७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘भूकम्प रोक्न सकिन्न तर क्षति न्यूनीकरण सम्भव छ’

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले राजधानी काठमाडौंका पक्की घरहरू हजारौं ध्वस्त भए। तर तीन चार तल्लाका ती घरभन्दा धेरै नै अग्लाअग्ला हाइराइजिङ बिल्डिङ अपार्टमेन्टहरूमा खासै क्षति पुगेन। त्यसकारण भूकम्पलाई रोक्न नसके पनि त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकेनन् चीनमा पिएचडीरत इन्जिनियर कृष्णभक्त दुवाल। त्यसका लागि भौतिक संरचना निर्माणमा परम्परागत निर्माण सामग्रीको सट्टामा आधुनिक निर्माण सामग्रीको प्रयोग गर्नुपर्नेमा उनको विशेष जोड छ।

 ‘विश्वका विभिन्न मुलुकहरूमा दशकौंदेखि प्रयोग हुँदै आएको यस्तो प्रविधि नेपाल भित्रिएको भने धेरै भएको छैन,’ इन्जिनियर दुवालले थपे, ‘नयाँ प्रविधि भएकाले नेपाली समाजमा यसको प्रयोग र बजार विस्तार चुनौतीपूर्ण छ। यस विषयमा नेपालीले गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छ।’

आरसिसी घर बनाउँदै आएका नेपालीलाई नयाँ प्रविधि सिकाउँदै जानुपर्ने आवश्यकता उनी देख्छन्। त्यसका लागि नयाँनयाँ लाइट वेट (हलुका) निर्माण सामग्रीहरूको प्रयोगको सानो विकल्पले पनि भूकम्पका बेला हुने ठुलो धनजन तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्नसक्ने भनाइ उनको छ।

‘प्रिफ्याब वा इको प्यानल पनि धेरै प्रकारका हुन्छन्। नेपालीमा प्रिफ्याब भनेपछि त्यसबाट बन्ने संरचना अस्थायी, सस्तो अनि कमसल मात्रै हुन्छन् भन्ने भ्रम छ। जुन सरासर गलत हो,’ दुवाल थप्छन्, ‘गुणस्तरीय प्रिफ्याबबाट पनि स्थायी एवं टिकाउ संरचनाहरू निर्माण गर्न सकिन्छ। फ्याक्ट्रीमा पहिले बन्ने गुणस्तरीय प्रिफ्याबबाट गगनचुम्बी भवनहरू, स्थायी घरहरू, विद्यालय, अफिस, हस्पिटल आदि सजिलै र छिटोछरितो निर्माण गर्न सकिन्छ।’

भूकम्पविद् डा. राजेशकुमार ढकाल भन्छन्, ‘हामीले सोचेका र डिजाइन गरेका घर, भवनलगायतका कृत्रिम संरचना हाम्रो नियन्त्रणमा राख्न भने सकिन्छ अर्थात् कत्रो भूकम्प जान्छ भन्ने कुरा छाडौं। जत्रोसुकै भूकम्प गए पनि यहाँ आउने धक्का (कम्प–परकम्प)ले भत्काउन नसक्ने खालका संरचना कसरी निर्माण गर्ने भन्नेतर्फ सोच्नुपर्छ।’

अहिलेसम्म जति पनि संरचनाहरू डिजाइन गरिएका छन्, त्यसको महत्त्वपूर्ण उद्देश्य भनेको त्यो ठाउँमा आउने ठुलोभन्दा ठुलो भूकम्पमा मान्छेको ज्यान नजाओस् भन्ने हुनुपर्ने उनको जिकिर छ। ‘त्यस्ता संरचनामा क्षति नै नहोस्, नभत्कियोस् भन्ने होइन,’ उनले भने, ‘त्यसैले भूकम्पका कारण भत्किएर क्षति पुगेका संरचना हेरेर डिजाइनलाई दोष दिन मिल्दैन।’

उनले थपे, ‘नेपाल भूकम्पीय जोखिमको मुलुक हो। अब फेरि भूकम्प जाँदा पहिलेकै जस्तो संरचना तयार गरियो भने त हामीले केही नसिकेको ठहरिन्छ। त्यसैले नयाँ भवन बनाउँदा परिमार्जित संहिताअनुसार बनाउनुपर्छ। पुराना संरचनालाई पनि रेट्रोफिटिङ गरेर बलियो बनाउनुपर्छ। विदेशीको सिको गर्‍यौं भने नेपालका लागि महँगो पर्न सक्छ। मौलिक खालको गर्नका लागि त अध्ययन अनुसन्धान हुनुको विकल्प हुँदैन। नेपाली माटो सुहाउँदो, किफायती तवरले गर्न सकिने उपाय र साधनको खोजी गर्न पनि त्यही अध्ययन अनुसन्धानले सघाउँछ।’

नेपालमा १९९०, २०४६ र २०७२ सालमा गरी तीनपटक ठुल्ठुला भूकम्पहरू गएका छन्। ती भूकम्पमा परेर ठुलो मानवीय र भौतिक क्षति पुगेको थियो। 

प्रकाशित: १३ वैशाख २०८१ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App