९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

इमान अर्थात् नारायणमान!

व्यक्तित्व

राजनीतिमा इमानदारी मिसियो भने त्यो निकै सुन्दर हुन्छ। पछिल्लो समय नेपाली राजनीतिमा ‘इमान’को कमी हुँदै गएपछि यसको अभाव खड्किन थालेको छ। सत्ता र स्वार्थको अंकगणितले सबैलाई लोभ्याएको छ। परिणाम, कोही थोरैमा बिकेका छन्, कोही धेरैमा।

सत्ताको खेलमा अंकगणितको कति धेरै मूल्य रहन्छ भनेर बुझ्न बागमती प्रदेशसभाको पछिल्लो अवस्था हेरे पुग्छ। वर्तमान सत्ता गठबन्धन एक सिट कम भएर अल्पमतमा पर्ने भएपछि प्रदेश सभामा जम्मा दुई सिट भएको हाम्रो नेपाल पार्टीले मुख्यमन्त्री दाबी गरेको छ।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ तर अहिलेको गठबन्धनसँग ५५ मत रहेकाले सत्ताको यस खेलमा एकदुई नम्बरको पनि मूल्य बढेको हो।

जसलाई बिक्नु नै छैन, त्यसको कुनै मूल्य हुँदैन। त्यो जादुगरीपूर्ण संख्या हो तीन। अर्थात् प्रदेश सभामा तीन सिट भएको नेपाल मजदुर किसान पार्टी बागमती प्रदेश सभाको स्वार्थको अंकगणितमा अल्झिएको छैन। नबिक्ने थाहा पाएपछि यसको मूल्य लगाउन पनि मानिसहरू डराउँदा रहेछन्।

‘हामीलाई प्रस्ताव गर्न पनि हिचकिचाउने अवस्था छ,’ नेमकिपा भक्तपुर प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईं भन्छन्, ‘मुलुकका लागि इमानदार बन्दा गर्व महसुस हुँदो रहेछ।’

नेमकिपाको यो इमान्दारी पहिलो होइन। २०४८ सालदेखि नै राजनीतिमा प्रभावकारी भूमिका निभाउँदै आएको यो पार्टीले कुर्सीको लडाइँमा कहिल्यै आफूलाई भुलाएन। मन्त्री पदको प्रस्ताव पटक पटक पाएको नेमकिपाले कुनै बेला ‘प्रधानमन्त्रीको प्रस्ताव’ पनि पाएको चर्चा थियो। तर नेमकिपा र अध्यक्ष बिजुक्छेको इमानलाई सत्ताको कुनै पदले किन्न सकेन। बिजुक्छेले कुनै बेला भनेजस्तै ‘कुकुर झगडा’मा उनको पार्टी कहिल्यै परेन। ‘हामी हाम्रो सिद्धान्तमा अडिग छौं,’ बिजुक्छे भन्छन्, ‘तपसिलका कुरामा हामी अलमलिने छैनांै।’

पद मात्र होइन, राष्ट्रियताको सवालमा पनि यो पार्टी आफ्नो सिद्धान्तमा निकै मजबुत ढंगले उठेको देखिन्छ। सदन र सडकमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निरन्तर विरोध गरिरहने यो पार्टीले संसारभरका कमजोरको आवाज बोक्ने गरेको छ।

अन्य दलहरू विविध कारणले डराइरहेको अवस्थामा पनि यो पार्टीले न्यायको पक्षमा आवाज उठाउन कहिल्यै छाडेन। देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक स्वच्छ राजनीति गर्ने दलका रूपमा आफूलाई विकसित गर्दै गएको छ। निडर र इमानदार राजनीतिका कारण धेरैतिरबाट यो पार्टी र यिनका नेताको तारिफ हुन थालेको छ।

‘इमान’को आरोह

नेपाली राजनीतिमा अझै केही नेता छन्, जो विभिन्न राजनीतिक उतारचढावमा देखिएका कुनै प्रलोभनमा परेनन्। उनीहरू सिद्धान्तच्युत भएनन्। समस्या झेले तर हार मानेनन्। प्रहार खेपे तर कोहीसँग झुकेनन्। त्यसैले उनीहरूको शिर जनतासामु सधैं उँचो छ। तिनमध्येका हुन्, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे।

