५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

एक महिने गुँला पर्व सुरू

चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व सुरू भएको छ।

विशेष गरी बौद्ध समुदायले मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्धको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गर्ने गरिन्छ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो। यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ। आज बिहानबाट विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा सुरू भएको पर्व भदौ १९ गते सम्पन्न हुनेछ।

बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्वी नेवार समुदायले पनि पछिल्ला वर्षहरूमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए।

हरेक दिन दुईदेखि तीन सय धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाउने उनले जानकारी दिए।

एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरका विभिन्न मठमन्दिर, देवालय र विहार परिक्रमा गर्ने प्रचलन छ।

यस पर्वमा विशेष गरी भक्तपुरका बौद्ध चैत्यहरू, स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बहीलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ।

यस पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको न्याकुँ, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ वटा बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ। काठमाडौंवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्ने गर्दछन्।

भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व मनाउने गरिन्छ। धार्मिक दृष्टिकोणले यस पर्वसँगै नागपञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन्।

उपत्यकावासीले गाईजात्रा सापारुका दिन ललितपुरस्थित कुम्भेश्वर मन्दिर, काठमाडौंको स्वयम्भू, शोभा भगवती, गणबहालको सेतो मच्छिन्द्र्रनाथ र अन्तिम दिन ललितपुरको बुङ्मती, खोकना, कीर्तिपुरको जलविनायक र चोभारको आदित्यनाथ मन्दिरमा गएर विशेष पूजाआजा गरी सम्पन्न गर्ने गुरू महाबीर बज्राचार्यले बताए।

कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक तथा जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ।

गुरू बज्राचार्य यस पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताउँछन्। त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने भन्दै यस अवधिमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने र परस्त्री सम्पर्क नगर्नु राम्रो हुने उनको भनाइ छ।

यस्तै, सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने सके दशशील नै पालना हुने मान्यता छ।

स्थानीय महिलाहरूले चैतत्य तथा नेवारी पोशाक लगाएर परिक्रमा गर्ने प्रचलन छ। स्थानीयले बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको परिक्रमा गर्ने र पर्व अवधिभर माछामासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ।

प्रकाशित: २२ श्रावण २०८१ २०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App