१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

इटहरीमा खानेपानीको संकट थपिंदै

इटहरीमा अब तत्काल खानेपानीको समाधान गर्न पहल नगरे थप संकट निम्तिने भएको छ। खानेपानी संकट समाधान गर्नकै लागि पछिल्लो समय तीनवटा खानेपानी आयोजना सुचारु भए तापनि अरु पानीको क्षमता बढाएर धारा जडान नगरेमा संकट निम्तिने निश्चित छ।

इटहरीमा अहिले इटहरी खानेपानी उपभोक्तासँगै तरहरा, पकली र खनार खानेपानी आयोजना रहेका छन्। इटहरी खानेपानी उपभोक्ता समितिमार्फत भने सबैभन्दा बढी उपभोक्ता लाभान्वित भएका छन्।

उपभोक्ता समितिमार्फत दैनिक दुई करोड १६ लाख लिटर पानी उत्पादन गर्ने गरिएको छ। यहाँबाट दैनिक प्रतिघर आठ सय लिटर पानी वितरण गर्ने गरिएको छ। इटहरी खानेपानी उपभोक्ता समितिमार्फत इटहरीका नौवटा वडामा पूर्ण र पाँचवटा वडामा आशिंक घरमा पानी वितरण हुने गरेको छ। जसमा वडा नं. २, ३, ४, ५, ६, ७, ८ र ९ मा पूर्ण रूपमा र वडा नं. १, १०, १४, १६ र १७ वडामा आशिंक घरमा पानी वितरण गर्ने गरिएको छ।

इटहरी खानेपानी उपभोक्ता समितिले हिउँदमा पाँचवटा बोरिङ थपेर तीन हजार धारा जडान गर्ने लक्ष्य राखेको छ। यदि बोरिङ नथपिएको अवस्थामा नयाँ घर बन्दा कुनै पनि घरमा धारा जडान गर्न सक्ने अवस्था नभएको खानेपानी उपभोक्ता समितिका व्यवस्थापक हरि कट्वालले भने। ‘अब क्षमता विस्तार नगरीकन नयाँ कुनै एउटा घर बन्यो भने पनि पानी दिन सक्ने अवस्था छैन,’ कट्वालले नागरिक समाज इटहरीले सरोकारवालासँग गरेको छलफल कार्यक्रममा भने, ‘अहिले पनि केही अग्लो घरमा पानी नचढ्ने समस्या छ।’

तरहरा खानेपानी आयोजनाले दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन गरी वितरण गर्ने गरेको छ। यहाँबाट वडा नं. २० मा पूर्ण रूपमा र वडा नं. १९ को केही भाग तथा वडा नं. १ का एक सय ५० घरमा कुल एक हजार २६० धारा जडान गरेको छ।

यस्तै खनार खानेपानी आयोजनामार्फत दैनिक दुई लाखभन्दा बढी पानी उत्पादन गरी वितरण गर्ने गरिएको छ। यहाँबाट वडा नं. १२ र १३ को पूरै भाग तथा वडा नं. ११ को आशिंक भागमा पानी वितरण गर्ने गरिएको छ। यी तीनवटा वडामा नौ सय हाराहारी धारा जडान गरिएको छ।

पकली खानेपानी आयोजनामार्फत दैनिक १६ लाख लिटर पानी उत्पादन भएर वितरण हुने गरेको छ। यस आयोजनामार्फत रामधुनी वडा नं. ३ सहित इटहरीको वडा नं. १६, १७ र १८ मा एक हजार चार सय घरधुरीमा धारा जडान गरी पानी वितरण हुँदै आएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ५० हजार तीन सय ५० घरधुरी र एक लाख ९७ हजार २४१ जनसङ्ख्या रहेको छ। तर, इटहरीका नौवटा बाहेक अरू वडामा भने पूर्ण रूपमा सबै घरमा खानेपानी पुगेको छैन्। अहिलेसम्म २७ हजार ६० घरमा अझैसम्म धारा जडान हुन सकेको छैन। सबैभन्दा बढी अभाव वडा नं. १५ मा रहेको छ। पानीको अभाव भएको स्थानमा खानेपानी आयोजनाले कसरी पानी पुर्‍याएर उपभोक्तालाई सेवा दिने भनेर योजना त बनाउनै पर्छ। इटहरी उपमहानगरपालिकाले पनि एशियाली विकास बैंकसँगको सहकार्यमा २० वटै वडामा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खानेपानी पुर्‍याउने लक्ष्य राखेको छ। यो लक्ष्य कहिलेसम्म पूरा हुन टुंगो लागेको छैन्।  

प्रकाशित: १५ आश्विन २०८१ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App