१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

जिल्ला कारागार ताप्लेजुङमा ५० प्रतिशत कैदीबन्दी जबरजस्ती करणी मुद्दाका

ताप्लेजुङ कारागार

जिल्ला कारागार ताप्लेजुङमा कूलमध्ये पचास प्रतिशतभन्दा बढी जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगको मुद्दा झेलिरहेका कैदी तथा थुनुवा रहेको पाइएको छ।  

जिल्ला कारागार कार्यालय ताप्लेजुङका प्रमुख कूलेन्द्र खवासका अनुसार ताप्लेजुङ कारागारमा अहिले १ सय २३ कैदी र २२ थुनुवा गरी १ सय ४५ जना छन् । उनीहरुमध्ये ७३ जना जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगको मुद्दा झेल्नेहरु रहेको कारागार कार्यालयले जनाएको छ । यो संख्या कुल कैदीबन्दीको ५०.३४ प्रतिशत हुन आउँछ ।  

कारागारका अनुसार जबरजस्ती करणी उद्योगका ४० कैदी र ९ थुनुवा छन् । हाडनाता करणीका ९, जबरजस्ती करणी उद्योगका ९ कैदी र ३ थुनुवा, वालबालिका जवरजस्ती करणी उद्योगका २ थुनुवा र कर्तव्य ज्यान तथा जबरजस्ती करणीका १ कैदी रहेका छन् । करणीपछि ज्यान मार्ने उद्योगका ३५ जना कैदी तथा थुनुवा रहेको कारागार प्रशासनको तथ्यांक छ।  

यस्तै ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका १, डाका र चोरी मुद्दाका ६, लागु औषधका ६ र सवारी ज्यानका ३ जना कैदी तथा थुनुवा कारागारमा रहेका छन् ।  

२५ जना कैदी तथा थुनुवा अट्ने गरी १९९२ सालमा निर्माण भएको ताप्लेजुङ कारागार ३ रोपनी क्षेत्रफलमा फैलिएको छ। कारागारभित्र साना ठूला गरी ९ वटा घर छन् । जीर्ण र पुरानो भवन, साँघुरो क्षेत्र र क्षमताका आधारमा ज्यादै कम क्षमताको संरचनाले ताप्लेजुङका कैदीबन्दीले भने सास्ती नै खेप्नु परिरहेको छ ।  

प्रकाशित: १४ श्रावण २०८१ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App