६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

जैविक मार्गमै मारिन्छन् वन्यजन्तु !

वसन्ता क्षेत्र

जानकी गाउँपालिका– ९, स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहमा पासेमा परेर मृत अवस्थामा भेटिएको वयस्क पोथी बाघ । तस्बिर सौजन्य: जमुना न्यूरे

वसन्ता र कर्णाली चिसापानी करिडोर क्षेत्रमा वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको छ। पछिल्लो समय चोरी सिकारी र पासोमा परेर पाटेबाघ, चितुवा लगायतका वन्यजन्तुहरूको मृत्यु हुने घटना बढ्दै गएका छन्।

यस करिडोरले भारतको दुधुवा नेसनल पार्क र कतर्निया घाटसँग सिधा सम्पर्क राख्ने भएकाले वन्यजन्तुहरू सहज रूपमा आवतजावत गरिरहन्छन्। तर मानव अतिक्रमण र चोरी सिकारीका कारण यहाँका वन्यजन्तु असुरक्षित बन्दै गएका छन्।

घटना- एक

जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा २०८० माघ ७ गते पासोमा परेर वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटियो। पासो र काँडेतारले घाँटीमा लपेटिएर बाघको मृत्यु भएको थियो। 

घटना- दुई

घोडाघोडी नगरपालिका–१० मा रहेको तुल्सीपुर सामुदायिक वनमा २०७८ चैत १७ गते पासोमा परेर घाइते भएको चितुवाको उद्दार टोली ढिला पुग्दा मृत्यु भयो।  

घटना- तीन

भजनी नगरपालिका–२ को वनदेवी सामुदायिक वनमा २०८० माघ २० गते वयस्क भाले चितुवा मृत अवस्थामा भेटियो। चोरी सिकारीका कारण चितुवाको मृत्यु भएको हुनसक्ने संरक्षणकर्मी बताउँछन्।  

घटना- चार

टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा २०७९ असार ५ गते मोटरसाइकलको ब्रेकको तारलाई पासो बनाएर थापिएको थियो। सोही पासोमा परेर वयस्क पाटेबाघको मृत्यु भयो।

वसन्ता करिडोर ८३ हजार ४३८.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो क्षेत्र संकटापन्न वन्यजन्तुको प्रमुख वासस्थान हो। तर पछिल्लो समय अतिक्रमणको कारण वन्यजन्तुको सुरक्षामा समस्या उत्पन्न भएको छ।

भारतबाट नेपालमा आउने बाघको ओहोरदोहोर गर्ने मुख्य बाटोमै घर टहरा निर्माण भएका छन्, जसले वन्यजन्तुको बासस्थानलाई खतरामा पारेको छ। 

यही करिडोरमा पटक-पटक वन्यजन्तु चोरी सिकारी हुनुका साथै पाटेबाघ पासोमा परेर मरेका घटना बाहिर आइरहेका छन्।

वसन्ता संरक्षित क्षेत्र चुरे हुँदै भावरदेखि तराईको फाँट भएर भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको छ। यहाँ वन्यजन्तुलाई विचरण गर्न सहज हुने गर्छ।

साथै, यस करिडोर क्षेत्रमा धेरै ताल तलैया रहेका छन्। जहाँ पानी पिउन पनि वन्यजन्तुलाई सहज छ। पछिल्लो समय वसन्ता संरक्षित क्षेत्रमा अतिक्रमण व्यापक रुपमा बढेका छ।

२०६४ सालमा मोहना नदीको बाढीले वसन्ता वन क्षेत्रमा अत्यधिक क्षति पुर्‍याएको थियो। मोहनाको बाढीले कैलालीको साविकका रामपुर, हसुलिया, रतनपुर र लालबोझी गाविसका विभिन्न गाउँ प्रभावित बनेका थिए।

रामपुर, रतनपुर, विलासपुर, भुइँयाफाँटा गाउँ बाढीबाट प्रभावित भएपछि यहाँका स्थानीयले वसन्ता क्षेत्रलाई अतिक्रमण गर्न थाले। जुन क्षेत्र बाघको नियमित ओहोर दोहोर गर्ने बाटोमा पर्दछ।

त्यही बाघको बाटोमा अहिले गाउँ बन्दा बाघलगायत वन्यजन्तु मारिँदै आएको वसन्ता संरक्षित वन परिषद्का अध्यक्ष पुष्कलबहादुर बम बताउँछन्।

भारतबाट नेपालमा जोडिने वसन्ता करिडोर अर्थात् बाघ हिँड्ने बाटोमै अहिले करिब एक हजार ५ सय बढी घर टहरा निर्माण गरिएका छन्। जसले आफ्नै बाटोबाट हिँड्दै गर्दा अतिक्रमणकारीले थापेको पासोमा परेर वन्यजन्तु मर्ने गरेको सव-डिभिजन वन कार्यालय वसन्ताका प्रमुख श्यामसुन्दर माझी सुनाउँछन्।  

वसन्ता संरक्षित क्षेत्र अतिक्रमण गरी बस्ती बसेपछि करिडोर क्षेत्रमा वन्यजन्तु असुरक्षित बन्दै गएको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए।

‘यही जंगलमा पाटेबाघ विचरण गर्नुका साथै डमरु हुर्काउन आउने गर्छ,’ उनी भन्छन्, ‘जंगलका नजिक बस्ती बसेका कारण वन्यजन्तु मारिनुका साथै चोरी सिकारी बढेको छ।’ बस्ती नजिक भएर बाघ हिँडडुल गर्ने भएकाले पनि स्थानीयले थापेको पासोमा पाटेबाघ, चितुवा लगायतका वन्यजन्तु पर्ने गरेका हुन्।

एक वर्षको अन्तरालमा कैलालीमा विश्वमै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुईवटा पाटेबाघ मृत भेटिएका थिए। उक्त घटनाले वन्यजन्तु संरक्षणमा चुनौती देखिएको छ।

बँदेल, बाँदर, घोरल, चित्तललगायत जङ्गली जनावर पटक-पटक पासोमा परेर मर्ने गरेका छन्। किसानले खेतबारीमा लगाएको अन्नबाली वन्यजन्तुबाट जोगाउन थापेको पासोमा परेर पटक पटक बाघ मरेको हुनसक्ने सरक्षणंकर्मी तिलक ढकाल बताउँछन्।

उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तुबिचको द्वन्द्वको कारण पनि हो।

समयमा चेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठूला जनावर पनि मर्ने क्रम बढिरहेको डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए। उनी भन्छन्, ‘लोपोन्मुख बाघ समेत वसन्ता करिडोर क्षेत्र वरपर नै पासोमा पारेर मारिने गरिएको छ।’

लोपोन्मुख प्रजातिको वन्यजन्तुको व्यापार नियन्त्रण सम्बन्धी र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटे बाघ लगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन।

पाटेबाघको सिकार गरेमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

यसैगरी चितुवाको सिकार गरेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा उल्लेख छ।

प्रकाशित: २७ भाद्र २०८१ १७:४६ बिहीबार