भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको गरेका छन्।
साेमबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उनले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन्।
उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको बताए।
भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए। बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २०९ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि २९ जना बढी बेपत्ता छन्।
अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ।
गुरुङले यसअघि डा. भगवान् कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए। उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ।
अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए। त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए।
कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए। त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए। ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन्।
गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन्। रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन्।
उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरू सो बापत केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए।
प्रकाशित: १४ आश्विन २०८१ २०:२६ सोमबार