४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

परिवर्तनको संघारमा राउटे समुदायः अक्षर चिन्दै बालबालिका

अक्षर चिन्न सिक्दै राउटे समुदायका बालबालिका । तस्बिर : नगेन्द्र उपाध्याय/नागरिक

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने । सदियौँदेखि यो मान्यतालाई अंगाल्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ । राउटे बालबालिका पूर्खाको मान्यताविपरित अक्षर चिन्न थालेका छन् ।  

हाल दैलेखको गुराँस गाउँपालिका–१ को मैनीखोलामा बस्दै आएको यो समुदायका बालबालिका बस्तीदेखि टाढा गएर जोडी शिक्षकहरुसँग अक्षर चिन्ने प्रयास गर्छन् । ‘मुखियाहरुले पढेको थाहा पाए गाली गर्छन्,’ राउटे बालक गुराँस शाहीले भने, ‘त्यहीँ भएर बस्तीदेखि ढाटा लुकीलुकी अक्षर चिन्न थालेका छौं ।’ घुमन्ते राउटे समुदायका लागि सोसेक नेपालले जोडी शिक्षक राखेको छ । राउटे बालबालिकाहरु तिनै जोडी शिक्षकसँग अक्षर चिन्छन् । घुमन्ते जीवन विताउने यो समुदायको संख्या एक सय ३५ छ ।

१८ वर्षमुनिका राउटेहरुको संख्या ६४ छ । समुदायका २२ जना बालबालिकाले आफ्नो नाम लेख्न सक्ने भएका छन् । उनीहरु अक्षर चिन्नका लागि जोडी शिक्षकसँग आउने गर्छन् । ‘अहिले आफ्नो नाम लेख्ने र पैसा गन्न सक्ने भएका छौं,’ राउटे बालक खच्चडे शाहीले भने, ‘स्कूलै गएर पढ्ने रहर थियो, हाम्रो समुदायले जान दिँदैन ।’

एउटै स्थानमा नबस्ने भएकाले यो समुदाय जहाँजहाँ गयो जोडी शिक्षकहरु पनि सँगसँगै जाने गर्छन् । ‘बस्ती सर्दाबाहेकको समयमा राउटे समुदायका बालबालिका पढ्न आउँछन्, उनीहरुलाई खेल्ने सामाग्री दिएर अक्षर चिनाउने गरेका छौं,’ जोडी शिक्षक हिरा खत्रीले भनिन्, ‘बालबालिकामा पढ्ने रहर ठूलो छ, तर अभिभावकको दबाबका कारण उनीहरु खुलेर पढ्न आउँदैनन् ।’ जंगलबाट दाउरा ल्याउने, काठ काट्ने र खेल्ने बहाना बनाएर राउटे बालबालिका जोडी शिक्षकसँग आउने गर्छन् ।  

‘समुदायका मुखियाले आफ्नो मान्यताविपरितका कामहरु गर्नुहुन्न भनेर उर्दी जारी गरेकाले पनि बालबालिकाहरु लुकेर आउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘राउटे समुदायका बालबालिकामा पढ्ने चाहना अत्याधिक हुँदाहुँदै पनि त्यहीँ मान्यताले उनीहरुलाई रोकेको छ ।’

लोपोन्मुख राउटे नेपालको एक मात्रै भ्रमणशील समुदाय हो । समुदायका कोही मान्छे मर्ने बित्तिकै उनीहरु ठाउँ छाड्छन् । यसले गर्दा समुदायका बालबालिका नियमित पढ्न पाउँदैनन् । सुरुमा बालबालिकालाई पढाउनका लागि जोडी शिक्षकले धेरै समस्या झेल्नुप¥यो । बालबालिका पढ्न आउन मान्दैनथे । जोडी शिक्षक भन्ने वित्तिकै मुखियाहरुले बस्तीमा प्रवेश दिँदैनथे । ‘सुरुसुरुमा काठ काट्न र सिकार खेल्न सँगै जंगल गएर पनि अक्षर चिनायौं,’ उनले भनिन्, ‘अहिले भने खोजीखोजी पढ्नका लागि आउँछन् ।’

सोसेकका कार्यकारी निर्देशक हिरासिंह थापाले राउटे समुदायका बालबालिकाहरुले अक्षरसँगै कागजबाट पुतली, माछा, तारा, घरलगायतका खेलौनाहरुमा रंग भर्न थालेको बताए । ‘सुरुमा लेख्ने कापी च्यातेका थिए, कलम भाँचेका थिएँ,’ उनले भने, ‘खेलका माध्ययमबाट अक्षर चिनाउन थालेपछि उनीहरुमा पढाईमा रुचि बढेको देखियो ।’

प्रकाशित: ११ भाद्र २०८१ १३:५० मंगलबार

#Raute Samubaya #Jodi Teacher