६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीन सातादेखि बालिकाको शव अस्पतालमै

काठमाडौं – तीन साताअघि काठमाडौंको नक्सालमा झुन्डिएकी भनिएकी बालिकाको मृत्युको कारण आत्महत्या नभई अन्य कारण हुनसक्ने बताउँदै आफन्तले शव बुझ्न मानेका छैनन्।

उनीहरुले घटनाको उचित छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन्।

गत फागनु २६ गते शनिबार सानिमा विकास बैंकका उच्च तहकका कर्मचारी बबिसिंह गर्तौलाको घरमा काम गर्न बसेकी सिन्धुपाल्चोक त्रिपुरा–३ की १४ वर्षीया बालिका रीता थामीको मृत्यु भएको थियो।

गर्तौला परिवारले मृत्युको कारण बालिकाको आत्महत्या बताएका छन्। अध्ययन र फरेनसिक विभागको पोस्टमार्ट रिपोर्ट, घटनाको प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य कारण हुन सक्ने आशंकामा शव नबुझेको आफन्तले जनाएका छन्। ‘घटनाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार देखिँदैन, उचित छानबिन नभएसम्म शव बुझ्दैनौं,’ बालिकाकी आफन्त दिदी हिरामाया थामीले भनिन्।

घरधनी गर्तौलाले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएको घटना भने पनि प्रहरीलाई कुनै खबर नगरी शव अस्पताल पुग्नु, झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रशस्त आशंका जन्माएको पीडित परिवारको छ। ‘फरेनसिक विभागले झुन्डिएको भागमा डाम देखिएको र ‘अनडिटरमिन’ भनेको छ, कसरी झुन्डिएको मान्नु?’ दिदी थामीले भनिन्।

सुरुमा घटनाको छानबिन महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको थियो। वृत्तको कारबाही प्रक्रियामा ढिलासुस्ती लागेपछि पीडित पक्षले हनुमान ढोकामा जाहेरी दिएका  थिए। प्रहरीले घटनाको थप छानबिन गर्ने भन्दै महानगरीय अपराध महाशाखा टेकुले बालिकाको शवका अंगहरु नाष्टमा पठाएको छ। नाष्टमा पठाएको रिपोर्ट समय बितिसक्दा पनि प्रहरीले नलिएकोमा पीडित पक्षको गुनासो छ। ‘हामीलाई तीनदेखि एक हप्ताभित्र आउँछ भनेका थिए, जाँदा प्रहरीले फलोअप नगरेको पाइयो,’ दिदी थामीले भनिन्।

घटना विवरणअनुसार शौचालयमा अचेत अवस्थामा रहेको भन्दै गर्तौला परिवारले बालिकालाई हिमाल अस्पताल पु¥याएका थिए। अस्पताल पुग्नेवित्तिकै चिकित्सकले बालिकाको पहिला नै मृत्यु भएको घोषणा गरेका थिए। मृत्यु घोषणा गरेको अस्पतालले नै प्रहरीलाई खबर गरेको थियो। प्रहरी अनुसन्धानको क्रममा गर्तौला दम्पत्तिले शौचालयमा झुन्डिएको देखेपछि पासो फुकाएर अस्पताल लगेको बयान दिएका छन्।

घटनापछि प्रहरीले गर्तौला दम्पत्तिलाई पक्राउ गरी एक दिनपछि धरौतीमा छोडेको छ। घटनाको एक हप्तापछि बालिकाको पोस्टमार्टम भएको छ। त्रिविवि शिक्षण अस्पतालले गरेको पोस्टमार्टम रिपोर्टमा  अनडिटरामाइन, झुन्डिएको भागमा निलडाम नभएको उल्लेख भएको घटनाबारे अध्ययन गरिरहेको सिविन नेपालले जनाएको छ।

दिदी हीरामायाका अनुसार बालिकालाई दुई वर्षअघि गर्तौलाले पढाइदिने सर्तमा सिन्धुपाल्चोककै उर्मिला भुजेलमार्फत घरमा लिएका थिए। भुजेल हाल वैदेशिक रोजगारमा गएकी छिन्। गर्तौला परिवारले कुनै पनि सर्त पूरा नगरेको पीडितको आरोप छ। ‘न स्कुल पढाइदिए, न पारिश्रमिक दिए,’ दिदी थामीले भनिन्। घटनाको १२ दिनअघि बालिकाले आफ्नी दिदी राममाया थामीलाई  फोन गरी बालिकाले आपूmलाई फोन गर्न नदिने, फोन गरे गाली गर्ने हुनाले लुकेर अरुको फोनबाट कुरा गरेको बताएकी थिइन्।

बालिकालाई कतै हिंड्न, भेट्न नमिल्ने गरी राखेको हुनाले बालिकाको शोषण भएको शिविन नेपालले जनाएको छ। ‘बन्दीजस्तै गेटबाट कतै जान मिल्ने अवस्था रहेनछ, न त सर्तअनुसार बालिकालाई पढाइएको नै देखिन्छ’ सिविन नेपालका सागर भण्डारीले भने। प्रहरीले सुरुमै जोहरी लिनै नमान्नु र पक्राउ गरेको भोलिपल्टै आरोपितलाई छोड्नुले कारबाही प्रक्रियामा शंका गर्ने ठाउँ रहेको सिविनले जनाएको छ। ‘प्रहरीले आफैं निर्णय गर्नुभन्दा पनि कानुनी प्रक्रियामै लैजानु पर्छ भन्ने हाम्रो माग हो,’ भण्डारीले भने।

महानगरीय प्रहरी  परिसर  टेकूका अनुसार नास्टको रिपोर्ट आउन ढिला भएको जनाएको छ। परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार घटनाको प्रकृति शंकास्पद भएकाले थप अनुसन्धानका लागि परीक्षणहरू भइरहेको  बताए। ‘प्रहरीको अनुसन्धानमा पनि घटना शंकास्पद छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने। फरेनसिक विभागले यकिन किटान रिपोर्ट नदिएकाले थप अनुसन्धान गर्नु परेको उनले बताए।

मृतक बालिकाको पिताको पहिल्यै मृत्यु भएको र आमाले दोस्रो विवाह गरेकाले विवाहित दिदीले पालनपोषण गर्दै आएकी थिइन्। दुई वर्षअघि आमाको गाउँ सिन्धुपाल्चोक फुल्चुङधकट्टी–४ गएको बेला सोही गाउँकी उर्मिला भुजेलले पढाउने सर्तमा काठमाडौं लैजाने भनेपछि आमाले गर्तौलाको घर पठाएकी थिइन्।

प्रकाशित: १६ चैत्र २०७४ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App