लामो समय नियमावली संशोधन नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुँदैछ। नेपाल प्रहरीमा निरीक्षकदेखि डिआइजीसम्म ८९ जना र सशस्त्र प्रहरीमा १५ जना एकैसाथ अवकाशमा जान लागेका हुन्। त्यसबाट एकातर्फ उच्च तहका धेरै अधिकृतहरूका लागि बढुवाको बाटो खुल्नेछ भने अर्कातर्फ ५० देखि ५३ वर्ष उमेर समूहका अधिकृतहरू अवकाशमा जाँदा राज्यले ठुलो नोक्सानी बेहोर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ।
प्रहरी नियमावलीमा फेरबदल नआए भदौ १६ गते प्रहरीका माथिल्लो दर्जाका ८९ जना एकै दिन अवकाशमा जानेछन्। ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीको यति ठुलो संख्या एकसाथ घर जाँदा माथिल्लो तहमा ठुलो ‘भ्याकुम’ सिर्जना हुँदा बढुवाको लाइनमा रहेका अधिकृतहरूले अवसर पाउनेछन् । भदौ १६ मा एक डिआइजी र भदौ २१ मा अर्का एआइजी पनि घर जाँदैछन्। डिआइजी विष्णु केसीको भदौ १६ मा अनिवार्य अवकाश हुँदैछ । भदौ १६ गते प्रहरी अधिकृतहरू अवकाशमा जाँदैछन्। यसरी अवकाश पाउन लागेकाहरू धेरैको उमेर ५५ भन्दा कम छ।
३० वर्षे सेवा हदका कारण ठुलो संख्यामा प्रहरीले अवकाश पाउन लागेको यो पहिलो पटक हो । प्रहरी नियमावलीमा तत्काल संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गरे उनीहरूको अवकाश प्रक्रिया रोकिनेछ। तर नियमावली संशोधन गर्न सर्वोच्च अदालतका दुई वटा फैसला बाधक छन् । ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै केही प्रहरी अधिकृतले रिट निवेदन दिएपछि सर्वोच्च अदालतले प्रहरी ऐनमा व्यवस्था गरेर मात्रै ३० वर्षे अवधि हटाउन निर्देशन दिएको थियो।
२०७० चैत २० गते सर्वोच्च अदालतले पाँचजनाको विशेष इजलासबाट प्रहरी नियमावलीमा रहेको प्रहरी कर्मचारीको अवकाशलगायत सेवासर्तका सम्बन्धमा पुनरवलोकन गरी ऐनमा नै व्यवस्था गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। २०७१ वैशाख ८ गते नयाँ प्रहरी नियमावली जारी हुँदा पनि २०७० सालको सर्वोच्च अदालतको आदेश कार्यान्वयन भएन। त्यसपछि पनि पीडित प्रहरी अधिकृतहरू पुनः न्यायिक उपचारका लागि अदालत पुगेका थिए। त्यतिबेला सर्वोच्च अदालतको पाँच जनाको सवैधानिक इजलासले २०७२ पुस १७ गते प्रहरी नियमावलीमा रहेको प्रहरी कर्मचारीको अवकाशलगायत सेवासर्तका सम्बन्धमा पुनरवलोकन गरी ऐनमा नै व्यवस्था गर्न पुनः नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरे पनि त्यो कार्यान्वयन भएन।
सर्वोच्च अदालतको आदेश एक दशकसम्म पनि कार्यान्वयन नहुँदा यही २०८१ भदौ १६ गते डिआइजी एक, एसएसपी ११, एसपी १२, डिएसपी ३०, इन्स्पेक्टर ३५ जाने भएका हुन्। प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका १०५ जनाको टोलीका माओवादी युद्धका बेला सबैभन्दा बढी दुःख पाएका, सक्षम र अनुभवी प्रहरी अधिकृतहरू ५०/५१ वर्षको उमेरमै अवकाशमा जानेछन्। सशस्त्र प्रहरीमा पनि त्इसता अधिकृतहरूको संख्या त्यत्तिकै छ । २०५१ सालमा ४३२ जना असईमा भर्ना भएका थिए। तीमध्ये १५ जनाको सशस्त्र द्वन्द्वमा मृत्यु भएको थियो।
बाँकी केहीले भने यसअघि नै अवकाश वा राजीनामा दिएका कारण यो समूहका १०८ जना मात्रै सेवामा छन्। तीमध्ये नेपाल प्रहरीमा रहेका ९० जना सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएर गएका थिए । १८ जनाको भदौ १६ मा एकसाथ अवकाश हुन लागेको हो। २०४९ सालसम्म प्रहरी कर्मचारी उमेर हद र पदावधि (दुई) का आधारमा मात्र अवकाश हुने व्यवस्था रहेको छ। अन्य सरकारी सेवामा पनि यही नै व्यवस्था रहेकोमा विभेदकारी नियमावली खारेज हुनुपर्ने प्रहरी अधिकृतहरूको भनाइ छ। प्रहरी नियमावली २०४९ मा प्रहरी कर्मचारी सेवा अवधिका आधारमा समेत अवकाश हुने थप व्यवस्था गरी अवकाश हुने आधार दुईबाट तीन बनाइएको थियो।
