१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

इटहरीमा भादगाउँले टोपी अनिवार्य : भक्तपुरमा कहिले ?

भक्तपुरका भादगाउँले कालो टोपी उद्योगीहरूले भक्तपुरको परिचय बनेको भादगाउँ (भक्तपुरे कालो टोपी) इतिहास हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पहिला पहिला भक्तपुरको भादगाउँले टोपी सरकारी कार्यालयका कर्मचारीहरूलाई अनिवार्य रहेको थियो तर पछि त्यो नियम बन्द भएपछि अहिले ढल्कने भादगाउँले टोपी पल्टने अवस्थामा रहेको उनीहरूको दुःखेसो छ ।

भादगाउँले कालो टोपी उद्योग संघको भक्तपुरमा भएको प्रारम्भिक साधारण सभामा उद्योगीहरूले भने, अहिले पनि भक्तपुरमै यो टोपी बनाउने उद्योगीहरू भेटाउन मुस्किल छ । उनीहरूका अनुसार भादगाउँले टोपी बनाउने उद्योगीहरू भक्तपुर नगरमै मात्रै सीमित छन् । उनीहरूका अनुसार नगरका विभिन्न वडाहरूमा झन्डै एक दर्जन घरहरूले भादगाउँले टोपी बनाउने पेसा गरिरहेका छन्, त्यो पनि घरेलु स्तरमा एक दुई जना परिवारका सदस्यले मात्रै । मुलुककै पहिचान बनेको भादगाउँले टोपीलाई जोगाइराख्न देशभरका सात वटै प्रदेशका सरकारी कर्मचारीहरूलाई अनिवार्य गर्न उनीहरुले सरकारसँग माग राखे।

भादगाउँले कालो टोपी उद्योग संघका अध्यक्ष सीताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपी हाल इटहरी नगरपालिकाको शैक्षिक संस्थाहरूमा अनिवार्य गरेको जानकारी गराए । हाम्रो भक्तपुरको टोपी जिल्ला बाहिरको नगरपालिकामा अनिवार्य छ तर हाम्रै नगरपालिकामा कहिले अनिवार्य गर्ने ? कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँगै प्रश्न गर्दै उनले भने ।

कार्यक्रममा संघका उपाध्यक्ष रत्नकाजी छुँजु, सल्लाहकार विश्वराम दुवाललगायतले पनि भक्तपुर नगरका सरकारी कार्यालय वा भक्तपुर नगरपालिकाद्धारा सञ्चालित कलेजहरूमा मात्रै पनि अनिवार्य गरिदिए  यसको संरक्षणमा टेवा पुग्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको पहिचान बनेको टोपीलाई जोगाइराख्न नगरपालिकाले प्रयास थालेको जानकारी गराए । पहिलो चरणमा हामीले आगन्तुकहरूलाई भादगाउँले टोपी उपहार स्वरूप लगाउने दिने चलन थालेका छौं, उनले भने, अव तपाईहरुसँंगै छलफल गरेर थप प्रयोगमा ल्याउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

पहिला उद्योगीहरूको पनि संगठन नभएकोले छलफल गर्न कठिनाइ भएको र अव संगठन भएपछि संगठनसँंगै छलफल गर्न सजिलो भएर यसको प्रयोगको कार्यान्वयनमा जान सहज भएको उनले भनाई राखे । तपाइहरू निचोड निकालेर के गर्दा हुन्छ ? छलफल गर्नुहोस्, हामी त्यही अनुसार अगाडि बढ्न तयार छौं, प्रमुख प्रजापतिले भने । नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र सम्बद्र्धमा विशेष पहल गर्दै आइरहेको बताउँदै उनले भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुजु धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको स्मरण गरे ।

भादगाउँले कालो टोपी उद्योग संघका पदाधिकारीहरूका अनुसार केही महिना अगाडि मात्रै संगठन गठन गरी सिडिओ कार्यालयमा दर्ता भएको हो। संगठन ११ सदस्यीय रहेको छ । सगठनमा एउटा उद्योगीबाट दुई दुई जना गरी ३० जना साधारण सदस्य रहेका छन् ।

प्रकाशित: ३२ श्रावण २०८१ २०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App