७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानका नन्दलाल

नागरिक नायक

गाउँमा एसएलसी गरेको मान्छे भेटिदैन थिए। एसएलसी गरेका मान्छेलाई सरकारले खोजी खोजी सिधै सरकारी जागिरे बनाइदिन्थ्यो, विसं २०२० को दशकमा। त्यसै समयमा डोटीको दिपायल सिलगढी–५, पुन्नाका नन्दलाल भट्टले पनि एसएलसी गरे। एलएलसीपछि आफन्त, घरपरिवार तथा सरकारका मान्छेले उनलाई पनि सरकारी जागिरेको भूत चढाइदियो। विसं २०२३ सालमा वन कार्यालयमा तालिम खुल्यो।

उक्त तालिममा सहभागी भएका भट्टको फरेस्टरमा नाम निस्कियो। केही महिना जागिरपछि उनलाई पुनः रेञ्जर पदका लागि तालिम दिन सरकारले छान्यो। भारतको देहरादूनमा तालिममा जानुको साटो जागिरै छाडिदिए र लागे कृषि पेशामा।

त्यसबेला भातसँग तिहुन तथा दाल मात्रै खाने चलन थियो। करेसाबारीमा प्रायः तरकारी रोपिदैनथ्यो। उनी भारतको गुजरातमा पढेका थिए। भारतमा रहँदा खान्कीका अनेक अवतार देखे। त्यहाँ रहँदा तरकारी खाने बानी परेका भट्टलाई पहाड फर्कदा खानासँग तरकारी नपाएपछि यसैको खेती गर्नुपर्छ भन्ने लाग्यो। यसपछि उनी सरकारी जागिर हापेर घरपरिवार अनि गाउँलेलाई तरकारी खुवाउने अभियानमा उनी होमिए।

उनी भन्छन्, ‘मैले नै गाउँमा पहिलो पटक प्याजको गानाबाट बीऊ बनाएर त्यसलाई गाउँमा विस्तार गरेँ ।’ उनले २०२६ सालमा डोटीको द्वारी खोला छेउमा रहेको जमिनमा व्यावसायिक तरकारी खेतीको सुरुवात गरे। उनले कृषिसँगै डोटीमा रहँदा सामाजिक क्षेत्रमा पनि काम गरे।

२०४२ सालमा उनी पहाडबाट कैलालीको लालपुर बसाइँ सरे। लालपुरमा रहँदा उनले २०४३ सालमा किसानहरूलाई संगठित गरेर श्रीपुर साना किसान सहकारी संस्था जन्माए। सुदूरपश्चिमका नौ जिल्लामध्ये कृषिका लागि उर्वर भूमि भनेकै कैलाली र कञ्चनपुर हुन्। त्यहाँ कृषि तथा पशु विकासमा हाल जे जति विकास भएको छ, त्यो यहाँको निजी क्षेत्रले गरेको अथक प्रयासबाटै सम्भव भएको हो।

२०४२ सालमा उनी डोटीबाट कैलाली झर्दा कुनै कृषि उपजको व्यावसायिक रुपमा अभ्यास भएको थिएन। सबै उत्पादनका लागि भारतकै भर पर्नुपर्थ्याे। कैलाली कञ्चनपुरमा भारतीय व्यापारीको हालीमुहाली थियो। त्यहीबेला कैलालीको लालपुरमा तरकारी खेतीको सुरुवात नन्दलालले गरेका थिए।

उनकै अगुवाइमा व्यवसायिक तरकारी खेती गर्ने किसान त बढे, तर उनीहरूले उत्पादन गरेको तरकारीका लागि बजार अभाव थियो। अत्तरिया र धनगढीमा भारतीय मूलका व्यापारीको कब्जा थियो। क्रमिक रुपमा त्यसको व्यवस्थापन गर्दै गएपछि ग्रामीण भेगमा बसेर तरकारी उत्पादन गरिएका उत्पादनलाई धनगढी तथा अत्तरियाको बजारसम्म पुर्‍याउन बाटो खुल्दै गयो।