प्रस्तावित प्रहरी ऐनमा समेत ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन प्रहरी प्रधान कार्यालयबाट सिफारिस भइसकेको हुँदा अविलम्ब प्रस्तावित प्रहरी ऐन संसद्मा लग्न र उक्त ऐन पारित नहुँदासम्म प्रहरी नियमावलीको दफा १२७ को १ को (घ) खारेज गरी ३० वर्षे सेवा अवधिका कारण प्रत्यक्ष प्रभावित हामी प्रहरी अधिकृतलाई तत्काल अवकाशबाट जान रोकी सर्वोच्च अदालतको आदेशको पालना गर्न र न्याय दिलाउन अवाकाशमा जान लागे प्रहरी कर्मचारीले मन्त्रालयलाई आग्रह गर्दै आएको भए पनि मन्त्रालयले सुनुवाइ गर्ने अवस्था देखिएको छैन।
प्रहरी नियमावलीको दफा १२७ को १ को (घ) खारेज गरी सेवा अवधि मात्र हटाउँदा उमेर हद र पदावधिको आधारबाट अवकाशमा जाने बाटो खुला नै रहने हुँदा अन्य प्रहरी कर्मचारीको वृत्ति विकासमा कुनै बाधा नपर्ने पनि अवकाशमा जान लागेका प्रहरीका अधिकारीको दाबी छ। यो विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल बनाएको थियो। कार्यदलले प्रतिवेदन पनि दिइसकेको छ। तर पनि त्यो प्रतिवेदन कार्यान्वयन भएको छैन। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सेवाहद हटाउनुपर्ने बताउँदै आएका छन्। भदौ १६ मा अवकाश जान लागेका डिआइजी विष्णु केसी हाल बागमती प्रदेशमा कार्यरत छन्।
एसएसपी जीवनकुमार श्रेष्ठ ट्राफिक प्रहरी कार्यालयमा निमित्त प्रमुख छन्। डिआइजी पोषराज पोखरेलले अवकाश पाएपछि उनी त्यहाँ निमित्त प्रमुख भएका हुुन्। रेवती ढकाल प्रहरी कल्याणमा कार्यरत छन्। एसएसपीहरू किसनसिंह थापा, दिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मी पनि भदौ १६ मै अवकाश जाँदैछन्। त्यसैगरी एसपीहरू कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकुनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधानले अवकाश पाउने भएका छन्।
डिएसपीहरू श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोजकुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, भरतकुमार शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायणबहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिलकुमार उप्रेती, शैलेन्द्रकुमार खड्का, उद्धवप्रसाद अधिकारी, रामबहादुर चन्द, सुजितकुमार ओझा, फणीन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत पनि बिदा हुँदैछन्।
प्रहरी निरीक्षकहरू योगराज न्यौपाने, शान्तराम कार्की, हीराबहादुर केसी, खेमराज कडायत, सरोजकुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओमप्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुनप्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरिविष्णु ढकाल, रविभूषणप्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती, मोहन थापा, कलेन्द्रविक्रम शाही, मानप्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवधकिशोर ओझ, विजय भण्डारी, भीमबहादुर कार्की, प्रेमबहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाई, निलमबहादुर भण्डारी, तीर्थबहादुर भण्डारी, जगदीश पौडेल, गोपाल चालिसे, कमल आचार्यले अवकाश पाउँदैछन्। उनीहरू अवकाश पाएपछि नेपाल प्रहरीमा करिब दुई सय पद खाली हुने भएका छन्।
यसैगरी सशस्त्र प्रहरीबाट भदौ १६ मा घर जान लागेका डिआइजीद्वय दुर्गा भट्टराई अभि खत्री एसपी पूर्ण साउद छन्। एसएसपी विश्व भट्टराईसहित १५ डिएसपी अवकाशमा जाने सशस्त्र प्रहरीले जनाएको छ। डिआइजी खत्री सुर्खेतमा कार्यरत छन्। शारीरिक सुगठन शिक्षालयका उद्धव रावलसहित उनीहरूको ब्याचका पनि केही अधिकृत छन्। महोत्तरीका गणपति अमर ऐर त्यसैमा पर्छन्।
प्रकाशित: ५ भाद्र २०८१ ०६:२९ बुधबार