१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्त्वपूर्ण न्यायाधीश राउत

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चार माध्यमको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अङ्गको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताए । उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठुलो मूल्य चुकाउने बताए।

न्यायाधीश राउतले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औँल्याए । लोकतन्त्रको मर्म मर्ने गरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ। उनले गलतलाई गलत र सहीलाई सही भन्न सक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताए।

न्यायाधीश राउतले निहित स्वार्थहरूको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गरे ।उनले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताए ।उनले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गरे  ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानुन क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेर्न आवश्यक रहेको बताए। उनले विभिन्न देशहरूले पनि कानुन क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको बताए। 

उनले न्यायाधीशहरू र अदालतका कर्मचारीहरूले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरूबिच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको धारणा राखे । उनले पछिल्लो समय अदालतको रिपोर्टिङ प्रसारणका साधनहरूमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने बताए । सबैको पहुँचमा सूचना पुग्ने कुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलको भनाइ छ ।

नेपाल बार एसोसिएसनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढङ्गबाट सम्प्रेषण गर्न आवश्यक रहेको बताइन । उनले अरुको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको धारणा राखिन। उनले सञ्चारमाध्यमले सत्य तथ्य समाचार नागरिकहरूसमक्ष पुर्‍याउँदा नै समाज सही बाटोमा जाने धारणा राखिन।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भए मात्रै देशका लागि फाइदा हुने बताए । उनले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रसारण गर्नुपर्ने बताए । उनले अदालतले फैसला र आदेशमार्फत मात्रै बोल्न सक्ने र अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहम् दायित्व हुने धारणा राखे । सञ्चारमाध्यमले स्वच्छ रुपमा अदालतका कुराहरू बाहिर ल्याउन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । उनले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताए । उनले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको बताए । उनले पत्रकारहरू डिजिटल माध्यमका कारण बढी सुविधा भोगी भएको बताए।

उनले न्यायालयमा धेरै हदसम्म परिवर्तन आएको पनि धारणा राखे । प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने बताए। उनले अहिले झन्डै दुई तिहाइको सरकार बन्न लागेको उल्लेख गर्दै अदालत र पत्रकार एक ठाउँमा बसेर छलफल गर्ने कुरा सुखद भएको पनि धारणा राखे। 

प्रकाशित: २९ असार २०८१ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App