‘एकातर्फ किसान थिए भने अर्कोतर्फ साहुमहाजनहरू पाँचदेखि १० प्रतिशतसम्म ब्याजमा ऋण दिएर किसानको आयस्तरलाई बढाउनुको साटो खस्काइरहेका थिए,’ उनले भने, ‘त्यो बेला कयौँ कृषकहरू चर्को ब्याजका कारण आफू बसेकै स्थानबाट विस्थापित भएका थिए।’

अवस्था बिग्रदै गएपछि किसान बचाउने उपायका रुपमा सहकारी भरपर्दो माध्यम बन्न सक्ने विचार पलायो। ‘मैले साना किसान सहकारी संस्था स्थापनाको अभियान चालेपछि सुरुमा २५ सयबाट सुरु गरेको सहकारीमा अहिले अर्बौंको पुँजी पुगेको छ,’ उनले भने, ‘सहुलियत रुपमा ऋण उपलब्ध गराएर कृषिमा लगानी प्रमुख एजेण्डाका साथ अघि बढायौँ र सहकारी अभियानलाई मालाखेती, धनगढीलगायत आवश्यक सबै स्थानहरूमा सुरु गर्दै लगेपछि कृषकको आयस्तरमा बढोत्तर आयो।’

त्यही बेला किसान कृषि पेशाबाट थोरै भए पनि पलायन हुनेक्रम घट्दै गएको उनको अनुभवले बताउँछ।

उनकै अगुवाईमा २०५५ सालमा तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुवै अञ्चलबाट पशु बीमाको शुभारम्भ भएको थियो। अहिले साना किसानमा मात्रै एक लाख बढी गाईभैसीको पशुबीमा गरिएको छ। कृषि, तरकारी, र पशुमा चालेको अभियानमा साहूमहाजनहरू खुबै चिढिए।

धेरै समयसम्म उनको विरोध भइरह्यो। तर, कृषकको साथ र सहयोगले आफ्नो अभियानलाई छोडेनन्। ‘किसानको छोरो भन्ने अर्का देशमा उत्पादन भएको तरकारी र अन्न आयात गरेर उपभोग गर्ने,’ उनले भने, ‘त्यही इगो लिएर म भारतीय तरकारी र दूध रोक्न भन्सारमा आफैँ अगाडि सरेँ। सभा समारोहमा ठूलठूला भाषण गरेर कृषिकै कुरा गर्ने तर, नेताहरूकै घरमा अन्नबाली र तरकारी भारतबाट आयात हुने गर्दथ्यो। यसरी कृषिको विकास हुन सक्दैन भनेरै म आफैँ भन्सारमा उभिएर भारतीय दूध तथा तरकारी प्रतिबन्ध लगाउन दबाब दिएँ।’

२०५० को दशकताका अत्तरिया क्षेत्रमा वन फँडानी तीब्र बन्यो। यसलाई कसरी रोक्न सकिन्छ भनेर उनले अत्तरिया रेन्जपोष्ट अन्तर्गतका सामुदायिक वनको अध्यक्ष भएर कैलालीलगायत क्षेत्रको वन अतिक्रण रोक्न विशेष प्रकारका कार्यक्रम सञ्चालन गरे। लालपुरमा वन मासिएर नाङ्गो भएको थियो।

चितवनबाट सिसमका विरुवा झिकाएर दुईसय हेक्टरमा विरुवा रोपियो। त्यो बेला रोपिएका सिममका विरुवा अहिले ठूला रुख बनिसके। अतिक्रमण हुन थालेको वन क्षेत्र अहिले जोगिएको छ। भट्टको मूल उद्देश्य कृषि अभियान भए पनि समस्या देखिएका हरेक क्षेत्रमा काम गर्न अग्रसर भइरहन्छन्। उनी सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन्। उमेरले ७५ वर्ष कटिसकेका भट्ट अहिले पनि दैनिक सामाजिक काममा अगाडि नै देखिन्छन्।

