१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ।

डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला सङ्घ बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिइन्।

'विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई बाख्रापालनको माध्यमबाट आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो', उनले भनिन्, 'प्रतिपरिवारलाई तीनका दरले बाख्रा वितरण गरिएको छ।'

गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र चाँडो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको उनको भनाइ छ।

बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ। निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानलाई सीप र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक बनाउन प्रोत्साहनका लागि बाख्रा वितरण गरिएको सुनारको भनाइ छ।

होलिया र हिरमिनियाका गाउँबस्तीमा गठन भएका महिला समूहमा आबद्ध किसानलाई बाख्रापालन परियोजनाअन्तर्गत बाख्रा सहयोग गरिएको अध्यक्ष सुनारले जानकारी दिए। निःशुल्क रुपमा आफ्नै गाउँघरमा तीन बाख्रा पाएपछि स्थानीय खुसी भएका डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्राले बताए। उनले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक उन्नतिमा बाख्रापालन सहयोगी बन्ने अपेक्षा गरे।

दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत तथा सेवामा पहुँच अभिवृद्धि गर्न समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार संस्थाले सहयोग गर्दै आएको दलित महिला सङ्घकी परियोजना संयोजक दिलासा गौतमले बताए।

उनका अनुसार दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तीकरण गराउँदै वडा एवं गाउँपालिका स्तरका संरचनामा सहभागी बनाउन जिल्लाको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ सदस्य रहेका ५४ महिला समूह गठन गरेर दलित महिला सङ्घ बाँकेले काम गरिरहेको छ। 

प्रकाशित: ३ भाद्र २०८१ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App