पछिल्लो समय उपत्यकाभित्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूमा सरसफाइ र भाँडा माझ्ने काममा प्रायः बालिकालाई देख्न सकिन्छ। तिनै बालिकालाई यौन अपराधमा लगाएर फाइदा लिनेहरू पनि उत्तिकै बढेका छन्। बालिकालाई विद्यालय छाड्न बाध्य बनाई यावत् प्रलोभनमा पारेर यौन कार्यमा संलग्न गराइएका घटना बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यकाका खाजाघर तथा होटलहरूमा यस्ता बालिकाको दुरूपयोग भइरहेको छ।
परिवारको आर्थिक बोझ उठाउन अग्रसर हुनुपर्ने बाध्यताका कारण पनि यस्ता बालिका हिंसाका घटना भइरहेका छन्। तिनीहरू यौन शोषण लगायत यौनजन्य हिंसाको मारमा पर्ने गरेका छन्। साथै जात र लिंगमा आधारित भेदभावलाई गरिबीले बढी प्रभावित पारेको छ।
आर्थिक अवसरको खोजीमा रहेका बालिका पुरुषहरू यौन दुरूपयोगको साधन बनेका छन्। ललितपुरको सातदोबाटोस्थित एक रेस्टुरेन्टमा आएका ग्राहकहरूको यौन चाहना मेटाउन एउटी बालिका प्रयोग भएकी थिइन्। मातापिताबिच बेमेलका कारण सम्बन्धमा दरार आएपछि ती बालिका सानै उमेरदेखि मामाघरको आँगनमा हाँस्दै–खेल्दै हुर्किन्।
उनलाई आफ्ना आमाबुबाभन्दा प्यारो लाग्थ्यो मामाघरका हजुरबुबा र हजुरआमाको काख। गाउँकै विद्यालयमा कक्षा २ मा अध्ययनरत उनले पढ्दापढ्दै घरको आर्थिक अवस्था नाजुक देखेर बिचमै पढाइ छोडी घरधन्धामा लागिन्।
यही बिचमा घरको धन्धाभन्दा बाहिर कतै काम पाए गर्ने सोच बनाइरहेकी थिइन्। वृद्ध हजुरबा र हजुरआमाको स्याहार गरेसँगै पाल्ने ठूलो उद्देश्य लिएको १६ वर्षीया बालिकाले मानव बेचबिखन अनुसन्धान ब्युरोसँग बताइन्। आफ्नो अवस्था सुधार्न काठमाडौं झरेको ती बालिकाले बताइन्।
‘मामाघरमा आर्थिक अवस्थाले च्याप्यो’, उनले भनिन्, ‘कामको खोजीमा जीविकोपार्जन गर्नका लागि मैले विभिन्न स्थानमा ज्यामी, अरूका घरमा सरसफाइ, फर्निचरमा रङ लागाउने काम गर्दै आएकी थिएँ, तर एकजना दिदीमार्फत रेस्टुरेन्टमा पुगें।’
गत असार २७ मा आफू बस्दै आएको नजिकैको कोठामा बस्ने अस्मिता नाम गरेकी दिदीले काम खोजिदिन्छु भनेर आफूलाई प्रलोभनमा पारेको ती बालिकाले बताइन्। ललितपुर सातदोबाटोस्थित न्यु नमस्ते रेस्टुरेन्ट एन्ड बारले काम गर्ने मानिस खोजेको छ भन्दै ती दिदीले आफूलाई त्यहाँ पुर्याई सञ्चालक राजीव लामालाई भेटाएको उनको अनुभव छ।
रेस्टुरेन्ट सञ्चालक लामाले आफूलाई कामका बारेमा गरेको वर्णन उनले सुनाइन्। बालिका भन्छिन्, ‘तिमीले यहाँ गर्ने काम भाँडा माझ्ने र सरसफाइ हो। खाएर बसेर तिमीलाई मासिक ६ हजार रूपैयाँ दिन्छु।’
अन्य ठाउँमा सुख्खा काम गर्दा पनि समयमा पैसा नपाउने तर त्यहाँ खानेबस्ने सुविधा भएसँगै कोठा भाडा तिर्नुनपर्ने भएकाले उनी गत असार २८ देखि काम गर्न थालिन्।
‘त्यहाँ रेस्टुरेन्टसँगै उनीहरूकै गेस्टहाउस पनि थियो’, उनी भन्छिन्, ‘दुईतीन हप्ता सरसफाइ र भाँडा माझ्ने काम गरें।’ सञ्चालक राजीवले भनेको सम्झँदै उनी भन्छिन्, ‘भाँडा माझेर मात्रै तिम्रो जीवन सुध्रिँदैन। घरमा कति पठाउनू? बरू रेस्टुरेन्टमा आउने ग्राहकसँगै बस्नू, तिमी बस्यौ भने ग्राहकले धेरै खाइदिन्छन्। बस्ने क्रममा उनीहरूले तिम्रो शरीर चलाउलान्, त्यसमा संकोच नमान्नू। शारीरिक सम्पर्क राख्न चाहे भने सम्पर्क गर्दा हुन्छ।’
सञ्चालकले भनेको उनी अझै सम्झन्छिन्, ‘अरू युवतीले समेत यस्तै काम गरी आम्दानी गरिरहेका छन्। तिनीहरूले कति धेरै प्रगति गरिसकेका छन्। तिमी भने लाटी रैछौ। शारीरिक सम्पर्क राखेमा ग्राहकबाट आएको पैसा आधा म राख्छु, आधा तिम्रो हातमा हालिदिन्छु।’