भारतीय तरकारी रोक्न तथा भारतीय मूलका व्यापारीको हालिमुहाली कम गर्न भट्टले अत्तरिया र धनगढीमा हाट बजारको योजना बनाए। उनले किसानका समस्या नजिकबाट नियाल्दै धनगढी र अत्तरियाको बजार व्यवस्थापन गर्ने कार्यमा लामो समय बिताए। सानो हाटबजारका रुपमा स्थापित अत्तरियालाई क्षेत्रीय हाट बाजारको रुपमा स्थापित उनकै अगुवाइले सम्भव भएको थियो। त्यही बेला सहकारीका सदस्यहरूलाई साथमा लिएर बजार विस्तार गर्ने काम भयो।

अहिले प्रदेशकै प्रमुख बजारको रुपमा अत्तरिया तरकारी तथा फलफूल बजारका रुपमा चिनिन पुगेको छ। १३/१४ सय सदस्यहरू जम्मा भएर किसानले उत्पादन गरेका हरेक वस्तु बजारमा ल्याएर धनगढी तथा अत्तरियामा बिक्री गर्न सुरुवात त्यही समयदेखि भयो।

२०४२ सालमा उनले काउली, बन्दा र आलुलाई त्यस क्षेत्रमा लोकप्रिय बनाए। उत्पादित तरकारीलाई ट्रकका हिसाबले बेच्न सुरुवात गरे। त्यसको दशकपछि २०५१ सालमा केरा खेती सुरुवात गरे।

दुई बिघामा केरा खेती गरेका उनलाई तत्कालीन श्री ५ को सरकारबाट २०५९ कृषि क्षेत्रमा योगदान गरेको भन्दै गोरखा दक्षिणबाहु सम्मान प्रदान गरिएको थियो। जुन दिन अत्तरिया र धनगढीमा कृषि हाटबजार हुँदैन तबसम्म सम्मान लिन्नँ भनेपछि २०६२ असार १६ गते क्याबिनेटबाटै हाटबजारलाई भोगाअधिकार कृषि मन्त्रालयमा निहित रहने गरी सञ्चालन गर्ने दिइने निर्णय गरियो। तीन विगाहा १८ कट्टा जमिन मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर अत्तरिया कृषि हाट बजारले प्राप्त गर्‍यो। जग्गा प्राप्त भएपछि व्यवस्थित बजारीकरणका लागि पूर्वाधार विकासको काम अघि बढायो।

हिजोसम्म फुटपाथमा देखिने कयौँ व्यवसायी अहिले ठूला व्यापारीको रुपमा चिनिएका छन्। अत्तरियाको तरकारी बजार विस्तारमा एसियाली विकास बैङ्क, नेपाल सरकार, एनजीओ/आइएनजीओहरूको पनि भूमिका रहेको छ। त्यो समयमा सबैले सहयोग गरे पनि तत्कालीन जिल्ला विकास समितिले कुनै सहयोग नगरेकोप्रति उनको चित्त दुखाई छ। जिल्ला विकास समितिले उल्टो कृषि उत्पादनबाट निकासी र पैठारी कर उठाएर समस्या मात्रै सिर्जना गरेको उनी अहिले पनि सम्झन्छन्।

उनकै पहलका कारण नेपाल सरकारको संघीयअन्तर्गत देशभरमा चलेका ११ वटा कृषि बजारमध्ये अत्तरियाको कृषि बजार व्यवस्थापन समिति पनि एक हो। जुन सुदूरपश्चिमको पहिलो र ठूलो कृषि बजार हो।

अहिले यहाँबाट मात्रै दैनिक ५० देखि ७० लाख रुपैयाँको तरकारी कारोबार हुने गरेको छ। जुन सुदूरपश्चिमका किसानले फलाएको तरकारी तथा कृषि उपज पाइने गरेको छ। उनी यो कृषि बजारको २७ वर्षदेखि अनवरत अध्यक्ष छन्। यहाँका किसान भट्टबाहेक अन्यलाई अध्यक्ष स्वीकार्दैनन्।

