५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

महिनावारीमा बिदाको पहल गर्दै छु : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउन राज्यले बिदाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

एक्स-पोज नेपालले १०औं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस उपलक्ष्यमा मंगलबार राजधानीमा गरेको साइकल र्‍यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले बिदाको व्यवस्था गर्न पहल गर्ने बताइन्।

महिला हिंसा तथा महिनावारीसम्बन्धी काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेक वर्षझैं यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्‍याली गरेको छ। यस वर्ष ‘महिनावारीमैत्री विश्वव्यापी हातेमालो’ भन्ने नाराका साथ मनाइएको छ। यो हरेक वर्षको मे २८का दिन मनाइन्छ।

आयोजक एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात् सात वर्षपहिले गरेको पहिलो साइकल र्‍यालीमा जम्मा ७२ जना सहभागी भएकामा एक जना महिला सहभागी भएको बताए। उनले यस वर्ष चार सय ५० सहभागीमा ७५ प्रतिशत महिला र्‍यालीमा सहभागी भएको जानकारी दिए।

युनिसेफका प्रतिनिधि जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए। उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए। ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने धारणा राखिन्।

उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन्। उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्येक विद्यालयमा महिनावारी सम्बन्धी सहजीकरण कार्यक्रम गरिरहेको जानकारी दिइन्।

राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसँग सम्बन्धित रहेकाले वातावरण प्रदूषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए।

उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकाले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदूषण घटाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १६ जेष्ठ २०८१ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App