केही हुँदैन शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग गरेसँगै गर्भसमेत नरही सुरक्षित हुनेसमेत सञ्चालकले बताएको ती बालिकाले सुनाइन्। दुईचार दिनसम्म सञ्चालकले शारीरिक सम्पर्कबारे भनेको कुरा उनको कानमा गुन्जिरह्यो। ग्राहकसँग शारीरिक सम्पर्क राखेमा आफूलाई पाँच सय आउने र अन्य पैसा सञ्चालकले राखिदिने भनेको सल्लाह आफूलाई ठीक पनि लागेको बताइन्।
वृद्ध हजुरबा र हजुरआमालाई सम्झदा उनका आँखाबाट आँसु झर्छन्। उनीहरूलाई पाल्नुपर्छ भन्ने दिनरातको चिन्ताले पनि ती बालिकालाई सताइरहेको हुन्छ। यही चिन्ताले उनलाई आफ्नो शरीर बेचें झैं लाग्छ। एक दिन राती सुतिरहेको अवस्थामा सञ्चालकले दिएको सल्लाहमा सहमत हुने निर्णय गरेको उनले ब्युरोसामु बताइन्।
गत साउन १५/१६ देखि उनले आफ्नो शरीर बेच्न थालिन्। सुरुसुरुमा ग्रांहकलाई आफ्नो शरीर सुम्पिँदा उनलाई निकै कष्ट भयो। विस्तारै दैनिक ५/६ जना ग्राहकसँग शारीरिक सम्पर्कमा बाँधिनुपर् यो। दिनप्रतिदिन उनीसँग मासिक तलबभन्दा बढी शारीरिक सम्पर्क गरेवापत पैसा आउन थाल्यो। ग्राहकले जेजे खाए, त्यही खाने उनलाई पनि बानी पर्यो।
ग्राहकसँगै खाजा र मदिरा सेवन गरेपछि ग्राहकको इच्छाअनुसार शारीरिक सम्पर्कका लागि गेस्टहाउसमा आफू पुग्ने गरेको ती बालिकाले बताइन्।
ग्राहकसँग पैसा लिने सम्पूर्ण काम राजीव दाइले गर्ने गरेको बालिका बताउँछिन्। उनी भन्छिन्, ‘शारीरिक सम्पर्कका लागि सबै ग्राहकसँग राजीव दाइ नै कुरा गर्नुहुन्थ्यो। रेस्टुरेन्टको सम्पूर्ण व्यवस्थापन शर्मिला कटुवाल दिदी गर्नुहुन्थ्यो। उहाँहरू नै शारीरिक सम्पर्क राख्ने ग्राहक बोलाउनु हुन्थ्यो र हामीमध्ये एकजनालाई कोठामा पठाउनुहुन्थ्यो।’
शारीरिक सम्पर्कका लागि अरू दुई युवतीसमेत रहेको उनले बताइन्। भन्छिन्, ‘मलाई जस्तै उनीहरूलाई पनि राजीव दाइले ठूला आश्वासन देखाउनुहुन्थ्यो। तिमीहरूको आधा पैसा हामीले जम्मा गरेका छौं, पछि दिन्छौं पनि भन्नुहुन्थ्यो, तर हामीलाई प्रतिव्यक्ति पाँच सयबाहेक अरू पैसा दिइएन।’
आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर रेस्टुरेन्ट सञ्चालक राजीवले वेश्यावृत्तिमा लगाइरहेको सुराकीमार्फत भदौ १९ गते ब्युरोबाट खटिएको प्रहरी टोलीले ती बालिकासहित तीनजनालाई उद्धार गरेको हो।
वेश्यावृत्तिमा लगाउनु मानव बेचबिखन तथा ओसारपसारविरुद्धको कार्य भएकाले ती पीडित बालिकाले ब्युरोमा उजुरी दिएकी छन्। ललाइफकाइ प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने रेस्टुरेन्ट सञ्चालक राजीवलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम हदैसम्मको कानुनी कारबाही तथा सजाय गरी क्षतिपूर्तिसमेत दिलाइपाऊँ भन्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्।
बालबालिकाविरुद्ध हुने यौन दुव्र्यवहार नियन्त्रणका लागि नेपालले कानुन बनाएको छ। नेपालको संविधानमा ‘कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भन्ने व्यवस्था छ।
बालिकालाई विद्यालय जान वञ्चित गर्नु तथा बालविवाह गराउनुले उनीहरू हिंसामा पर्छन् र हिंसाबाट मुक्त हुन बालिका घर छाडेर हिँड्ने गर्छन्।
ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार पारिवारिक कलह, घरेलु हिंसा तथा आर्थिक अवस्था कमजोर भएका कारण बालिकाहरू यौन कार्यमा लाग्न बाध्य हुन्छन्। अहिले त अनलाइनमार्फत पनि यौन शोषण भइरहेको उनले बताए।
उनका अनुसार अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा बालिकाको कमी छैन। नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमीप्रेमिका, दाैंतरी, नजिकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्ति समेत छन्।
प्रकाशित: २७ भाद्र २०८१ ०५:४० बिहीबार