बस्तीको बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल दिउँसो ४ बजेपछि खुलेको छ।
वर्षा रोकिएको र बाढीको पानी सुकेको साथै बाढीको जोखिम पनि नदेखिएकाले विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवाराज भण्डारीले जानकारी दिए।
बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो। उनका अनुसार बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो। विमानस्थलको पार्किङ क्षेत्रमा र हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो।
तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेका कारण वर्षा र बाढीको प्रभाव कम भएसँगै विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको हो। विराटनगर विमानस्थलबाट दैनिक औषतमा १८ वटा फ्लाइट हुने गरेको छ।
प्रकाशित: १२ असार २०८१ १७:३७ बुधबार