४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्व बाघ दिवसः शुक्लाफाँटा निकुञ्जमा पाटेबाघको सङ्ख्या बढदै

बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर ३६ पुगेको छ । बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर प्रयाप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।

निकुञ्जमा भाले पाटेबाघ १२, पोथी १६ र अन्य आठ गरी ३६ वटा बाघ रहेका कार्यालयका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । उनका अनुसार ३६ मध्ये २८ बाघ क्यामेरा ट्रयापिङामा देखा परेका हुन् ।

सन् २०१९ अघिसम्म पाटेबाघको सङ्ख्या निकुञ्जमा १७ थियो । त्यसपछि बाघको सङ्ख्या बढदै गएर दोब्बर भएको ऐरले बताए । थोरै क्षेत्रफल भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा रहेको सूचना अधिकारी मनोज ऐरको भनाइ छ ।

‘निकुञ्जको कोर क्षेत्रमा रहेको शुक्लाफाँटमा सबैभन्दा बढी बाघको घनत्व रहेको छ’, उनले भने, ‘त्यसपछि निकुञ्जको चौधर नदी आसपासको क्षेत्र, शिकारी ताल क्षेत्र बाघको बासस्थानका रुपमा रहेको छ ।’ अनुगमनका क्रममा चुरे क्षेत्रमा पनि एउटा पाटेबाघ देखापरेको उनले जानकारी दिए ।

ऐरका अनुसार पाटेबाघको आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आइएको छ । निकुञ्जमा ५५ बढी सानाठूला प्राकृतिक ताल छन् ।

‘निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्दछ । बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिलेकाही बाघको सङ्ख्या कमबढी देखिन्छ । पाटेबाघ भारतीय लग्गा वग्गा नेशनल पार्क हुँदै पिलिभितसम्म ओहरदोहर गर्ने गरेको पाइएको छ’, ऐरले भने । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु ९अनुसूची १०० मा पाटेबाघ सूचीकृत छ ।

सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण गर्न थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार पाटेबाघ मार्ने तथा यसका अङ्गको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र  १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रूपमा रहेको छ । 

प्रकाशित: १४ श्रावण २०८१ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App