१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

तनहुँमा डेंगी संक्रमितको उपचारका लागि ठाउँ छैन

आँबुखैरेनी अस्पताललाई हम्मेहम्मे

तस्बिर: एआई सहयाेगमा

तनहुँका पाँचवटा स्थानीय तहमा डेंगी संक्रमण फैलिएको छ। तीमध्ये सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ६ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले बताएको छ।

कार्यालयका अनुसार जिल्लाका पाँचवटा गाउँपालिकामा संक्रमित हुनेको संख्या ८ सय २२ पुगेको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदिप कँडेलका अनुसार आँबुखैरेनीपछि शुक्लागण्डकी नगरपालिकामा १ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।

सदरमुकाम दमौली पर्ने ब्यास नगरपालिकामा ५७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बन्दीपुर गाउँपालिकामा ३६ र भीमाद नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको कँडेलले जानकारी दिए।

भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा भने अहिलेसम्म संक्रमित पुष्टि भएका छैनन्।

‘सबैभन्दा बढी आँबुखैरेनीमा संक्रमण फैलिएको छ। संक्रमितको संख्या दिनहुँ थपिएको छ,’ उनले भने।

अघिल्लो वर्ष सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले अत्त्याएको थियो। ‘नियन्त्रणका लागि स्थानीय तहमा प्रयास भएका छन्। जनचेतना जगाउनेदेखि संक्रमितको उपचारमा सहजीकरण गर्नेसम्मका काम भएका छन्,’ कँडेलले भने। उनका अनुसार तनहुँमा असार १ पछि संक्रमित देखिन थालेका थिए।

सबैभन्दा बढी संक्रमण फैलिएको आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार अहिले गाउँपालिकामा संक्रमित दिनहुँ बढिरहेका छन्। डेंगी संक्रमित बढेपछि गाउँपालिकाले बिरामीको निःशुल्क उपचार थालेको पनि उनले बताए।

‘आर्थिक अभावमा बिरामीले उपचार पाउनबाट वञ्चित हुनु नुपरोस भनेर गाउँपालिकाको अस्पतालमा निःशुल्क उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीलाई थप उपचारका लागि अन्य अस्पताल लैजानुपरेमा पनि आर्थिक सहयोग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘असहाय र कमजोर आर्थिक अवस्था भएका बिरामीलाई जटिल अवस्था आउँदैमा उनीहरुसँग पैसा हुन्छ भन्ने होइन। त्यस्ता बिरामीको गाउँपालिकाले उपचार गर्नेछ।’

उनका अनुसार १५ शय्याको आँबुखैरेनी अस्पतालमा बिरामीको भिडभाड बढेर बेड नपुगेपछि अस्पतालभित्रको खालि ठाउँमा पनि बिरामी राखेर उपचार गरिएको छ।

‘अस्पतालभित्र भए जतिको खालि ठाउँमा बेड राखेर बिरामीको उपचार गरिरहेका छौं। अहिले पनि करिब ५० जनाको अस्पतालमा उपचार भइरहेको छ। बरन्डामा राखेर समेत उपचार गर्न बाध्य छौं,’ उनले भने, ‘बिरामीको चाप थेग्न हम्मेहम्मे भएको छ। दिनहुँ ५० जनाको हाराहारीमा संक्रमित थपिन्छन्।’

संक्रमणलाई कम गर्न गाउँमा सर-सफाइदेखि विभिन्न सचेतनामूलक कार्यक्रम चलाए पनि स्थानीयले सक्रियता नदेखाउँदा समस्या परेको प्रवक्ता गुरुङले बताए।

‘खाडल पुर्न र झाडी सफा गर्न पनि गाउँपालिकाको सहयोग खोजेपछि नियन्त्रणमा समस्या हुने रहेछ,’ उनले भने, ‘अहिले आँबुखैरेनी नै हटस्पट बनेको छ।’

उनका अनुसार स्थानीय अस्पतालमा भिडभाड बढेपछि बिरामीहरू थप उपचारका लागि करिब ४५ किलोमिटर परेको चितवनका विभिन्न अस्पतालमा गएका छन्।

गण्डकी प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ।

ती मध्ये सबैभन्दा तनहुँ र कास्कीमा संक्रमण फैलिएको छ। गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भएका थिए। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङ्जामा दुई गरि ७ जनाले ज्यान गुमाएका थिए। अघिल्लो वर्ष तनहुँपछि कास्कीमा २ हजार ८ सय ७५ जना संक्रमित बनेका थिए।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ।

फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।

पोखरामा २०७२/७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एक-एकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए।

त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाँडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: २९ श्रावण २०८१ १८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App