यस्तै पहिले भारतको पलियाबाट दूध आउँथ्यो। उनले नै डिडिसी स्थापनामा ठूलो संघर्ष गरे। त्यहीँबाट उनले यहाँका किसानको दूध खपत गराए। अहिले यहाँबाट उत्पादिन दूध काठमाडाै र पोखरा जाने गरेको छ। सुदूरपश्चिममा उत्पादित घ्यूलाई अन्तर्राष्ट्रिय बजारमा पनि लैजान सकिने बताउँदै उनले भने, ‘यहाँको घ्यू अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग छ।’  

अत्तरियामा डीडीसी स्थापनापछि दूध संकलनका लागि कैलाली, कञ्चनपुर र डडेल्धुराका दर्जनौ स्थानहरूमा दुग्ध संकलन केन्द्र स्थापना गर्न सफल छ। यसअघि सीमा बजार भारतबाट आयात हुने दूध पूर्ण रूपमा विस्थापित भएको छ।

एकघर एक भैँसी उनले सहकारीमार्फत अभियान नै चलाए। त्यसका लागि दुई करोड रुपैयाँको लागतमा विना धितो बिना ब्याज किसानलाई भैँसी किन्न सहकारीमार्फत् सहयोग भयो। उनलाई अहिले सबैभन्दा ठूलो चिन्ता किसानलाई कमिसनतन्त्रले गिजोलेकोमा छ। ‘तलदेखि माथिसम्म कमिसन व्याप्त छ,’ उनले चित्त दुखाउँदै भने।

उनको योगदानलाई दर्जनौ संघसंस्था तथा सहकारीले पुरस्कार तथा सम्मान प्रदान गरेका छन्। उनलाई विश्व खाद्य पुरस्कारबाट राष्ट्रिय स्तरको पुरस्कार पनि प्रदान गरिएको छ।  

कृषि क्षेत्रमा नन्दलाल भट्टको नाम उच्च स्थानमा रहेको कृषि विकास निर्देशनालय सुदूरपश्चिमका कृषि निर्देशक यज्ञराज जोशी बताउँछन्। ‘भट्टले नै सुदूरपश्चिममा पहिलो पटक कृषि हाटबजारको प्रारुप तयार पारेका हुन्,’ उनले भने,‘भट्ट कृषि क्षेत्रका विज्ञ नै मानिन्छन्।’

उनले दूध उत्पादन गर्ने किसानलाई बिना धितोमा भैसी किन्न लगाएको स्मरण गर्दै उनले भने,‘भारतबाट आउने दूधलाई रोकेर उनले यहीका किसानबाट उत्पादन दूध खपत गर्न खोजेको देखिन्छ।’ त्यति मात्र नभई पहाडी जिल्लामा उत्पादित तरकारीलाई तराईका किसानलाई सहज रूपमा उपलब्ध गराउन क्षेत्रीय स्तरको हाटबजार स्थापना गर्न अहम भूमिका निर्वाह गरेको उनले बताए।

निर्देशक जोशीले भने, ‘किसानका पक्षमा अनवरत रुपमा लडिरहने उहाँ एक अगुवा कृषक हो।’ किसानको उत्पादनलाई जोडेर कृषि सहकारीमार्फत् अभियन्ताका रुपमा भट्टलाई सहकारी अभियानकर्ताले चिन्ने गरेको जिल्ला सहकारी संघ लिमिटेड कैलालीका अध्यक्ष फणिराज सापकोटा बताउँछन्। उनले भने,‘भट्ट सुदूरपश्चिममा अगुवा किसानका साथै कृषि अभियन्ताकै रूपमा  परिचित छन् ।’

प्रकाशित: १३ वैशाख २०८१ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App