‘लोकमार्गमा दुर्घटना: जीवन रक्षा, प्राविधिक पक्ष र जबाफदेहिता’ विषयक कार्यक्रमका वक्ताले एकले अर्कालाई दोष दिँदै पन्छिने गरेका कारण दुर्घटना बढ्दै गएको बताए। ‘मौसमले सतर्कता अपनाउन भनेको थियो, सावधान पनि भनेको थियो तर त्रिशूलीको तटीय क्षेत्रमा त्यो रात किन गाडी गुड्न दिइयो,’ सिमलताल दुर्घटनाको उदाहरण दिँदै मानवअधिकारकर्मी सुशील प्याकुरेलले भने, ‘यसको जिम्मेवारी कसले लिने, कोही किन जबाफदेही बन्नुनपर्ने ?’
प्याकुरेलको कुरासँग सहमत छन् ट्राफिक स्वयंसेवी आनन्द जोशी। ‘हरेक दुर्घटनामा एकले अर्कालाई दोष दिँदै पन्छिने गर्छन्,’ उनले भने, ‘अनि दोष घुमिरहन्छ।’ जबसम्म दोष कुनै एक ठाउँमा गएर रोकिन्न तबसम्म दुर्घटना न्यूनीकरण नहुने उनको बुझाइ छ। ‘कुनै समय दुर्घटनाबाट वार्षिक मृत्युदर आठ सय २४ हुँदा यसलाई घटाएर आधामा झार्ने योजना थियो,’ उनले भने, ‘अहिले त्यो दर बढेर दोब्बर (करिब १७ सय) भएको छ।’ सिमलताल दुर्घटनाबाट पाठ सिक्नपर्नु उनले सुझाए।
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते राति काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स यात्रुवाहक बस सिमलतालमा डेब्रिज बहावमा परेर एकैसाथ त्रिशूली नदीमा खसेका थिए। दुवै बसमा ६२ यात्रु थिए। तीमध्ये ३ जना पौडेर बाँच्न सफल भए। उक्त दुर्घटनामा २४ जनाका शव फेलापरेकोमा १९ जनाको मात्र सनाखत हुन सकेको छ। दुइटै बससहित अझै ३५ जना हराइरहेका छन्।
‘यति ठुलो दुर्घटनाको जिम्मेवार कोही त होला नि,’ मानवअधिकारकर्मी प्याकुरेलले भने, ‘यहींबाट जबाफदेहिता खोजी गरौं।’ उनले यसो भन्दै गर्दा दुर्घटनापछि सरकारले असार ३१ गते गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय अध्ययन कार्यदलले प्रतिवेदन बुझाइसकेको छ।
जसमा आफूखुसी सडक निर्माण गर्ने परिपाटी र सडक विभागले समेत ध्यान पुर्याउन नसक्दा सिमलताल दुर्घटना निम्तिएको उल्लेख छ। उक्त स्थानमा उचित इन्जिनियरिङ डिजाइनबिनै सडक खनिएको र ‘कट एन्ड फिल एप्रोच’ बिनाकटिङबाट मात्रै सडक बनाउँदाको परिणाम दुर्घटना भएको कार्यदलको निष्कर्ष छ। तर यसको मुख्य जिम्मेवार को हो भन्नेचाहिँ प्रतिवेदनमा उल्लेख छैन। कार्यदलका एक सदस्य सन्ध्या सिग्देलले कुनै एक पक्षभन्दा पनि सबै पक्ष जोखिमपूर्ण विषयमा गम्भीर हुनुपर्ने बताइन्।
‘त्यो ठाउँमा असार ८ गते पनि माटो खसेर अवरोध भएको थियो, असार २७ को राति पनि पहिरो गएको थियो,’ कार्यक्रममा उनले भनिन्, ‘पहिरो हटाएर अगाडि बढ्न खोज्दा उक्त दुर्घटना भएको पायौं।’ हतार गर्दा यस्तो अवस्था आएको उनको बुझाइ छ।
दुर्घटनाका दृष्टिले निकै जोखिमपूर्ण मानिएको उक्त खण्डमा ठुलो वर्षा भइरहेको र रातको समयमा सवारीसाधन चलाउँदा सुरक्षा पहिला भन्ने मूल विषयमा ध्यान दिएर अत्यन्त सावधानीपूर्वक सवारीसाधन सञ्चालन गर्नुपर्नेमा गम्भीर त्रुटि भएको पाइएको प्रतिवेदनले औंल्याएको उनले सुनाइन्।
सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएका कारण सडकको अवस्थाबारे सवारीचालकले पूर्वानुमान गर्न नसकेका र सुरक्षाकर्मीले सवारी रोक्न आवश्यक नठानेका कारण पनि उक्त दुर्घटना भएको कार्यदलको ठहर छ।
सिमलताल दुर्घटना र कार्यदलको प्रतिवेदन एउटा उदाहरण मात्र हो। घटना भएपछि कार्यदल गठन गर्ने अनि सबै कुरा बिर्सने पुरानो रोग अझै जारी छ। जसका कारण बर्सेनि सवारी दुर्घटना बढ्दो छ। नेपाल प्रहरीको तथ्याकं अनुसार २०८०/८१ मा २२ हजार नौ सय २७ सडक दुर्घटना हुँदा २ हजार ३ सय ६९ व्यक्तिको मृत्यु भएको छ। जसमा ६ हजारभन्दा बढी गम्भीर घाइते र २५ हजारभन्दा बढी घाइते भएका छन्।
यातायात व्यवसायी सरोज सिटौला ‘हायर एज्ड फायर’ नीति नभएसम्म यस्तो रोग बल्झिरहने सुनाउँछन्। यातायातसम्बन्धी नीति प्रस्ट नहुँदा अन्योल भएको उनले बताए। ‘दुर्घटनाका लागि धेरै पक्ष जिम्मेवार हुन्छन् तर दोष केबल चालकलाई दिइन्छ,’ उनले भने, ‘चालक नै मरेपछि सबै कुरा सामसुम हुन्छ।’
सडक विभाग सुरक्षा एकाइका प्रकाश भण्डारी नयाँ सडकमा मोटर गुडाउने लहरले पनि दुर्घटना बढेको सुनाउँछन्। पुराना सडकको पनि उचित मर्मत हुन नसकेको भन्दै उनले सडकसँगै सवारीसाधनभित्रको सुरक्षामा पनि ध्यान दिनुपर्ने सुझाए। प्रभावकारी ऐन अभाव रहेको पनि उनले सुनाए। ‘७–८ वर्षसम्म पनि एउटा ऐनले पूर्णता पाउन सकेको छैन,’ उनले भने, ‘सडक सुरक्षाको विषयलाई सबै क्षेत्रले गम्भीर भएर हेर्नु जरुरी छ।’
राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सूर्य ढुंगेल जिम्मेवार निकाय जनताप्रति उत्तरादायी हुन नसकेको बताउँछन्। बाँच्न पाउने अधिकार सबैको हुने भन्दै उनले राज्य गम्भीर बन्नुपर्ने बताए। ‘एउटा मान्छे दुर्घटनामा पर्दा ऊ मात्र मर्दैन, परिवारमा पनि अनेक समस्या पर्छन्,’ उनले भने, ‘यो गम्भीर समस्याको सम्बोधन सरकारले गर्नुपर्छ।’ यति बेला सरकारको ध्यान जनताको समस्याभन्दा पनि शक्ति बाँडफाँटमा गएको भन्दै उनले यो दुर्भाग्य भएको बताए।
कार्यक्रममा सांसद अमरेशकुमार सिंहले अधिकार सबैलाई चाहिने तर जिम्मेवारीबाट चाहिँ पन्छिने प्रवृत्तिका कारण समस्या भइरहेको बताए। हरेक दुर्घटनामा कोही न कोही त जबाफदेही बन्नैपर्छ।’ कार्यक्रममा दुर्घटनामा प्राविधिक र सरकारी जिम्मेवारीको कुरा हुँदै गर्दा केहीले भने यसको न्यूनीकरणमा फरक धारणा पनि राखे।
मानवशास्त्री सुरेश ढकाल दुर्घटना न्यूनीकरणमा समुदायको पनि उत्तिकै हात रहने बताउँछन्। समुदायसँग मिलेर अघि बढ्दा नेपालजस्तो भूगोल भएको देशमा सहज हुने उनको बुझाइ छ । सडक सुुरक्षसम्बन्धी अध्ययन गर्दैगरेका सञ्जीव न्यौपाने चालक र सहचालकलाई हेर्न दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्ने सुझाउँछन्।
प्रकाशित: ३० श्रावण २०८१ ०६:५३ बुधबार