२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रयोगविहीन हुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

फाइल तस्बिर

कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ। दुई वर्ष अगाडि धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो।

विसं २०७८ वैशाखमा रु २८ करोड ८१ लाख लागतमा निर्माण सुरु भएको उक्त होल्डिङ सेन्टर २०७९ साउनमा सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोगविहीन बनेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।

उनले भने, 'होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म केही निर्णय भएको छैन। एक पटक रक्षा मन्त्रालयको पहलमा स्वामित्व कसले लिने र सञ्चालन गर्ने भनेर समिति गठन भएको थियो। सोबारे भएका छलफल वा निर्णय हालसम्म स्थानीय प्रशासनलाई जानकारी छैन।'

प्रजिअ मिश्रले नेपाली सेनाद्वारा निर्मित उक्त सेन्टर सञ्चालनको ढाँचा र जिम्मेवारी रक्षा मन्त्रालयबाट आउनुपर्नेमा हालसम्म नआउँदा स्वामित्व हस्तान्तरण हुन नसकेको बताए।

उनका अनुसार एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ ब्लक, २० क्वारेन्टिन, दुई चिकित्सक कक्ष, २२ शौचालय तथा १५ वटा भान्सा कोठा निर्माण गरिएका छन्। होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको प्रजिअ मिश्रले जानकारी दिए। 

प्रकाशित: ३ भाद्र २०८१ १२:२५ सोमबार

#Holding Center