६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विपद् पूर्व तयारीका लागि सबै निकाय समेटेर टास्क फोर्स बनाउँदै सरकार

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्राधिकरणले हरेक वडासम्म नै संरचना निर्माणको योजना बनाइरहेको जानकारी दिएका छन्।

उनले यस पटकको विपद्को पूर्व तयारी र विपद्का समयको तयारीका लागि गृह मन्त्रालयले सबै निकाय समेटेर टास्क फोर्स बनाउने निर्णय नै गरिसकेको जानकारी दिए।

विपद्का समयमा सञ्चारमाध्यमको भूमिका अति नै महत्त्वपूर्ण हुने र त्यसमा पनि सामुदायिक रेडियो अझै प्रभावकारी रहेको पाइएको बताए।

भूकम्प, बाढी पहिरो लगायत विपद्का समयमा सामुदायिक रेडियो र रेडियोकर्मीले आफैँलाई जोखिममा पारेर पनि सूचना र समाचार सम्प्रेषण गरेकोमा उनले धन्यवाद दिए।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘विपद्मा सामुदायिक रेडियो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपद्का समयमा सूचनाका लागि सामुदायिक रेडियो भरपर्दो माध्यम भएको बताए।

सहभागीले रेडियो सूचना र जानकारी प्राप्त गर्नका लागि मात्र नभएर विपद्का बेलाको मनोसामाजिक परामर्शका लागि समेत अति उपयोगी रहेको कार्यक्रममा सहभागी वक्ताहरूले बताए।

नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन शाखाका प्रमुख सागर श्रेष्ठले पछिल्लो समय रेडियोका श्रोता घटेको भन्ने गरिए पनि अहिले पनि बहुसंख्यक नेपाली र नेपालको अधिकांश क्षेत्रमा सूचनाको पहिलो स्रोत रेडियो नै रहेको बताए।

देशका सबै भागमा इन्टरनेटको पहुँच पुगिसकेकाले समुदायको साथी रेडियो नै भएको श्रेष्ठको भनाइ छ। उनले रेडक्रसका स्वयंसेवकसँग सामुदायिक रेडियोले मिलेर काम गर्न सकिने बताए। विपद् जोखिमबारे समुदाय स्तरमा सूचना सम्प्रेषण गर्न सामुदायिक रेडियोले पु¥याइरहेको योगदानको उनले प्रशंसा गरे।

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले विपद्सँग सम्बन्धित समुदायका हरेक चासो र चिन्तामा सामुदायिक रेडियोसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेकाले यसको न्यूनीकरणका लागि रेडियोले भूमिका खेल्नुपर्ने उनले बताए।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव पार्वता गौतमले बहु विपद्को जोखिममा रहेको नेपालमा विपद्बाट जोगिन सामुदायिक रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। यस वर्ष आगलागीको जोखिमलाई कम गर्न रेडियोले प्रसारण गरेको सूचना नागरिकको जीवन र प्रकृति जोगाउन सहयोग गरेकोमा उनले धन्यवाद दिइन्।

सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले विपद्का समयमा सामुदायिक रेडियोले नागरिकलाई सूचना, सञ्चार, शिक्षा र मनोवैज्ञानिक सहजीकरणमा अतुलनीय योगदान गरेका कारण जापान लगायत देशमा राज्यले नै सामुदायिक रेडियोलाई जगेर्ना गरेर राखेको उल्लेख गरे।

नेपालका सामुदायिक रेडियोहरूको दिगोपनाका लागि सबैले सोच्नुपर्ने बेला आएकोमा उनले जोड दिए।

प्रकाशित: १५ जेष्ठ २०८१ १७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App