७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

धान उत्पादन वृद्धि गर्न बाली प्रतियोगिता

खजुरामा लगाइएको धान । तस्विरः गणेश/नागरिक

व्यावसायिक रुपमा कृषि क्षेत्रमा संलग्न किसानलाई प्रोत्साहन गर्न र स्वदेशी बीउ प्रयोग बढाउन बाली प्रतियोगिता आयोजना गरिएको छ।

धानको उत्पादन, उत्पादकत्व र किसानलाई थप व्यावसायिक बनाउन खजुरा गाउँपालिकाले वार्षिक बाली प्रतियोगिता कार्यक्रमअन्तर्गत उक्त प्रतियोगिता आयोजना गरेको हो ।

यसलाई कृषि क्षेत्रको एउटा महत्त्वपूर्ण कार्यक्रमका रुपमा हेरिएको छ । अन्नको भण्डार मानिने तराईका खेतीयोग्य जमिन मासिँदै जाँदा उत्पादकत्व घट्दो क्रममा छ ।

अहिले खेतीयोग्य जमिन घडेरीको रुपमा ‘प्लटिङ’ भएका छन् । जसले खेतीयोग्य जमिनमा बस्तीहरू निर्माण भएका छन् । वास्तविक किसानलाई सरकारले उचित प्रोत्साहन र आवश्यक सहयोग गर्न नसकेको भन्दै किसान पनि कृषि पेसाबाट पलायन हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा किसानलाई कृषि पेसामा प्रोत्साहन र उत्साहित गर्न खजुरा गाउँपालिकाले सकारात्मक प्रयास गरेको छ । 

खजुराले आयोजना गरेको बाली प्रतियोगिताले किसानमा राम्रो सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ । यस प्रतियोगिताबाट वास्तविक किसान नै सम्मानित हुने हुँदा किसान पनि खुसी देखिएका छन् । यो प्रतियोगिताले व्यवस्थित रुपमा धान खेतीमा लाग्न किसानलाई प्रेरित गर्ने खजुरा गाउँपालिकाका सूचना अधिकारी प्रदीप सुनारले जनाए ।

‘धान लगाउँदा सम्मानित भइन्छ भन्ने भावना किसानमा जाग्छ,’ उनले भने, ‘जसले गर्दा धान उत्पादन वृद्धि हुन्छ भने आयातित चामलको प्रयोग कम हुन्छ ।’ पोषणयुक्त चामल उपभोग गर्नुसँगै यहाँको पैसा गाउँका किसानसम्म पुग्ने उनको भनाइ छ । बाली सुधार्न किसानले गुणस्तरीय बीउ प्रयोग गर्ने र प्राविधिक सल्लाहअनुसार सही ढंगले खेती गर्ने हुँदा बाली उत्पादनमा समेत सुधार आउने उनी बताउँछन् ।

यो कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी चार जना सम्मानित हुने खजुरा गाउँपालिकाअन्तर्गत कृषि शाखाकी प्राविधिक सहायक पुनम पोखरेलले जानकारी दिइन् । जसमा क्रमशः दश, सात, पाँच र तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ । उनका अनुसार किसानले सूचिकृत भएका स्वदेशी उन्नत जातको धान लगाउनु पर्ने छ ।

यसमा सबै किसान सहभागी हुन पाउने छैनन् । जसका लागि कृषकले अनिवार्य रुपमा कम्तीमा १० कठ्ठा जमिनमा धान लगाएको हुनुपर्ने । प्रतियोगीले कम्तीमा सात दिन अगावै कृषि प्राविधिकसँग बाली काट्ने दिनको निश्चित गर्नुपर्ने छ ।

‘कृषकले जानकारी गराएपछि कृषि प्राविधिक धान काट्ने बेला खेतमै गएर मूल्याङ्कन गर्नुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरूले तयार पारेको मापदण्डअनुसार मूल्याङ्कन गर्नुहुन्छ ।’ यसले वास्तविक किसानकै मूल्याङ्कन राम्रो हुने उनको विश्वास छ । कृषि प्राविधिकले नमुनाको लागि छनोट गरेको जग्गाबाट मात्र बाली काट्न र चुट्न पाइने उनको भनाइ छ । उनका अनुसार कृषि प्राविधिकको अनुमतिबिना तोकिएको समयबाहेक अरु समयमा बाली काट्न पाइने छैन ।

१३ हजारभन्दा बढी घरधुरी रहेको खजुरामा ७० प्रतिशत  भन्दा बढी घरधुरी धान खेती गर्छन् । एक सय एक दशमलब ९१ वर्ग मिटरमा फैलिएको खजुराको ७८ प्रतिशत   भन्दा बढी क्षेत्र खेतीयोग्य जमिन भएको कृषि शाखाले जनाएको छ । जसमध्ये ६५ प्रतिशत क्षेत्रलाई ‘कृषि जोन’ का रुपमा विकसित गरिएको कृषि शाखाकी प्राविधिक सहायक पोखरेलले जानकारी दिइन् । 

प्रत्येक वर्ष बाली भित्राउने  समयमा यो बाली आयोजना हुँदै आएको छ । धान उत्पादन, उत्पादकत्व र नाफा बढाउन राम्रा धानका प्रजातिहरू, खेती गर्ने तरिका, भित्राउने तरिकासँगै चुस्त व्यवस्थापकीय अभ्यास प्रयोग गरेर धानमा आधारित कृषि खाद्य प्रणालीसँग जोड्ने विशेष ज्ञान आवश्यक पर्ने यहाँका किसानको भनाइ छ । प्रशिक्षणको अभाव, जलवायु परिवर्तन र मौसमी भिन्नताले हुने वर्षा आदिका कारणले धान खेतीबाट किसानले नोक्सानी व्यहोर्ने गरेका छन् । यसलाई समेत सम्बोधन गर्नुपर्ने उनीहरु बताउँछन् ।

प्रकाशित: १२ आश्विन २०८१ १६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App