९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

‘अवसर पाए काम गर्न तयार छौं’

जुम्लाको हिमा गाउँपालिका–६ पातरखोला गाउँका ३० वर्षीय सूर्यबहादुर अधिकारी अपांगता भएका व्यक्ति हुन्। उनलाई ह्विलचेयरको सहायता चाहिन्छ। अधिकारीका जन्मैदेखि दुइटै खुट्टा चल्दैनन्। घुँडा र हातको सहायताले उनी धेरैजसो काम ह्विलचेयरमा बसेर गर्छन्। अहिले सूर्य जुम्लाको हिमा गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुखको जिम्मेवारी रहेका अधिकारीको सक्रियता, मेहनत र लगाव देख्दा सहपाठी र सेवाग्राही अचम्मित हुन्छन्।

बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिला उनका सेवाग्राही हुन्। गाउँपालिकाभित्र हुने सामाजिक सुरक्षा शाखामा आउने सेवाग्राहीलाई प्राथमिकतामा पार्छन्। उनीहरूको काम सक्दो छिटोछरितोमा टुंग्याइदिन्छन् । सेवाग्राही पनि निकै खुसी र मक्ख हुन्छन्।

अहिले जुम्लाको सदरमुकाम खलंगामा बसोबास गरिरहेका उनी प्रायःजसो हिमा गाउँपालिका कार्यालयसम्म दैनिक ३५ किलोमिटर सडक यात्रा गर्छन्। उनलाई कार्यालयले तीन पांग्रे स्कुटर उपलब्ध गराएको छ। बाल्यकालमा पाएको दुःख सम्झेर उनी अझै पनि भक्कानिन्छन्। उनी भन्छन्, ‘समाजमा अपांगता भएर जन्मनु अपराध गरे जस्तै लाग्थ्यो।’

उनले माध्यमिक तहको शिक्षा गाउँनजिकैको भानु मावि पातरखोलाबाट पूरा गरे । तर कहिल्यै स्कुलको मुख देख्न पाएनन्। कठिन भूगोल भएकाले स्कुलसम्म आउजाउ गर्न पनि निकै जोखिम थियो। अभिभावकहरूले सधैं बोकेर स्कुल पुर्‍याउने फुर्सद थिएन। उनले घरमै बसेर पढे । परीक्षाको बेला मात्र अभिभावकले बोकेर स्कुल लैजान्थे। उनले गुनासो गरे। ‘मैले न स्कुल देखें। न त शिक्षकहरू नै,’ उनले भने, ‘किताब किनेर घरमै पढें । स्कुलमा पढाइ भएका कुरा साथीहरूबाट सुनेर परीक्षामा सामेल भएँ।’

माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेपछि उनी सदरमुकाम खलंगातिर प्रवेश गरे । सदरमुकामस्थित चन्दननाथ माविमा उनी शिक्षा संकायमा भर्ना भए। २०६९ असार ३ गते कर्णालीको पहिलो रेडियो कर्णाली एफएमको वार्षिकोत्सव थियो। उक्त कार्यक्रममा घुँडा टेकेरै पुगेका उनले सबै सामु विषसेवन गरे। ‘मलाई कसैले हेर्दैनन्। म यो संसारमा बाँच्नु र मर्नुमा कुनै अर्थ छैन भन्दै अन्तिम निर्णयमा पुगें । त्यसपछि सरोकारवालाको ध्यान पुग्यो,’ उनले भने। अपागंता पुनःस्थापना तथा विकास केन्द्रले तत्कालीन शिक्षा कार्यालय, जिल्ला प्रशासन, सम्बन्धित स्कुलसँग छलफल सुरु गर्‍यो। उतिबेला पहिलोपटक आइएनएफ नामक गैरसरकारी संस्थाबाट उनले हिृवलचेयर पाए। उनले लोकसेवा परीक्षा दिएर सरकारी सेवा प्रवेश गर्ने धोको बुन्न थाले। किताब किने। रातदिन पढ्न थाले तर सफल हुन सकेनन्।

शिक्षा संकायबाट स्नातक पास भइसकेका उनले २०७३ देखि २०७४ सालसम्म तत्कालीन महिला तथा बालबालिका कार्यालको हेल्प डेस्कमा काम गर्ने अवसर पाए। २०७५ देखि २०७६ सम्म आइएनएफको सिबिएम परियोजना संयोजकको जिम्मेवारी पाए। जसबाट उनलाई पढाइ खर्च र कोठाभाडा तिर्न राहत मिल्यो। २०७६ देखि उनी करारमा हिमा गाउँपालिकाको सामाजिक सुरक्षा शाखामा कार्यरत छन्। श्रीमती, दुई छोराछोरी र बुवाका साथ खलंगामा बसोबास गर्छन् उनी। 

प्रकाशित: २० श्रावण २०८१ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App