विशेष गरी पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आज (शनिबार) सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासकासाथ मनाइँदै छ।
यो पर्व हरेक वर्ष भाद्र संक्रान्तिका दिन मनाइन्छ। ओल्के चाडमा बढी प्रयोग हुने दूध–दहीको जोहो गर्ने र मीठा-मीठा परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढ्छ।
आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा यो प्रदेशमा रहेको छ। ओल्के चाड मनाइने भाद्र संक्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्कालगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
ओल्के (ओल्को) भन्नाले आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार भन्ने बुझिन्छ। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ।
यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिको साँझ गाउँका सबैजना भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बुढी पोल्ने’ भनिन्छ। बुढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहिआएको छ।
खासगरी पहाडी क्षेत्रमा बसोबास गरिरहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाउने पनि गर्दछन्।
यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भइ यसले वर्षाको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ।
यस्तै, साउनको महिना रागस (राक्षस) बाट बच्न भनेर घर–घरमा राखिने झिझिरकाँडा (कुरिलो) निकालेर आज (ओल्के) कै दिन दोबाटोमा ल्याएर पोल्ने गरिन्छ। घरका मानिसहरु साउनको महिना रोपाइँ गर्न तथा खेत गोडमेल गर्न जानुपर्ने र घरमा स–साना बालबालिकाहरु एक्लै छाड्नुपर्ने भएकाले राक्षसको प्रकोपबाट बचाउन भन्दै हरेक घरको ढोकामा कुरिलो राखिन्छ। साउन महिनाभर राखिएको कुरिलो भदौ संक्रान्तिमा पोल्ने गरिन्छ।
सदियौँदेखि मनाइँदै आएको यो चाडको रौनक र महत्त्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि पछिल्लो केही दशकदेखि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको स्थानीय जानकारहरु बताउँछन्।
युवा पिँढीमा प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्केजस्ता चाडपर्वहरुको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ।
आजै ‘बुढी’ हाल्ने पर्व
ओल्के संक्रान्तिका दिन गाँउ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भन्ने गरिन्छ।
भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ। असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ। यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ।
बत्ती बाल्ने महिना समापन
सुदूरपश्चिममा साउन १ गतेबाट सुरु भएको बत्ती बाल्ने महिना पनि समापन भएको छ। श्रावण महिना सकिएर भाद्र महिना लागेसंगै बत्ती बाल्ने महिना पनि समापन भएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन्।
श्रावण महिनालाई धार्मिक महिनाको रुपमा मान्ने चलन रही आएको छ। यो महिना देवीदेवताका मन्दिरहरुमा बत्ती बाल्ने, रातभर जाग्राम रहने लगायतका चलन रही आएका छन्।
साउने संक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पूजापाठ गर्ने चलन रही आएको छ। श्रावणको महिना यो क्षेत्रका प्रसिद्ध धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने चलन रही आएको छ।
साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना पनि भन्ने गरिएको पण्डित बासुदेव जोशीले बताए।
शयन गरेका बेला बत्ती बालेपछि देवीदेवता जागृत हुने र कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ। साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म ब्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रही आएको छ।
प्रकाशित: १ भाद्र २०८१ ०७:०२ शनिबार