५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बस्तीमा बाघ पसेको भन्दै राजापानीवासी त्रसित

उदयपुर कैलालीको टीकापुरमा बजारछेउकै बस्तीमा बाघको आक्रमणले पशु चौपाया मारिरहेको खबर सार्वजनिक भइरहेका बेला यता खोटाङमा पनि बाघले बिझाइँ गर्न थालेको छ। जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका विभिन्न गाउँमा बाघले आतंक मच्चाइरहेको स्थानीयले बताए।

सुन नदी र साप्सु खोलासँग जोडिएको जंगलबाट गाउँ छिरेको बाघले खोरमै पसेर गाईका बाछा, बाख्रा र खसी मारिरहेको स्थानीय बताउँछन्। केही दिनयता बाघले स्थानीयको गोठमा बाँधेका गाई–भैंसीका बाछा, खोरमा थुनिएका खसी–बाख्रा र घर सुरक्षार्थ पालिएका कुकुर बाँधेकै ठाउँमा मार्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

गत शनिबार बिहान राजापानीका शम्भु भण्डारीको घरमा साङ्लोमा बाँधिराखेको कुकुर बिहान मरिरहेको अवस्थामा भेटियो। हलेसी तुवाचुङ– ११ को साबिक राजापानी गाविस २ भोगटिनीका देविका चौहानको घरको खाटमा बाँधिएको कुकुर पनि बाँधेकै ठाउँबाट हराएपछि खोज्दै जाँदा बाघको पञ्जा (पाइला) भेटिएको र २० मिटर तल झाडीमा टाउको फेला प¥यो । यस्ता घटनाले बाघ गाउँ पसेको प्रमाण हो।

त्यसको भोलिपल्ट भण्डारीकै खोरको एउटा खसी पनि बाघले मारेको अवस्थामा भेटिएको स्थानीय बताउँछन्। सोही दिन दिउँसो भोगटिनीकै अर्का एक किसानको बाख्रा चरणबाट घर फर्काउँदै गर्दा बाघले बाटो छेकेर आक्रमण गरी एउटा बोका मार्‍यो । गोठालाले मिलेर ढुंगा हान्दै धपाएका थिए। एकपछि अर्को पशु मार्न थालेपछि गाउँमा बाघ आतंक मच्चिएको भन्दै स्थानीयले सुरक्षार्थ प्रहरी प्रशासन र नगरपालिका गुहार्न थालेका छन्।

हलेसी तुवाचुङ ११ राजापानीका वडाध्यक्ष अनिश कार्कीले गाउँलेको मागअनुसार बाघको सुरक्षाका लागि प्रहरी प्रशासन र नगरपालिका गुहार्ने तयारी गरिरहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने बाघ गाउँ पसेको खबर आएको तर उजुरी भने कसैले नदिएको जनाएको छ। उता नगर प्रमुख विमला राईले बाघ आतंक फैलिएको भन्ने सुनेको बताउँदै वन्यजन्तुसम्बन्धी कुरा भएकाले वन प्रशासनसँग सल्लाह गरेर सुरक्षाको तरिका अपनाइने बताइन्।

प्रकाशित: २४ श्रावण २०८१ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App