२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

२० करोडका योजनामा अख्तियारको नजर, भौतिक पूर्वाधार विकास कार्यालय बाराको फाइलहरू जफत

भौतिक पूर्वाधार विकास कार्यालय बाराले बोलपत्र आह्वानमा वितरण गरेको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले नियन्त्रणमा लिएको छ।

२० करोड बजेट रकमको टुक्रा गरेर कोटेशनमार्फत् सञ्चालन गरेको योजनाहरूको फाइलहरू अनुसन्धानका लागि सोमवार नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख उमाकान्त आर्चायले भौतिक पूर्वाधार कार्यालय बाराले आर्थिक वर्ष २०८०/८१ मा कोटेशन मार्फत सञ्चालन गरेको योजनाहरूका फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए।

लगभग दुई सय वटा कोटेशनहरूमार्फत दुई वटा सडकमा साढे २० करोड जति भुक्तानी गरिएकोमा त्यसको छानबिन गर्नका लागि फाइलहरू नियन्त्रणमा लिएको उनको भनाइ छ।

योजनाहरु नियम सम्वत छनौट नगरेर त्यसलाई नियम विपरित आफूखुशी टुक्रा टुक्रा गरेर एउटै सडकमा १० करोडको विभिन्न निर्माण कम्पनीहरूलाई कोटेशनमार्फत भुक्तानी दिएको बुझिएको आचार्यले बताए।

कोटेशनमा बाँडिएको योजनाहरूको बारेमा नागरिक दैनिक र नागरिक अनलाइनमा  समाचार आउन थाले पछि अख्तियारले कोटेशनमा बाँडिएका योजनाहरूको फाइलहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

निर्माण व्यवसायी संघ बाराका सचिव धिरेन्द्र जैसवालले पूर्वाधार विकास कार्यालय बाराले कोटेशनमा बाँडिएका योजनाहरूको अधिकांश रकम दुरुपयोग गरिएको आरोप लगाएका छन्।

पुर्व–पश्चिम महेन्द्र राजमार्गको १३ किलो मिटर भन्ने स्थानबाट मधुवनसम्म, नौतन चौकदेखि बारा बजारसम्म, गढीमाई मन्दिरदेखि गंजभवानीपुर, सिमरा तेगछीयदेखि गढीमाई मन्दिर, ईनर्वा चौकदेखि बरियारपुर चौकसम्म, बरियारपुर बजारदेखि पश्चिम भुटही जाने सडक लगाएतको सडकमा उक्त रकम बिनियोजित गरिएको थियो।

प्रकाशित: ८ श्रावण २०८१ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App