६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

भदौमा रङ्गिलो सुदूर: देवस्थलमा गौरा, गाउँ गाउँमा देउडा

कैलालीको मसुरियामा देउडा खेल्दै महिलाहरु। तस्बिरः पुष्पराज जोशी/नागरिक

तपाई पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको यात्रामा हुनुहुन्छ भने ठाउँ ठाउँमा देख्न सक्नुहुन्छ गौरामा चैत, धमारी, ढुस्कोसँगै देउडाको भारी खेल। यही मौसम हो सुदूरपश्चिमका गाउँ बस्तीमा गुञ्जयमान हुने गौरा र देउडा।

भदौ मासमा गौरा घरमा डोटी राज्यमा राज गरेका राजा नागी मल्ल, भगवान भोगेश्वरको ढुस्को, श्रीरामचन्द्र भगवानको ठाडो खेल, बाइसे चौबीसे राज्यका राजा रजौटाका वीर गाथालाई गीति लयमा गाउँदै गौरा घरमा गौराका भाकामा लय र पैतला मिलाउँदै रमाइलो गरिन्छ भने गाउँ घरमा युवा युवती हात मिलाएर गोलबद्ध भई सवाल जवाफमा देउडा खेलिरहेका दृश्य सुदूरपश्चिममा सामान्य लाग्छन्।

अहिले तराईका फाँट र पहाडका बस्तीहरू गौरा र देउडामा झुमिरहेका छन्। गौराको धार्मिक तथा सांस्कृतिक रुपमा ठूलो मान्यता रहेको जानकारहरु बताउँछन्। ‘गौरा विशुद्ध धार्मिक आनुष्ठानिक पर्व हो,’ सुदूर संस्कृतिका जानकार तथा पत्रकार कृतबहादुर बिष्ट भन्छन्,‘सुदूरमा मनाइने अन्य पर्वहरूको सामाजिक मान्यता बढी छ। तर, गौरा धार्मिक र सामाजिक दुवै किसिमले महत्त्वपूर्ण छ।’ 

दसैँ तिहारभन्दा महत्त्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाएपछि मात्र ल्याउन पाउँछन्। गौरा यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व पनि भएको उनी बताउँछन्। गौरामै देश विदेशमा गएकाहरू समेत फर्केर घर आउने प्रमुख पर्व पनि मानिन्छ। पर्वमा एक आपसमा हात जोडेर देउडा खेलिने भएकाले पनि आपसी सद्भावको पर्वका रुपमा गौरालाई लिइने गरिएको डोटेली गौरा पर्वको पौराणिक अध्ययनमा विद्यावारिधि गरेका तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. टिएन जोशी बताउँछन्।

सुख–दुःख, हाँसो–रोदन, हर्ष–विस्मात, माया–प्रेम, समसामयिक परिस्थिति, विकृति विसङ्गति देउडामा व्यक्त हुने गरेको धारणा पत्रकार बिष्ट राख्छन्। गौरालाई सुदूरपश्चिममा ठाउँ अनुसार ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ पनि भन्ने गरिन्छ। यी सबैको अर्थ गौरी अर्थात् पार्वती नै रहेको पण्डित तीर्थराज ओझा बताउँछन्। गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौँदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको उनले बताए।

कथनअनुसार पनि गौराले यस क्षेत्रको लोकसंस्कृति, लोक साहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीर गाथा र वेशभूषाको प्रस्तुति गर्ने थलो हो। ‘यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन,’ उनले भने,‘यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध देउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीर गाथा एकैसाथ प्रस्तुत हुन्छन्।’

यस क्षेत्रको कला, संस्कृति, वेशभूषाको अध्ययन गर्न चाहनेहरूका लागि गौराको समय महत्त्वपूर्ण रहने गर्छ। गौराका समयमा व्रतालुका घरमा माछा, मासु, मुसुरोको दाललगायत परिकार वर्जित गरिन्छन्। गौरा समाजमा सात्विक विचार भावनाको विकासमा समेत सहयोग पु¥याउने पर्व रहेको वरिष्ठ देउडा गायक तथा संस्कृतिविद् दलबहादुर बोगटी बताउँछन्। 

गौरामा देउडा 

गौरामा चैत, धुमारी, ढुस्को, भोलाउलो, अठवाली खेलिने भए पनि पछिल्लो समयमा गौरा पर्वको प्रमुख आकर्षण देउडा भएको छ। गौरामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ भने देउडामा सामाजिक विकृतिविरुद्ध तीखो व्यङ्ग्य, माया प्रेम, राजनीति लगायतका कुरालाई उजागर गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन्।

सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँ बस्ती, कुमाऊँ, गडवालमा समेत धूमधामका साथ मनाइन्छ। गौरा सुदूरपश्चिमको मौलिक पर्व र संस्कृति हो। यसको जगेर्ना गर्न सरकारी पक्षले समेत पहल गर्नुपर्छ। सुदूरपश्चिमको संस्कृतिका बारेमा अध्ययन अनुसन्धानका लागि गौरा र देउडा एक महत्त्वपूर्ण अवसर पनि हो। यो समयमा सुदूरपश्चिमका कला, संस्कृति, रहनसहन, वेशभूषा अध्ययन अनुसन्धानका लागि उपयुक्त हुन्छ। अहिले सुदूरपश्चिममा गौरा विसर्जनको तयारीमा छ। त्यसैले पनि वर्षकै अन्तिम गौरा र देउडा भएकाले अहिले गाउँगाउमा गौरा र देउडाको मैझारी भइरहेको छ। 

प्रकाशित: १६ भाद्र २०८१ १८:०१ आइतबार

#Dauda