५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गाउँबस्तीमा प्रदूषण फैलाउँदै चाइना कम्पनी !

पूर्व–पश्चिम राजमार्गअन्तर्ग कञ्चनपुर–कमला सडक योजनाको कमला पुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये करिब ४५ किलोमिटर सडकखण्डको नियति हो-घाम लागे धुलो, पानी परे हिलो। चार वर्षअघि यस सडकको विस्तार तथा निर्माणको काम अघि बढेपछि यस क्षेत्रका बासिन्दा र यस सडकका यात्रुले धुलो र हिलोसँग दैनिकी बिताउनुपरेको छ। खासगरी लहान र मिर्चैयाका बासिन्दका लागि धुलोमय सास फेर्नु ‘निर्विकल्प’ स्थिति  भएको छ।

सडक विस्तारका क्रममा भत्काइएका संरचना अलपत्र छाडिएका छन्। भत्काइएका नाला पनि त्यतिकै छन् । नाला व्यवस्थित नहुँदा पसल, घरअगाडिको सडकमा फोहोर पानी जम्मा भएर दुर्गन्ध फैलिरहेको स्थानीय रूपेश यादवले बताए। ‘विस्तार गरिएको कच्ची सडकमा पानी नछर्किंदा धुलोले घर भरिन्छ,’ उनले भने, ‘धुलोमा सास फेर्नुपर्ने बाध्यता छ। एक महिनादेखि घाँटी खसखसाएर खोकी बल्झेर हैरान छु। डाक्टरले धुलोसँग बच्नुस् भन्छ। घरभरि, सहरभरि धुलोको तुवाँलो भरिएपछि कसरी बच्नु ?’

ठेकेदार कम्पनीको लापरबाही र नियामक निकायको उदासीनताले यहाँका जनतामाथि थपिएको हैरानी, स्वास्थ्यमा पारेको असरको कुनै हिसाब छैन। व्यक्तिगत र व्यावसायिक दैनिकी नै बिथोलिएको छ। तथ्यांक उपलब्ध हुने भए यसबाट व्यक्तिको सिर्जनशील क्षमता र उत्पादकत्वमा आएको ह्रासको विवरण अवश्य दिक्कलाग्दो देखिन्थ्यो। यस्तो सडकमा उभिएर जोकोहीले पनि निर्माणसँग सम्बन्धित पक्षप्रति सकारात्मक प्रतिक्रिया दिन कठिन हुन्छ।

बरु आक्रोश प्रस्फुटन हुन्छ। अहिले त्यस सडकखण्डमा यात्रा गर्ने यात्रु वा त्यसवरपर बस्ने बासिन्दा त्यस्तै मनस्थितिमा छन्क। सिरहाको मिर्चैयावासीले त कैयौंपटक सडकमा यातायात बन्द गरेर आक्रोश पोखिसकेका छन्। लहानमा पनि आक्रोश बढ्दो छ। कञ्चनपुर–कमला सडक योजना कार्यालयका अनुसार २९ अक्टोबर २०२० मा चाइना नम्बर २ इन्जिनियरिङ ग्रुपसँग ८६.८२ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने योजना सम्झौता गरेको थियो। सो योजनाअन्तर्गत ५४ पुल, आठ अन्डरपास र दुई फ्लाई ओभर निर्माण गर्ने योजना अघि सारिएको थियो। 

यो योजनाको काम २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर सो अवधिमा योजनाको ३० प्रतिशत काम मात्र भएपछि पहिलो पटक २८ डिसेम्बर २०२४ सम्म सक्ने गरी म्याद थप गरिएको योजनाका प्रमुख उज्ज्वल श्रेष्ठले भने।  यो आयोजनाको निर्माण लागत १५ अर्ब ६६ करोड ४४ हजार नौ सय ३८ रूपैयाँ राखिएको छ। यो योजनाअन्तर्गत चार लेनको सडक ७०.३३ किलोमिटर, ६ लेनको सडक १६.४९ किलोमिटर र दुई लेनका ५४ पुल निर्माण हुनेछन्। यो योजनाअन्तर्गत आठवटा अन्डरपास निर्माण गरिँदैछ। 

