स्वदेशी उत्पादनले बजार नपाएपछि मौरीपालक किसानले नेपाली महको ‘एकीकृत ब्रान्डिङ’ गर्न थालेका छन्। नेपाली महको नाममा विदेशबाट आयात गरेर बिक्री गर्ने दर बढ्न थालेपछि यहाँका किसान ‘एकीकृत ब्रान्डिङ’तर्फ अग्रसर भएका हुन्।
असोजबाट स्वदेशी उत्पादनको ‘एकीकृत ब्रान्डिङ’ बजारमा ल्याउने तयारी थालिएको नेपाल मौरीपालक महासंघका सल्लाहकार ध्रुवतारा लामिछानेले जानकारी दिए। ‘नेपालको उत्पादनले यहाँको माग धान्न सक्दैन। तर, किसानको मह बिक्री नभएर घरमै थन्किएको छ। बाहिरबाट मह आउँदा नेपाली उत्पादनले बजार पाएन,’ उनले भने, ‘त्यसलाई रोक्न हामी नै महको ब्रान्डिङ गर्न लागेका हौं।’
एकीकृत ब्रान्डका लागि प्रारम्भिक चरणमा ५० जना किसानले सेयर राखेर काम थालेका छन्। केही समयमा किसानको संख्या सय जनासम्म पुर्याउने गरी तयारी गरिएको उनले जानकारी दिए। नेपालमा १३ हजार हाराहारीमा किसान मौरीपालन व्यवसायीमा लागेका छन्। उनीहरू सबैको मह ब्रान्डिङ गरिने लमिछानेले बताए।
ब्रान्डिङका लागि किसानले तत्काल एक करोड लगानी गरेका छन्। यसलाई १० करोडसम्म पुर्याउने लक्ष्य राखिएको लामिछानेले बताए। यसमा मौरीजन्य उत्पादित मह, पराग, बिग्रेड, रोयल जेभी, करपोलिसलगायत क्षेत्रमा काम गरिने उनले बताए।
एकीकृत ब्रान्डिङमा चिउरी, दुधिलो, तोरी लगायतको महलाई मिश्रण गरी ब्रान्डिङ गरिनेछ। त्यसबाहेक छुट्टाछुट्टै उत्पादन पनि बजारमा ल्याउने तयारी किसानको छ। नेपाल मौरीपालक किसान (एनबिके) नामबाट आफूहरूले ब्रान्ड स्थापित गराउन खोजेको लामिछानेले बताए।
पछिल्लो समय बाहिरबाट आएको कम गुणस्तरको मह सस्तोमा उपलब्ध हुँदै आएको छ। तर नेपालका किसानले उपभोक्तालाई गुणस्तरीय मह सर्वसुलभ मूल्यमा उपलब्ध गराउन ब्रान्डिङ अत्यावश्यक भएको उनले बताए। उनले किसानको तर्फबाट पहिलोपटक महको ब्रान्डिङ गर्न थालिएको जानकारी दिए।
एकीकृत ब्रान्डिङका लागि नेपाल सरकारबाट अनुमति लिने तयारीमा किसान छन्। ‘गुणस्तरमा हामी कम छैनौं। अन्य मुलुकमा बिक्री नभएर बाहिरी मु्लुकबाट भित्रिने कम गुणस्तरको महभन्दा हाम्रो धेरै राम्रो छ।’
मौरीपालक महासंघमार्फत महको प्रशोधन र भण्डारणका लागि भवन निर्माण गरिसकिएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट सहयोग भइरहेको छ।
मौरी जोन कार्यक्रममार्फत यस वर्ष महको ब्रान्डिङका लागि १५ लाख रूपैयाँ विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिए। यस ब्रान्डिङबाट बहुँराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए।
महासंघका अनुसार नेपालमा वार्षिक नौ हजार मेट्रिकटनभन्दा बढी मह खपत हुँदै आएको छ। तर नेपालमा उत्पादन भने चार हजार नौ सय मेट्रिकटन हुने नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिव पौडेल बताउँछन्। यद्यपि नेपाली उत्पादनले स्वदेशलाई नपुगे पनि किसानको मह बिक्री हुन सकेको छैन।
उनका अनुसार किसानको दुई हजार मेट्रिकटन मह अझै स्टकमा रहेको छ तर भारतबाट वार्षिक एक हजार चार सय मेट्रिकटन मह आउने गर्दछ। यद्यपि गैरकानुनी रूपमा बढी भित्रिने गरेको उनले बताए। अहिले बहुराष्ट्रिय कम्पनीहरूले महको आयात खोल्न सरकारलाई दबाब दिएका छन्। महको ब्रान्डिङमा एकद्वार प्राणालीमा गएपछि किसानलाई सहज हुने अपेक्षा उनको छ।
प्रकाशित: १५ भाद्र २०८१ ०९:२० शनिबार