्या वृद्धिदर वार्षिक ०.९२ प्रतिशतमा झरेको छ।

निर्भरता अनुपात ६० प्रतिशतभन्दा तल छ। नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि भएर सात प्रतिशत पुगेको छ। अब नेपाल ज्येष्ठ नागरिकको समाजमा प्रवेश गरेको छ। यी तथ्यले नेपाल जनसांख्यिकीय लाभांशको अवसर प्रयोग गर्न लागिरहेको छ।

यसैबिच नेपाल जीवनस्तर सर्वेक्षणको चौथो चरण पनि पूरा हँुदै छ, जसले गरिबी र आर्थिक विकासमा जनसांख्यिकीय परिवर्तनको प्रभावलाई अपेक्षित रूपमा चित्रण गर्ने जनसंख्याविद् एवं त्रिवि जनसंख्या केन्द्रीय विभागका प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङले बताए। यो सम्मेलनले विज्ञ, नीति निर्माता, सरकारी अधिकारीहरूका लागि प्रमुख मञ्चका रूपमा काम गर्ने छ।

‘नेपालका लागि यो सम्मेलन वर्तमान जनसांख्यिकीय संक्रमण र जनसंख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने र उनीहरूका अनुभवबाट सिक्ने अवसर हो’, गुरुङले भने ,‘राष्ट्रिय तथ्यांक कार्यालयले नेपाली जनगणनाको १२औं शृंखला २०२१ को जनसंख्या तथा आवास जनगणनाका सबै तथ्यांक सार्वजनिक गरेको छ। हाल कार्यालयले जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रिविसँग सहकार्य गरी जनगणना तथ्यांकको विश्लेषण गरी करिब दुई दर्जन विषयगत प्रतिवेदन उत्पादन गर्ने काम गरिरहेको छ।’

गुरुङले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सम्पन्न भइसकेको र सम्मेलनमा तथ्यांकको थप विश्लेषण हुने अपेक्षा सम्मेलनबाट गरिएको बताए। उनका अनुसार नेपालमा हुने उक्त सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसांख्यिक समस्या, पहिचान र सुझावसहितको नीतिनिर्मातालाई भविष्यको जनसंख्यासम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्छ।

यसैबिच नेपाल जीवनस्तर सर्वेक्षणको चौथो चरण पनि पूरा हुँदै छ, जसले गरिबी र आर्थिक विकासमा जनसांख्यिकीय परिवर्तनको प्रभावलाई अपेक्षित रूपमा चित्रण गर्ने नै छ। यसबारे पनि सम्मेलनम अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूबिच छलफल हुने अपेक्षा गरिएको छ।

तसर्थ, सम्मेलनले नेपालको जनसंख्या र विकासको भविष्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने ठूलो अवसर बन्ने छ। जनसंख्या केन्द्रीय विभाग कीर्तिपुर र नेपाल सरकारको सहभागितामा आयोजना गरिने उक्त सम्मेलनले जनसंख्या क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूबिच अनुसन्धान र उत्कृष्ट अभ्यास अन्वेषण गर्न र विस्तार गर्न प्रोत्साहन गर्ने उद्देश्य सम्मेलनले लिएको छ।

साथै नीति, योजना, अनुसन्धान, शिक्षण, अनुगमन तथा मूल्यांकन र अन्य सान्दर्भिक गतिविधिसहित सेवा क्षेत्रमा जनसंख्या र दिगो विकासका मुद्दा सरकारी संस्था, विश्वविद्यालय, विकास संस्था र अन्य सरोकारवालाबिच प्रस्तुत गर्ने–गराउने, नेपालको विकास एजेन्डालाई थप प्रवद्र्धन गर्न प्रमाणमा आधारित राष्ट्रिय नीति प्रवद्र्धन र वकालत गर्ने उद्देश्यका साथ प्रमुख विकासका क्षेत्रमा भएका कमीलाई पूरा गर्ने, जनसंख्या र विकासका विषयमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई आफ्ना अनुभव आदानप्रदान गर्न मञ्च उपलब्ध गराउने र शैक्षिक र नीतिका आधारका रूपमा प्रयोग गर्न सकिने उत्कृष्ट अभ्यास र अनुसन्धान निष्कर्ष दस्ताबेजीकरण गर्ने मुख्य लक्ष्य रहेको जनसंख्या केन्द्रीय विभागले जनाएको छ।

सम्मेलनमा जनसंख्या र विकाससँग जोडिएका १७ विषयवस्तुमा प्रस्तुतीकरण गरिने छ। सम्मेलनका लागि हालसम्म अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गरी कुल तीन सय बढीले दर्ता गराइसकेका छन्। शिक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, तथ्यांक कार्यालय, संयुक्त राष्ट्र जनसंख्या कोष र नेपाल जनसंख्या संघका प्रतिनिधिसहितको सहजीकरण समिति गठन गरी सम्मेलन आयोजना कार्य अघि बढेको छ। सम्मेलनमा एक हजार तीन सय सहभागी हुने अनुमान गरिएको छ।

प्रकाशित: १७ आश्विन २०८१ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App