कञ्चनपुर–कमला सडक योजनाको पूर्वी खण्ड ३९.४२ किलोमिटरमा कालोपत्रे गर्ने लक्ष्य छ। ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिँदैछ। ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य छ । यो योजनाअन्तर्गत २९ वटा पुल र दुईवटा अन्डरपास निर्माण हुँदैछ। कञ्चनपुर कमला सडक योजना पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ। १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार र स्तरोन्नति गरिनेछ। यो खण्डमा २५ वटा पुल निर्माण गरिने भएको छ। चार लेनको सडकको इन्टरसेक्सनमा सडकको तहभन्दा माथि दुई ओभरपास निर्माण गरिँदैछ । तीमध्ये एउटा लहान र अर्को मिर्चैयामा निर्माण गर्ने योजना छ।  

सुस्त गतिमा काम

चाइना रेल्वे इन्जिनियरिङ नम्बर २ ग्रुप कम्पनी लिमिटेडले अहिले कञ्चनपुर–कमला सडक योजनाको पूर्वी र पश्चिमी खण्डको करिब ५४ प्रतिशत काम मात्र गरेको श्रेष्ठले बताए। ‘अहिलेसम्म न्यूनतम ६५ प्रतिशत काम सक्ने लक्ष्य थियो,’ योजना प्रमुख श्रेष्ठले नागरिकसँग भने, ‘कामको गति हेर्दा थपिएको म्यादभित्र पनि सम्पन्न हुन नसक्ने निश्चित भएको छ।’  

प्रदूषणको तुवाँलो

धुलो र तुवाँलोले मानिसको दैनिकीदेखि होटल, नास्ता व्यापार, आउजाउसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुमण्डलमा पिएम २.५ को स्तर वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएको छ। हावामा रहेका धुलोका सूक्ष्म कणहरूलाई पिएम २.५ भनिन्छ।

नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भए गुणस्तरीय वायु भनेर तोकेको छ। अमेरिकाको युनिभर्सिटी अफ सिकागोले दुई वर्षअघि स्याटेलाइट माध्यमबाट गरेको अध्ययनअनुसार मधेस प्रदेशका जिल्लाहरूमा न्यूनतम ६८ देखि ८१.७ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को स्तर पाइएको छ। नेपालमा देखिएको यो स्तरको प्रदूषण मानव स्वास्थ्यका लागि सबैभन्दा ठुलो खतरा रहेको उक्त रिपोर्टमा उल्लेख छ। कमला–कञ्चनपुर सडक योजनाअन्तर्गत सडक निर्माण अवधिमा धुलो उड्न नदिन नियमित पानी हाल्नुपर्ने सम्झौतामै उल्लेख छ। 

तर सो बुँदा पालना भएको छैन । सम्झौता पालना गराउन सप्तरीको कुसहादेखि सिरहाको लहानलगायत क्षेत्र हेर्न इन्जिनियर विनोद चौधरीलाई नियुक्त गरिएको छ। तर उनले नियम र सम्झौता पालना गराउनुको साटो ठेक्केदारकै पृष्ठपोषणमा लागेको स्थानीयको आरोप छ । चौधरीले भने, ‘निर्माण नसकिएसम्म धुलो त उडिहाल्छ नि। अनि डाइभर्सनमा गाडी चलेपछि खाल्डो पनि हुन्छ ।’ योजना कन्सल्टेन्ट इन्जिनियर अरूण मिश्रले केही समय कामदार र ठेक्केदारबीचको विवादले पानी छर्किने काम प्रभावित भएको बताए।

योजना प्रमुख श्रेष्ठका अनुसार ठेक्केदार कम्पनीले धुलो नियन्त्रणका लागि नियमित पानी छर्किनुपर्ने सम्झौतामा भएको बताए। उनले भने, ‘हामीले नियमित पानी छर्किन ठेक्केदार कम्पनी र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेका छौं। धुलोका खतरनाक कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्।

प्रकाशित: ३१ भाद्र २०८१ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App