१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

चाउचाउको प्याकेटमा ‘हेक्सो ब्लेड’ पुर्‍याइएदिए पछि फरार भएका थिए नौजना थुनुवा

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवाले हेक्सो ब्लेडको प्रयोग गरेको खुलेको छ।

थुनुवालाई खाजा पुर्‍याउने बहानामा चाउचाउको प्याकेटभित्र हेक्सो ब्लेड राखेर हिरासत कक्ष पुर्‍याउने एकजना व्यक्ति पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ बलवाटोलका १९ वर्षीय दिपेश मुखिया रहेको धनुषा प्रहरीले जनाएको छ।

मुखिया धरौटीमा छुट्ने भएपछि फरार भएका नौं जना थुनुवाहरूले मुखियासँग मिलेमतो गरेर थुनुवा कक्षमा हेक्सो  ब्लेड छिराउने योजना बनाएको खुलेको प्रहरीले बताएको छ।

अभद्र व्यवहार मुद्दामा प्रहरीको हिरासतमा रहेका मुखिया एकसाता अघि मात्रै धरौटीमा रिहा भएका थिए।

योजना अनुसार मुखिया धरौटीमा बाहिर निस्केपछि ती थुनावाहरूलाई खाजा दिने बहानामा चाउचाउको प्याकेटमा हेक्सो ब्लेड पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक प्रहरीले बताएका छन्।

उनका अनुसार ६ गते राति फरार भएका थुनुवा र हेक्सो ब्लेड दिने मुखिया पहिलादेखि कै चिनजानका साथी रहेको पनि खुलेको छ।

‘हिरासतमै हुँदा तिनीहरूले शौचालयको रड काट्नका लागि हेक्सो ब्लेड ल्याउने योजना बनाएका रहेछन्’, प्रहरीले भने, ‘मुखिया पूर्वयोजना अनुसार धरौटीमा छुटिसकेपछि उनीहरूलाई खाजा दिने बहानामा चाउचाउको प्याकेट भित्र दुई टुक्रा पारेर हेक्सो ब्लेड राखी फेभिकलले चाउचाउ प्याकेट पुनः बन्द गरी हिरासत कक्षमा पुर्‍याएका थिए।’

त्यहीँ दुई टुक्रा हेक्सो ब्लेडले थुनुवा कक्षमा रहेको शौचालयको भेन्टिलेसनमा लागेको रड काटेर असोज ६ गते राति ९ जना थुनुवा फरार भएका थिए।

तर, थुनुवा फरार भएको खबर प्रहरीले पाए लगतै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी पक्राउ गरेको थियो।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले तीनजना प्रहरीलाई निलम्बित गरेको छ। असोज ६ गते हिरासत कक्षको निगरानीमा बसकेका तीनजना प्रहरीलाई निलम्बन गरिएको हो।

प्रकाशित: १४ आश्विन २०८१ १०:३० सोमबार

#dhanusha