अरू नेताहरू केही महिना र वर्षको राजनीतिलाई ध्यानमा राखेर अगाडि बढ्दै गर्दा बिजुक्छे सय वर्षपछिको सपना देख्न पछि पर्दैनन्। केही वर्ष अगाडि उनले प्रकाशित गरेको ‘सय वर्षपछि भक्तपुर’ पुस्तकमा देखिएका सपनाहरू अहिले पूरा हुँदैछन्। ‘अध्यक्षले देख्नुभएका समृद्धि सपना सपना पूरा गर्न हामी लागिरहेका छौं,’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति भन्छन्, ‘हामी विकासको सही मार्गमा हिँडिरहेका छौं।’

बिजुक्छे इमान्दारीको विरासत उनको पार्टीपंक्तिमा फैलिएको छ। जसका कारण उनको पार्टीबाट निर्वाचन जितेका संघीय सांसद हुन् वा प्रदेश सांसद वा पालिका प्रमुख, सबैले इमान्दारीको बाटो अँगालेका देखिन्छन्। देश र जनतको सवालमा निडर भएर उनीहरूले बोलेका कुरा सर्वसाधारणले मन पराउने गरेका छन्।

केही समयअगाडि संघीय सांसद प्रेम सुवालले नेपाली कांग्रेस नेतृ आरजु राणालाई बैठकमा फर्काएको जवाफ सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। त्यहाँ पनि सुवालले इमान्दारीको वकालत गरेका थिए।

कुनै समय कर्णालीमा समेत उल्लेख्य प्रभाव जमाएको उनको पार्टी अहिले भक्तपुरमा मात्र प्रभावकारी देखिएको छ। तर जहाँ यो पार्टीले आफ्नो भूमिका पाएको छ, त्यसलाई इमान्दारीसाथ निभाएको छ। शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्रमा भक्तपुरले मारेको अतुलनीय फड्कोले इमानको राजनीति कति शक्तिशाली हुन्छ भन्ने देखाएको छ।

बिजुक्छेले देखेका सपना यहाँका गल्लीमा साकार हुँदैछन्। यति बेला भक्तपुरका चोक चोकमा इन्जिनियर भेटिन थालेका छन्। छोरीहरू उच्चशिक्षाको बाटोमा लम्कँदै छन्। भत्केका सम्पदा आफ्नै सानमा उभिन थालेका छन्। संस्कृति र सम्पदाको सवालमा उनीहरू कुनै सम्झौता गर्ने पक्षमा छैनन्। त्यसैले स्थानीयको सहयोगमा उनीहरू अगाडि बढिरहेका छन्।

‘इमान’को निरन्तरता

उनी सानैदेखि समाजसेवामा सक्रिय थिए। उनले २०१२ सालमा रौतहट जिल्लाका बाढीपीडितहरूको सहायताका लागि कम्युनिस्ट पार्टीको ¥यालीमा सहभागिता जनाए। त्यसबाट कम्युनिस्ट विचारप्रति आकर्षित भएका उनले २०१३ सालमा विद्यार्थी फेडरेसनको सदस्यता लिए। २०१७/१८ सालमा युनियन (कलेज)को अध्यक्ष पदमा चुनिए।

२०१५ सालमा उनी भक्तपुर जिल्ला कमिटीको अध्यक्ष भए। २०२१/२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रमअन्तर्गत मोहीहरूले पाउनुपर्ने मोहियानी हक दिलाउन बिजुक्छे र उनका कार्यकर्ताहरूले भक्तपुरमा निकै मेहनत गरे।

२०२७ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका थिए। त्यति बेला तत्कालीन पूर्वी पाकिस्तान (बंगलादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पुष्पलाल श्रेष्ठसँग मतभेद भएपछि २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरे।

सोही दिनदेखि अध्यक्ष रहेका उनी अहिले पनि उक्त पार्टीको माथिल्लो तहमै छन्। पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत रहँदै उनले झन्डै १० वर्ष भूमिगत जीवन बिताए। भारतमा भूमिगत जीवन बिताउँदा उनले प्रवासी नेपाली विद्यार्थीमार्फत कर्णाली अञ्चलमा बलियो संगठन बनाएका थिए। जसको प्रतिफल २०४८ को निर्वाचनमा देखिएको थियो।

त्यस्तै २०४५ सालको भूकम्पपछि राहत बाँड्ने क्रममा पञ्चायती सरकारले ह्योजु काण्डलगाएर बिजुक्छेलगायत नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेमकिसंघ)का ६५ जना नेताकार्यकर्तामाथि फाँसीको सजाय माग गर्दै ज्यानमुद्दा चलाएको थियो। त्यसलाई नेमकिपाले कालो दिन बताउँदै आएको छ।

देशमा बहुदलीय व्यवस्थाको बहालीपश्चात् सो मुद्दा खारेज भई करिब २० महिनाको जेल जीवनपछि उनीलगायत सबै रिहा भए। उनी २०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

त्यस्तै २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भए। त्यसपछि भने उनले चुनावमा भाग लिन छाडेका छन्। देश विदेशका राजनीतिबारे गम्भीर जानकारी राख्ने उनी भक्तपुरको समग्र विकासमा इमान्दारीसाथ दत्तचित्त भएर आएका छन्।

‘इमान’की सारथि

खासमा व्यक्ति आफ्नै कारणले इमानमा रहने हो। तर इमान्दारीको बाटोमा कहिलेकाहीं आफन्तले बिथोलिदिएका थुप्रै उदाहरण छन्। यसमा कसैका पत्नी, कसैका श्रीमान् अनि कसैका छोराछोरी देखिन्छन्। तर बिजुक्छे यो मामलामा निकै भाग्यमानी छन्।

भक्तपुरमा ‘नारायणमान दाइ’ नामले परिचित र मुलुकमा देशभक्त नेताका रूपमा परिचित उनलाई राजनीतिमा निरन्तर लाग्न थुप्रैले सघाए– आफन्त, साथीभाइ, समाज र पार्टी कार्यकर्ता। सबैलाई उनी उत्तिकै सम्मान गर्छन्। यिनैमध्येकी एक थिइन, उनकी धर्मपत्नी शोभा प्रधान।

नारायणमान दाइको उचाइको सहयोगी बन्दै आएकी उनको २०७९ असारमा निधन भए पनि इमान्दारीका कारण भक्तपुरवासी माझ उनी अझै जीवन्त छिन्। नारायणमान दाइको जीवनमा पद र अवसर नआएको होइन–मन्त्री बन्ने, उपप्रधानमन्त्री बन्ने।

एकपटक त प्रधानमन्त्री बन्नेसम्मको प्रस्ताव आयो तर बिजुक्छे परिवारले पद र अवसरभन्दा र राजनीतिक निष्ठा र समाजको हितलाई सर्वोपरि ठान्यो। ‘मलाई मन्त्राणी बन्ने रहर कहिल्यै लागेन,’ बिजुक्छे पत्नी शोभाले सात वर्षअगाडि नागरिकसँगको एक भेटमा भनेकी थिइन्, ‘म शिक्षिकामै खुसी छु।’ जब परिवार पनि इमान्दारीमा रमाउँछ तब इमानदारको उत्साह झनै बढी देखिँदो रहेछ।

रामेछाप ठोसेस्थित प्रधान परिवारकी शोभा २०४० सालमा बिजुक्छेसँग वैवाहिक सम्बन्धमा गाँसिएकी हुन्। विवाह अगावै शिक्षिकाका रूपमा कार्यरत शोभा पछिसम्म शिक्षक पेसामै रहिन्। मुलुकका कतिपय नेता परिवारका दलदलमा फस्दै आएको देखिएको समयमा शोभाको सरलताका कारण पनि बिजुक्छेको इमान झनै मजबुत बन्न पुग्यो। कतिपय व्यक्ति पतिको पदका कारण आफ्नो सेवामा ध्यान नदिने गरेको समयमा शोभाको कामप्रतिको लगावले धेरैको मन जितेको थियो। त्यसैले होला शोभाको निधनमा सिङ्गो भक्तपुर बाहिर निस्केर श्रद्धाञ्जली दिएको थियो।

नेमकिपा सत्ताको खेलबाट निरन्तर अलग भएकोमा सर्वसाधारण पनि खुसी छन्। व्यक्तिगत कुराभन्दा पनि मुलुकको कुरामा चासो देखाउँदै आवाज उठाउँदै आएको यो पार्टीले पछिल्लो समय भक्तपुरसँगै बाहिरका जनताको पनि मन जित्न थालेको छ।  

प्रकाशित: १७ चैत्र २०८० ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App